कांग्रेसले भन्यो-कांग्रेस महासमिति बैठक र कोसी प्रदेशको कुरा प्रचण्डको धोका दिने बहाना मात्र
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतासामु गरेको प्रतिबद्धता लत्याएको आरोप लगाएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जनताले दिएको म्यान्डेट प्रधानमन्त्रीले लत्याएको आरोप लगाएका हुन् । महतले प्रधानमन्त्रीले कांग्रेस महासमिति बैठकमा प्रस्तुत प्रस्ताव र कोसी प्रदेशका बहानामा धोका दिएको आरोप लगाए ।
उनले भने, ‘प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिवद्धता र जनताले दिएको म्यान्डेट लत्याउनुभएको छ । कांग्रेसले केन्द्रीय कार्यसमिति र कार्यसम्पादन बैठक गरेर प्रचण्डमाथि विश्वासघात र बेइमानीको संज्ञा दिसकेका छौं । प्रधानमन्त्रीजीले सदनमा बोल्दा कांग्रेसले घात गरेको कारण सत्ता फेरबदल गर्नुपरेको बताउनुभएको छ । यो सबै कपोलकल्पित र झुटो हो ।’
उनले प्रधानमन्त्री प्रचण्डले २०७९ सालको आमनिर्वाचनपपछि मात्र तीन पटक सत्ता सहकार्य फेरेको भन्दै प्रचण्डको प्रवृति भएको उल्लेख गरे । उनले भने, ‘प्रधानमन्त्रीले सदनमा बोल्दा कांग्रेस महासमिति बैठकका कुरा, कोसीका कुरा गर्नुभएको थियो । यो सब बाहानाबाजी थियो । यही आम निर्वाचनपछि पनि तीन पटक गठबन्धन परिवर्तन गर्नुभएको छ । उहाँको प्रवृतिजन्य निर्णय शिवाव केही होइन ।’