अहङ्कारको सीमा
-डा. गोविन्दशरण उपाध्याय ।
हाम्रो ब्रह्माण्ड प्रत्येक सेकेन्डमा ६०० किलोमिटर फैलिरहेको छ । हरेक सेकेण्डमा ४ लाख ताराहरू जन्मिरहेका छन् । हरेक सेकेन्डमा ५ जना बालबालिकाहरू जन्मिरहेका छन् भने प्रत्येक तीन मिनटमा एकजना मान्छेले आत्महत्या गरिरहेको हुन्छ । एलोन मस्कले प्रत्येक सेकेण्डमा करिव १ करोड नेपाली रुपैया कमाइरहेको हुन्छ भने हरेक ६ मिनटमा एउटा बच्चा भोकका कारण मर्ने गर्छ । मान्छेको उत्पत्तिसँगै जन्म, मृत्यु, बृद्धावस्था र मृत्युलाई रोक्ने वा नियन्त्रण गर्ने धेरै प्रयत्न भएका छन् तर सन् १९६० पछि मात्र विश्वका मान्छेहरूको औसत आयु बढ्न आरम्भ भएको हो तर मृत्यु भने रोकिएको छैन ।
मान्छे सधैं प्रकृतिसँग सङ्घर्ष गरिरहेको छ । प्रकृतिलाई जित्ने प्रयत्न गरिरहेको छ । चेतना सबै प्राणीमा हुन्छ तर बुद्धिका विषयमा अहिलेसम्म मान्छे अब्बल ठहरिएको छ । यही बुद्धि र बुद्धिलाई पुस्तान्तरण गर्न सक्ने क्षमताका कारण मान्छेले अभिमान गर्छ । मान्छेले आफू र आफ्ना सन्तान जीवित रहनका लागि अरूको अस्तित्वको प्रयोग गर्छ । विश्वविद्यालयहरूले मान्छेको बुद्धिलाई प्रकृति विरुद्ध लड्न र आफ्नो अहङ्कारको रक्षाको लागि अरूको अस्तित्व समाप्त पार्ने शिक्षा दिइरहेका छन् । यदि कसैलाई विविहरू ‘समानता र मानवताको’ शिक्षा दिन्छन् भन्ने सोच्नु र बुझ्नु भएको छ भने तपाईं पनि मजस्तै ‘बबुरो’ हुनुहुन्छ । कमसेकम पश्चिमा प्रतिमानका आधारमा शिक्षित गर्नव विविहरूसंग एस्तो आशा नराखे हुन्छ । नत्र तपाईंहरू धोका खाँदै हुनुहुन्छ र धोका दिंदै हुनुहुन्छ ।
राष्ट्रहरूको निर्माणले मानवतावाद र समानतावादको सम्भावनालाई सधैंका लागि अन्त्य गरिदिएको छ । शक्तिशाली राष्ट्रहरूले आफ्नो अहङ्कारलाई गरिव राष्ट्रका अभिमानी नेतृत्वका माध्यमबाट कार्यान्वयन गरिरहेका हुन्छन् । अर्कोतिर वेलायती दार्शनिक जोनाथन बर्च र जीवशास्त्री चित्काले पशुपक्षीमा पनि बुद्धि हुन्छ, उनीहरूले पनि निर्णय गर्न सक्छन् तर मान्छेको विज्ञान तिनको सूक्ष्म प्रणालीसम्म पुगेको छैन भन्ने तत्थ्य लगभग स्थापित गरिसकेका छन् । मान्छेको अहङ्कारले उसको आफ्नो जैविक अस्तित्वको निरन्तरतालाई गहिरो चुनौती दिंदै छ भने हरेक क्षण ‘म मात्र बुद्धिमान छु’ भन्ने मानवीय अहङ्कारलाई पठनपाठनमा बलियो स्थान दिंदा मान्छेहरू अहङ्कारको पोका हुँदैछन् ।
मैले अहङ्कार हुँदैहुनुहुँदैन भन्दिन तर आफ्नो स्वार्थमा केन्द्रीत अहङ्कारको गन्तव्य आफ्नै जैविक निरन्तरताको अन्त्य हुन सक्छ जुन विनाशको भूमरीमा निरपराध र निरपेक्ष जैविक विश्व समेत पर्ने छ । त्यसैले अहङ्कार होइन, बुद्धिको विनम्र प्रयोग हुनुपर्छ तर अहंकारी राजनैतिक सीमा र नेतृत्वले सम्भवतः यस्तो प्राकृतिक आदर्शलाई स्वीकार गर्ने छैनन् । विश्वले राजनैतिक नेतृत्वको अहंकारको लागि धेरैपटक मूल्य चुकाएको छ । मलाई लाग्छ, राजनैतिक अहङ्कारको कुनै सीमा छैन । बुद्धिलाई राजनैतिक नेतृत्वको दास हुनुबाट जोगाएमात्र विश्व सुरक्षित हुन्छ, अन्यथा भन्न सकिन्न ।