तीन महिनादेखि मैले खाना खाएको छैन, आत्महत्या गर्ने अवस्थामा पुर्याएः रेशम चौधरी
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्याइएको बताएका छन् ।
सोमबार पत्रकार सम्मेलन गरी उनले पार्टीको आन्तरिक किचलोले आत्महत्या गर्ने परिस्थितिमा पुर्याएको बताएका हुन् । उनले आफूले पार्टीको किचलोले तीन महिनादेखि खानासमेत नराखएको बताए ।
केन्द्रीय समितिले गरेको निर्णयसमेत पार्टीका केही मानिसहरुले नमान्दा अहिलेको परिस्थिति सिर्जना भएको उनले बताए ।
उनले भने, ‘मलाई पनि अचम्म लाग्छ । विरुवा मैले रोपेँ । मलाईँ थाहा छ, यो विरुवा कुन जातको हो । आँपको हो कि, स्याउको हो कि ओखरको हो कि । तीन महिनादेखि मैले खाना खाएको छैन । आत्महत्या गर्ने परिस्थितिसम्म पुर्याइसके । केन्द्रीय समितिको निर्णय मान्दैनौं भन्छन् । अर्काको सञ्चालनमा हामी नचलौं, हाम्रो निर्णय गरौं भन्दा किन नमान्ने त ?’
उनले आफ्नो पार्टी वर्तमान सरकारले चलाएको आरोप लगाए । उनले अर्काको निर्णमा आफूहरु नचल्ने बताए । उनले आगामी चैत २३ र २४ गते केन्द्रीय समिति बैठक बस्ने बताए ।
उक्त बैठकले गलत गर्ने सबैलाई छानीछानी कारबाही गरेर पार्टी शुद्धीकरण गरिने बताए । अर्को पक्षले भने रेशमले आफूहरुको हत्या गर्ने भन्दै धम्की दिएको बताएका छन् ।
सुदूरपश्चिम सरकार समर्थन र फिर्ता लिने विषयमा पार्टी अध्यक्ष एवं रञ्जिता श्रेष्ठ र रेशम पक्षबीच विवाद छ । रेशम पक्ष अहिलेको सरकारलाई समर्थन गर्नुपर्ने पक्षमा छ भने रञ्जिता पक्ष सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने पक्षमा छ ।