संसद विघटनको शर्तले प्रधानमन्त्री नियुक्तिमा विलम्ब


काठमाडौं । जेनजी आन्दोलनले संसद विघटन र निर्णय प्रक्रियामा जेनजीलाई सहभागिता सुनिश्चित गर्नुपर्ने अडान राखेको छ ।

जेनजी मञ्च ‘हामी नेपाल’ले सामाजिक सञ्जालमार्फत भनेको संसदको विघटन र निर्णय प्रक्रियामा आफूहरुको सहभागिताको अडान राखेको हो ।

उसले भनेको छ, ‘हाम्रो अबको प्राथमिक एजेण्डा संसद विघटन र निर्णय प्रक्रियामा जेनजीको सहभागिता सुनिश्चित गर्नु हो।’ जेनजीका विभिन्न समूहका प्रतिनिधिका रूपमा सुदन गुरुङलाई आज शीतलनिवास बोलाइएको थियो ।

जेनजीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सारेको छ । कार्कीले पनि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संसद विघटन र आन्दोलनमा भएको दमनको छानबिनलाई मुख्य सर्त बनाएकी छन् ।

तर राजनीतिक दलहरुले भने संसदभित्रबाटै समाधान खोज्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस, एमाले, माओवादीले संविधानभित्रबाटै समाधान खोज्नुपर्ने माग गरेका छन् । त्यस्तै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले आज संयुक्त विज्ञप्ति जारी संविधानभित्रैबाट समाधान खोज्न आग्रह गरेका छन् ।

आन्दोलनरत पक्ष र अर्कोपक्षबीच अडानका कारण प्रधानमन्त्री नियुक्तिमा ढिलाइ भइरहेको छ । यसअघि आज बिहान ९ बजे सुशीला कार्कीलाई शपथ गराउने तयारी थियो ।