काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज साँझसम्ममा सरकार बन्ने प्रक्रिया टुंगिने बताएका छन् । शुक्रबार भिडियो सन्देश जारी गरी महामन्त्री थापाले आन्दोलन गर्ने साथीहरुले छानेको नेतृत्वमा सरकार बनाउने कुरामा नेपाली काङ्ग्रेस पार्टीले आवश्यक वातावरण बनाइरहेको बताएका हुन् ।
उनले भने, ‘यो बेला जेनजी आन्दोलनकारी साथीहरुले के कुराको माग राख्नु भएको छ त्यो मागलाई सम्मान गरेर सम्बोधन गरेर मात्र देश अगाडि बढ्न सक्छ । अन्तरिम सरकार बनाउने कुरा छ, आज साँझसम्म त्यो कुरा पनि टुङ्गो लाग्न सक्छ । आन्दोलन गर्ने साथीहरुले छानेको नेतृत्वमा सरकार बनाउने कुरामा नेपाली काङ्ग्रेस पार्टी तयार मात्र होइन यसको लागि आवश्यक वातावरण पनि बनाइरहेको छ ।’
उनले काङ्ग्रेस पार्टीमा रहेका सबै कार्यकर्ताहरुलाई आफ्नै ठाँउबाट सबैलाई जोड्ने तरिकाको पहलकदमी गर्न आग्रह गरे । उनले भदौ २३ र २४ गते भएको घटनामा आँकलन गर्न नसक्ने ठूलो क्षति भएको भन्दै त्यो दिनको घटनाले अनुहारमा लागेको दाग ऐना पुछेर नजाने बताए ।
उनले भने, ‘भदौ २३ गते हामी कसैले नचाहेको अकल्पनीय घटना भयो । तपाईं र म सरकारमा थिएनौं । तर हाम्रो पार्टी सरकारमा थियो । हाम्रो अनुहारमा दाग लागेको छ । ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुग्नुपर्छ । कांग्रेस पार्टी यस विषयमा सिंगो देशसँग माफी माग्नुपर्छ, यो घाउलाई पुर्ने हामीले कोसिस गर्नुपर्छ । भदौ २४ गते यति ठूलो क्षती भएको छ जसको कसैले आकलन गर्न सक्दैन ।’
पुनर्गठित कांग्रेस आजको आवश्यकता भएको उनको भनाइ छ । उनले भने, ‘हामी एक नम्बर हौं । पहिलो दल हौं तर, मतले मात्रै नहुने रहेछ । मन पनि जित्नुपर्छ रहेछ । नयाँ पुस्ताले हामीलाई रुचाएनन् । हामीले भनेको मानेनन् । नयाँ पुस्तालाई समेट्नैपर्छ । हाम्रो भित्र गति मिलेन, मति मिलेन । नौजवानले चाहेअनुसार भएन । हामी मिलाउन चाहन्छौं । हामीलाई तपाईंको साथ चाहिन्छ ।’
महामन्त्री थापाले अब बन्ने सरकारलाई संविधानसँग जोड्न आवश्यक रहेको पनि बताए । उनले भने, ‘हामी यो सरकारलाई संविधानसँग जोड्न चाहन्छौं । सबैतिर भत्किएको छ । अबको सरकारलाई संविधानसँग जोड्नुपर्छ । नागरिक सरकार, ४६ सालयताका नेताको सम्पत्ति छानबिनमा लाग्नुपर्छ । सही नियुक्तिको लागि वातावरण बनाउनुपर्छ । संविधानभित्र सुधार गर्ने कुरामा पनि हामी छौं, लागिरहेका छौं ।’

प्रतिक्रिया