अहिले नै हतारमा नेतृत्वमा आउने चाहना नराख्न जेनजीलाई बालेनको आग्रह


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राष्ट्रपति रामचन्द्र पौडेललाई संसद विघटन गर्न सुझाव दिएका छन् ।

बुधबार राति सामाजिक संजालमार्फत मेयर साहले जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद विघटन अविलम्ब गर्न सुझाव दिएका हुन् । उनले जेनजीले चुनावी सरकारको नेतृत्व गर्नका लागि गरेको प्रस्ताव पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीप्रति आफ्नो समर्थन रहेको बताएका छन् ।

यस्तो छ बालेनको भनाई

प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह,

अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ । तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ ।
यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला । अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ । यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो । यो अन्तरिम ÷ चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।

तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ । अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला ।
सम्माननीय राष्ट्रपतिज्यू , जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।