काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक भएको बताएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले आइतबार पार्टीको तर्फबाट ६ बुँदे धारणा सार्वजनिक गर्दै संसद विघटन समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठाराघात भएको बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक छ । यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठाराघात भएको छ ।’
उपसभापति खड्काले प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसला भन्दा विपरीत भएको पार्टीको उल्लेख गरेका छन् ।



प्रतिक्रिया