बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
बागमती । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने उनको तयारी छ ।
सत्ता समीकरण फेरिएर संघीय सरकारबाट बाहिरिएपछि नेपाली कांग्रेसले जम्कट्टेललाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि उनले विश्वासको मत लिन लागेका हुन् ।
तर, उनका लागि विश्वासको मत पाउन भने सहज देखिएको छैन । ११० सदस्यीय बागमती प्रदेशसभाबाट विश्वासको मतका लागि कम्तिमा ५६ सांसदको समर्थन आवश्यक हुन्छ । तर, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूको संख्या जोड्दा ५५ मात्र पुग्छ । सोहीकारण जम्कट्टेलले २ सांसद रहेको हाम्रो नेपाली पार्टी (हानेपा) लाई पनि सरकारमा सहभागी गराएका छन् । जम्कट्टेल नेतृत्वको सरकारमा गएसँगै हानेपामा विवाद देखिएको छ ।
तर, हानेपाबाट मन्त्री बनेका शैलेन्द्रमान बज्राचार्यलाई उक्त पार्टीले कारबाही गर्ने जनाएको छ । पार्टीको निर्णयविपरीत बज्राचार्य मन्त्री बनेको हानेपाले जनाएको छ । त्यस्तै, एकीकृत समाजवादीले पनि जम्कट्टेललाई विश्वासको मत दिन सर्त अघि सारेको छ ।