असल लोग्ने !



डा. गोविन्दशरण उपाध्याय ।
हरेक विवाहित पत्नी वा विवाह गर्न तयारी गरेकी युवतीका लागि असल लोग्ने चाहन्छन् । धर्म, संस्कृति, सामाजिक तथा सांस्कृतिक प्रचलन तथा आर्थिक अवस्थाअनुसार ‘असल लोग्नेका’ फरक धारणा हुन् सक्छन् । तर एउटी नेपाली महिलाका लागि असल लोग्ने को हुन्छ र कस्तो हुन्छ ? थोरैले मात्र व्याबहारिक रुपमा विचार गरेका हुन्छन् । सधैं माया गर्ने होस्, चाहना पूरा गर्ने होस्, भनेको मान्ने होस् र सपनाको राजकुमारजस्तै होस् भन्ने चाहना हुँदैमा सबैको इच्छा पुरा हुँदैन ।

प्रश्न उठ्छ त्यसोभए असल लोग्ने कस्तो हुन्छ र हुनुपर्छ ? यो प्रश्नको उत्तर सजिलोजस्तो लागे पनि सजिलो छैन । नेपाली दम्पतिका लागि असल लोग्नेको परिभाषा र बुझाई इसाई, मुस्लिम वा अमेरिकी समाजको भन्दा केही फरक अवश्य हुन्छ । यो प्रश्नको उत्तर पढ्नु भन्दा यदि तपाईं महिला हुनुहुन्छ भने असल लोग्ने कस्तो होला ? विचार गर्नुस् । यदि तपाईं लोग्ने हुनुहुन्छ भने एकैछिन उभिएर तपाईं साच्चिकै असल हुनुहुन्छ त ? चिन्तन गर्नुस् ।

वैदिक संस्कृतिमा असल लोग्ने त्यो हो जसले ‘विवाहको बखतमा अग्नी साक्षी राखेर पत्नीका सातवटा गरेका प्रतिज्ञाहरू अक्षरसः पालन’ गर्छ । धेरै लोग्नेस्वास्नीले विवाहका बखतमा गरेका प्रतिज्ञाहरूलाई ‘पण्डितको पूजा’ बूझेका छन् भने जसले बुझेका छन् तिनले बुझाउन चाहन्नन् । त्यसो भए ‘असल लोग्ने बन्नका लागि अग्निलाई साक्षि राखेर लोग्नेले गरेका प्रतिज्ञाहरू सम्झौं । विवाहितका लागि यो ‘रिफ्रेस’ हो भने विवाह गर्न तयार लोग्नेहरूका लागि भविष्यमा असल लोग्ने बन्ने उपायहरूको ‘टिप्स’ हो ।

१. हरेक क्रियाकलापमा समावेश गर्नेः वैदिक साहित्यअनुसार असल लोग्नेले आफ्नी श्रीमतीलाई जीवनका हरेक क्रियाकलापमा प्रत्यक्ष समावेश गराउँछ । असल भोजन, तीर्थयात्रा, यज्ञ, सामाजिक, सांस्कृतिक, धार्मिक कर्ममा संगै लिएर हिँड्छ । यस्तो पनि नै असल मानिन्छ । हरेक धार्मिक कर्ममा पत्नीलाई समावेश गर्ने पर्ने वेदको आज्ञा छ । विवाहिता पत्नीको अभावमा धार्मिक कर्म पूर्ण नै हुँदैनन् । त्यसैले लोग्नेले ‘तिमीलाई मैले देब्रेअङ्गमा ठाउँ दिन्छु’ भन्दै आफ्नो जीवनको अभिन्न अङ्गका रूपमा स्वीकार गर्छ ।

२. सम्मान गर्नेः जसरी घरका वृद्धजन र मान्यजनहरूलाई सम्मान गरिन्छ, त्यसरी नै प्रेमपूर्वक आदर–सम्मानका साथ जीवन यापन गर्ने । स्वास्नीका सुखदुखमा सधैं साथ दिने र कुनै पनि हालतमा झर्केर, फर्केर, नबोल्ने तथा शारीरिक हिंसा नगर्ने पति असल मानिन्छ ।

३. जीवनसाथीका रुपमा बुझ्नेः पत्नी नै पतिको असल मित्र हो भन्दै एउटा सबैभन्दा निकटको मित्रका रूपमा सुखदुखका कुरा साटासाट गर्ने र पत्नीबाट गृहस्थ, वानप्रस्थ तथा सन्यास (मृत्यु) सम्म सहयोगको आसा राख्ने र सहयोग दिने । पत्नीलाई सधैं धर्म, अर्थ, काम र अत्यमा मोक्षप्राप्तिको लागि सबैभन्दा सहयोगीका रूपमा ग्रहण गर्ने पति नै असल पति हुन्छ । यहाँ ‘मैले तिमीलाई ससानो गल्ती हुँदा क्षमा गर्ने छु’ पनि भनिएको हुँदा स्वास्नीका स–साना गल्ती हुँदा क्षमा गर्ने र प्रेमपूर्वक मार्गदर्शन गर्ने लोग्ने असल हुन्छ ।

४. स्वास्नीका आमावुवालाई आफ्नै परिवारसरह ठान्नेः वैदिक संस्कृतिमा लोग्नेले विवाहका बखत स्वास्नीका आमावुवा, दाजुभाईआदिलाई आफ्नै परिवारसरह (कुतुम्व) व्यवहार गर्ने, तिनको अपमान नगर्ने र आवश्यक परेको बखतमा पत्नीका मातापितालाई सहयोग गर्ने पति असल मानिएको छ ।

