बंगलादेशका हिन्दूहरुका लागि बोलिदिने खोइ ?
मित्रलाल सापकोटा
हिन्दूहरुको अस्तित्व रक्षाका लागि भारतमा सधैं हिन्दू पक्षधरको मजबुत सरकारको आवश्यकता रहन्छ भन्ने कुरा बङ्गलादेशमा भैरहेको हिन्दूहरु माथिको ज्यादतीले थप प्रष्ट पारेको छ । आज त्यहाँ हिन्दूहरुमाथी भएको ज्यादतीमा संसारको कुनैपनि देश, सरकार, संस्था समुदाय बौद्धिक भनिने र अधिकार र लोकतन्त्रवादी कोही बोलेको छैन । यदि कसैले पहल लिएको छ बोलेको चासो र चिन्ता गरेको छ भने भारतको सरकार, भारतको संसद, त्यहाँका हिन्दू गुरुहरु, संस्थाहरु मात्रैले लिएका छन् । नेपालमा मुख्य र ठूला भनिएका समाचार संस्थामा त समाचार समेत बन्न सकेन । केही हिन्दू संस्था र सन्तहरुले बाहेक कसैले सार्वजनिक रूपमा बङ्गलादेशमा भएको त्यो ज्यादतीमा चिन्ता र चासो व्यक्त गरेका छैनन् । अन्य समुदाय सम्प्रदाय माथी हुने सानो भन्दा सानो घटनामा प्लेकार्ड बोकेर माइतीघर कुद्ने र पत्रपत्रिकामा लेख लेख्ने, मिडियाबाजी गर्ने, विज्ञप्ति र अन्तरवार्ताको लर्को लगाउनेहरु आज मृतप्रायः देखिएका छन् । उनीहरुका लागि हिन्दूहरु माथी हुने यस्ता घटनाले कहिल्यै कुनै सम्वेदना जगाउँदैन ।
बङ्गलादेशमा भएको यो तख्तापलट पछि बङ्ग्लादेश इस्लामिक राष्ट्र घोषणा हुँदैछ । बङ्ग्लादेशको निर्माणका बखत २३% जनसंख्या हिन्दूको यो सत्ता पलटसम्म आइपुग्दा ७.९५% रहेको छ भने अहिले भैरहेको हिन्दूहरु माथिको आक्रमण र यस्तो घिनौनो कार्यमा त्यहाँको सेनाको मौन समर्थनले अब छिटोभन्दा छिटो हिन्दू जनसंख्या संस्कृतिको अन्त्य हुने निश्चित छ । इस्लामिक राष्ट्र घोषणा पछि पाकिस्तानमा जस्तै बङ्गलादेशमा पनि हिन्दू परिवारले विवाह दर्ता जन्म दर्ता गर्न सम्म नपाउने कानून नआउला भन्न सकिन्न ।
अफगानिस्तान, पाकिस्तान र बङ्ग्लादेश कै गतिमा नेपाल भारतमा समेत इस्लामिक अतिवाद तीव्र रूपमा बढ्दो मात्रै छैन यहाँका केही व्यक्ति संस्था र तुच्छ राजनीति गर्नेहरु रेडिकलाइजेसन गर्ने काम प्रति नतमस्तक छन् । हिन्दूहरु माथी हुने ज्यादतीलाई अतिवादीको अधिकार भन्ने र हिन्दूले आफ्नो कुल धर्म संस्कृति र परम्पराको रक्षाका लागि बोल्दा लेख्दा आफ्नो कुरा मान्दा वा प्रतिक्रियात्मक कार्य गर्दा सधैं प्रतिगामी, पश्चगामी, परिवर्तन विरोधी, पाखण्डी, असभ्य आवत गाली गलौच मात्रै होइन आलोचना, विभेद र प्रतिबन्ध समेतको सामना गर्नु परिरहेको छ ।
आज हिन्दूहरु हिन्दू संस्कृति चारैतिरबाट दमनमा परेको छ । जर्जसोसेसवादीहरु, भ्याटिकनवादी, नर्वेजियन मशिनरी, कोरियन होलीवाइनवादीहरु र यिनका पण्डित आइएनजिओको लगानीमा नेपाली मुलका भाषा धर्म संस्कृति र सभ्यता मास्ने काम भैरहेको छ भने अर्कोतिर इस्लामिक फाउन्डेसन, कतार फाउन्डेसन, जायद फाउन्डेसन, इस्लामिक स्कलर, पाकिस्तानी कठमुल्लावाद, मदरसा फाउन्डेसन, इस्लामिक शिक्षा आदि इत्यादिको नाममा चले चलाइएका संस्थाहरुले आफ्नो पकड बनाउँदै गएको र हिन्दुहरुलाई लान्छित गर्ने, हैकम देखाउने, हिन्दुहरुका पर्वहरुमा हिंसा बढाउँदै लगेका छन् । गर्दा गर्दा यस्तोसम्म भाष्य बनाइँदै छ कि हिन्दुहरु नै अतिवादी हुन भन्ने सम्मको ।
यो परिस्थिति बढ्दै गएमा भोलिका दिनमा कुनै पनि समय नेपालमा बङ्ग्लादेशमा जस्तै एकातिर जमात ए इस्लामीको धार्मिक दङ्गामा हिन्दू पर्ने र अर्कोतिर डार्फोर पूर्वी टिमोर हाल मणिपुरमा जस्तो इसाई ज्यादतीमा हिन्दू पर्ने पक्कापक्की छ ।
कथम्कदाचित त्यस्तो अवस्था आउँदाका बखत आज अफ्गानिस्तान, पाकिस्तान, बङ्ग्लादेशका हिन्दुहरुले आफ्नो र आफ्नो परिवारको सुरक्षाको लागि टाउको लुकाउने कुनै भूमी बाँकी रहने छैन ।
संसारमा ७० भन्दाबढी इसाइ राष्ट्र, ५७ बढी इस्लामिक राष्ट्र, दर्जन बढी बुद्धिस्ट राष्ट्र र एउटा यहुदी राष्ट्र हुँदा खोइ कहाँ छ हिन्दूराष्ट्र ? विश्वको तेस्रो ठूलो जनसंख्या रहेको हिन्दूहरुको सुरक्षाको राष्ट्र खोइ ? संसारमा रहेका हिन्दूहरुमाथी जहाँ कहिपनि कुनै हिन्दु माथी ज्यादती हुँदाका बखत एउटा आवाज उठाइदिने राज्य, शासन, सत्ता र शासक खोइ ?
के हिन्दूहरुले मात्रै सधैं मारिनु मर्नु र लखेटिनु पर्ने हो ? के हिन्दूहरुले मात्र आफ्नो अस्मिता आफ्ना चेलीबेटी आफ्नो श्रीसम्पत्ती त्यागेर पलायन हुने र अन्तमा राज्यविहिन हुनुपर्ने हो ? यसकारण पनि एउटा हिन्दूहरुको आवाज बन्न सक्ने एउटा शसक्त राष्ट्र जरुरी छ । त्यो राष्ट्र भनेको भारत हुनसक्छ । साथै नेपाललाई इसाइमुसाइ अतिवादबाट बचाउन पनि त्यत्तिकै जरुरी छ ।