काठमाडौं । फिफा विश्वकपको समूह ‘आई’ को खेलमा नर्वेले इराकलाई ४–१ ले पराजित गरेको छ । स्टार स्ट्राइकर अर्लिङ हालान्डले ‘डेब्यु’ विश्वकपमा दुई गोल गर्दै आफ्नो सनसनिपूर्ण प्रदर्शनलाई विश्वकपमा पनि निरन्तरता दिए ।
खेलको २९औँ मिनेटमा हालान्डले गोल गर्दै नर्वेलाई अग्रता दिलाए। इराकले ३९औँ मिनेटमा कप्तान आमेन हुनेको गोलमार्फत खेल १–१ को बराबरीमा ल्यायो।
अमिर अल अम्मारीको पासमा हुसेनले गोल गर्दै इराकी समर्थकलाई उत्साहित बनाएका थिए । तर बोस्टन स्टेडियममा पहिलो हाफ सकिनुअघि नै हालान्डले ४३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई पुनः २–१ को अग्रता दिलाए। त्यसपछि दोस्रो हाफमा नर्वेले खेलमाथि नियन्त्रण कायम राख्यो ।
७६औँ मिनेटमा डिफेन्डर लियो स्किरी ओस्टिगार्डले मार्टिन ओडेगार्डको पासमा गोल गर्दै नर्वेको अग्रता ३–१ मा पुर्याए। इन्जुरी समयको छैटौँ मिनेटमा इराकका हुसेनबाट आत्मघाती गोल भएपछि नर्वेको जित ४–१ मा सुनिश्चित भयो । जितसँगै नर्वेले ४ दशक पछि फर्किएको विश्वकपमा सुखद सुरुवात गरेको छ।

प्रतिक्रिया