५. आर्थिक क्रियाकलापमा स्वास्नीलाई महत्व दिनेः विवाह गर्दा लोग्नेले पाँचौं बचन हरेक आर्थिक क्रियाकलापमा पत्नीलाई अनिवार्य समावेश गर्ने, सूचना दिने तथा घरको जिम्मा (दाम+पति) घरपतिका रूपमा श्रीमतीलाई सम्मान दिने प्रतिज्ञा गरेको हुन्छ । यसरी हरेक आर्थिक क्रियाकलापमा पत्नीलाई प्रत्यक्ष समावेश गर्ने, सरसल्लाह गरेर काम गर्ने लोग्ने असल मानिन्छ ।

६. कुनै पनि दुर्व्यसन नगर्नेः लोग्नेले पत्नीसंग जीवनमा कुनै पनि जुवा, लागूऔषध वा मद्यपानजस्ता दुर्व्यसन नगर्ने र पत्नीका साथी–सहेलीहरूको अपमान नगर्ने वचन दिएको हुन्छ । यसरी दिएको बचनमा अडिग रहेर कुनै प्रकारका दुर्व्यसन नगर्ने र पत्नीका मित्रहरूलाई अपमान नगर्ने लोग्ने असल मान्नुपर्छ । साथै असल लोग्नेले विर्सेर पनि स्वास्नीसँग झूटो ब्यबहार गर्दैन, घटनाहरू लुकाउन्न ।

७. दोश्रो विवाह नगर्नेः हरेक हिन्दू लोग्नेस्वास्नीले विवाहमा अग्निको परिक्रमा गर्दै गर्दा लोग्नेले स्वास्नीलाई ‘अर्काकी श्रीमती वा केटी मान्छेलाई आमासरह दृष्टि राख्ने’ भन्ने वचन दिएको हुन्छ । आमा सरह दृष्टि राख्नुको अर्थ होः पत्नीप्रति पूर्ण आस्थावान् र विश्वास गरेर परस्त्रीसंग (विवाहेतर यौनजन्य क्रियाकलाप नगर्ने) र आफ्नी पत्नीसंग यौनक्रियाकलाप गर्ने लोग्ने असल हुन्छ भन्ने वैदिक संस्कृतिको अभिमत छ ।

आधुनिक मनोबैज्ञानिक परिपेक्षमा विवाहका वखतमा दिएका उपरोक्त बचनहरू अक्षरसः पालन गर्ने लोग्ने ‘असल’ हो भन्ने कुरामा कुनै द्विमत रहन्न । पत्नीलाई सम्पत्तिमा समान हक दिने, सामाजिक, सांस्कृतिक, धार्मिक क्रियाकलापमा अनिवार्य समावेश गर्ने, आमावुवालाई माया गरेझैं स्वास्नीको सुखदुखमा सहभागी बन्ने, स्वास्नीका साथी तथा आमावुवाको सम्मान गर्ने, स्वामित्वका क्षेत्रमा स्वास्नीलाई आफ्नो ‘आधा अङ्गसरह’ मान्यता दिने (अर्धांगिनी), कुनै प्रकारको शारीरिक तथा मानसिक हिंसा नगर्ने, लागुजस्ता दुर्गुणहरूबाट टाढा रहने र आफूसँग स्वास्नीको नाता गाँसेकी स्त्रीप्रति पूर्ण समर्पित रहेर सन्तान उत्पत्ति तथा रमाइलोका लागि यौनाचार गर्ने प्रतिज्ञाहरू निकै महत्वपूर्ण छन् ।

के तपाईंले एउटा असल लोग्नेको रूपमा पत्नीलाई दिएका उपर्युक्त बचनहरू पालन गरिरहनु भएको छ ? यदि गर्नुभएको छ भने तपाईंको परिवार सुखी छ । तपाईंका मातापिता तथा क्षिमेकीहरू तपाईंसंग मित्रता गर्न आतुर छन् । यदि छैन भने विवाहवेदीमा गरेको उपर्युक्त प्रतिज्ञाको मर्म बुझेर पालन गर्न आरम्भ गर्नुस् । तपाईं असल लोग्नेमा रुपान्तरित हुनुहुनेछ ।

–अर्को लेखमा विवाहका बखत स्वास्नीले लोग्नेसंग गरेका प्रतिज्ञाका आधारमा असल स्वास्नी को हुन् र कस्ता हुन्छन् ? भन्ने विषयमा चर्चा गर्ने छु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसद छलेर अध्यादेशमार्फत कानुन संशोधन नगर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले सरकारले केही महत्वपूर्ण कानून संशोधन गर्न अध्यादेश जारी गर्ने

रञ्जितालाई रेशमको आग्रहः पार्टी र सरकार दुबै तिमी चलाउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टी

विद्यार्थीहरु विदेशिनु त्रिवि मात्र कारक होइनः शिक्षाध्यक्ष केसी(अन्तरवार्ता)

काठमाडौँ । सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा. खड्ग केसीलाई नियुक्त गरेको

४५ दिनदेखि बन्द रहेको कान्तिलोकपथ अब दैनिक तीन घण्टा खुल्ने

ललितपुर । कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि