एमाले महासचिव भन्छन्-देशको वैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइयो


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइएको बताएका छन् ।

सोमबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले देश भूराजनीतिक द्वन्द्वको चपेटामा परेको बताएका हुन् ।

उनले भनेका छन्, ‘हाम्रो देश भूराजनीतिक द्वन्द्वको चपेटामा पर्यो । राष्ट्रिय शक्तिलाई कमजोर बनाउने उनीहरुको खेलवाट हामीले आफूलाई जोगाउन सकेनौं । हाम्रो देश पनि वैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइयो । हामीले सबै समस्याको समाधान लोकतान्त्रिक बाटोबाट खोज्न सकिन्छ भन्ने कुरामा नवयुवाहरुको विश्वास जित्न सकेनौं । उनीहरुको भावना र चाहनासँग नेपाली राजनीतिलाई जोड्न सकेनौं । तर यसको अर्थ नेपालाई बहुलवाद, समावेशीता, लोकतान्त्रिक गणतन्त्र र स्वाधिनता एवम् स्वाभिमानको वाटोवाट पछि धकेल्ने प्रयास सफल हुन्छ भन्ने होइन ।’

उनले ढिलोचाँडो मुलुक लोकतन्त्रको जनसार्वभौम बाटोतिर फर्कने छ र फर्काइने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘ढिलोचाँडो मुलुक लोकतन्त्रको जनसार्वभौम बाटोतिर फर्कने छ र फर्काइने छ । नेकपा(एमाले) निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्दै नेपाली विशेषतामा आधारित समाजवाद निर्माणको दिशामा अघि बढ्न प्रतिवद्ध छ र रहनेछ ।’