युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्ष पदमा युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको संसदीय दल कार्यसमिति बैठकले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य रहेका शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । शर्मा कांग्रेस बाँकेका पूर्वसभापति हुन् ।
उनी २०७८ माघमा भएको राष्ट्रिय सभा चुनावबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए । राष्ट्रिय सभा अध्यक्ष चुनावका लागि सोमबार मनोनयन दर्ताको कार्यक्रम छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् । उनीहरुबीच माओवादी केन्द्रको उम्मेदवारलाई समर्थन गर्ने सहमति छ । यसअघि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेता कृष्ण सिटौलालाई अध्यक्ष बनाउने बताएपनि पछि कांग्रेससँगको गठबन्धन तोडेर एमालेलगायतका दलसँग गठबन्धन गरेपछि कांग्रेसले शर्मालाई उम्मेदवार बनाएको हो ।