राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न सर्वदलीय बैठक राखेका छन्। बैठकमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरू सहभागी छन् । नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल सहभागी छन् भने माओवादी केन्द्रबाट नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य सहभागी छन् ।
त्यसैगरि राप्रपाबाट ज्ञानेन्द्र शाही र मीना लामा, एकीकृत समाजवादीबाट वरिष्ठ नेता राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाल सहभागी भएका छन् । यस्तै जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी तथा जसपाबाट रेणु यादव, जनमतबाट अध्यक्ष सिके राउत र जयबहादुर राउत, लोसपाबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ल, नाउपाबाट रेशम चौधरी, नेमकिपाबाट सुनिलकुमार प्रजापति सहभागी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनकाे घोषणा गरेको छ। निर्वाचन आयोगले कार्यतालिकासमेत जारी गरेको अवस्थामा दलहरूसँग संवाद भएको थिएन । प्रधानमन्त्री कार्कीले बिहीबार राष्ट्रपति पौडेललाई भेटेर सर्वदलीय बैठक राख्न आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया