सुमना श्रेष्ठद्वारा पार्टी परित्याग


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् । लामो समयदेखि पार्टीभित्र सुमना असन्तुष्ट थिइन् । उनले आइतबार पार्टी छाडेको जानकारी रास्वपालाई गराएकी हुन् । उनले पार्टीका केन्द्रीय सदस्यहरूको ग्रुपमा आफूले पार्टी छोडेको बताएकी हुन् ।

उनले भनेकी छन्, ‘कहिलै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूकाविरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दामाथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रयाल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला ।  I QUIT  मैले पार्टी छोडेँ । कांग्रेस एमालेलगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाइैंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।’

उनी प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहणमा पुगेपछि मन्त्री बन्न सक्ने चर्चा चलेको थियो । तर सुमनाले आफू मन्त्री अहिले नबन्ने र बाहिरैबाट सरकारलाई सघाउने बताएकी छन् ।