अंग्रेजको झोला र हाम्रो देशभक्त !



मोहन लामा रुम्बा ।
डा. बाबुराम भट्टराईले पनि ग्रेटर नेपालको नक्सा राख्नुपर्छ भनेर बोल्न थालेछन् । अब उनको चेलो आङ्काजीहरुबाट पनि पक्कै यही आशयको वक्तव्यहरु आउनेनै छन् भनेर कुरौं । सन्दर्भमा जान अगाडि एउटा ‘झोला लुकाउने’ किस्सा हालौं ।

इंग्ल्यान्ड र फ्रान्सको बीचमा ओहोरदोहोर गर्ने रेल इङ्गल्याण्ड तर्फ जाँदै थियो, यात्रुहरु लगभग भरिभराउ थिए, एउटा सिट मात्र खाली थियो, रेल सुरु हुनु अलि अगाडि एक जना बेलायती अंग्रेज आएर त्यो सिटमा बसे, त्यहाँ पहिले नै एकजना फ्रान्सेली खातुन भन्ने महिला बसिरहेकी थिइन्।

सँगै बसिरहेकी ति फ्रेन्च महिला निकै तनावग्रस्त अवस्थामा रहेकोे प्रष्ट देखिन्थ्यो, उनको अनुहारमा भैरहेको चरम तनाव देखेर ती बेलायती अङ्ग्रेजले मन थाम्न नसकेर ती महिलालाई सोध्यो–तपाईं तनावग्रस्तमा हुनुहुन्छ जस्तो लाग्छ केही समस्या पर्यो की तपाईंलाई ? भनेर सोध्छ ।
ती महिलाले हिचकिचाउँदै वरिपरि हेर्दै बिस्तारै भनिन्– म सँग बेलायतको कानूनले अनुमति दिएको भन्दा धेरै पैसा लिएर आएकी छु, जुन दश हजार पाउन्ड हुन्छ । फ्रान्समा त केही हुन्न तर बेलायतमा यति रकम लैजान गैरकानुनी हुन्छ । अब मलाई बेलायत पुगेपछि के हुन्छ होला भनेर चिन्ता लागिरहेको छ भनेर आफ्नो समस्या खुलस्त सुनाइन् ।

ति अङ्ग्रेजले आश्वास्त पार्दै भन्यो,’ठिकै छ कुनै ठूलो समस्या होइन, यसको पनि समाधान निस्किन्छ। यदि तपाईं मान्नुहुन्छ भने, मलाई आधा रकम ५००० राख्न दिनुहोस्, बाँकी ५००० पाउन्ड तपाईंसँग हुनेछ।’

मलाई तपाईंको ठेगान दिनुस्, चेकपोस्टबाट बाहिर निक्लेपछि तपाईंको पैसा तपाईंलाई फर्काइदिन्छु भनेर बेलायती पुरुषले सल्लाह दियो । महिला खातुनलाई उनले दिएको सल्लाह मन पर्यो, आफ्नो ठेगाना कागजमा लेखेर ५००० पाउण्ड रकम राख्न दिइन् ।
रेलबाट ओर्लिएपछि फ्रान्सेली युवती बिना कुनै अवरोध प्रहरी चेकिङबाट बाहिर निक्लेर जाँदै थिइन् कि त्यो ५००० राख्न दिएको अङ्ग्रेजले ठूलो–ठूलो स्वरले प्रहरीलाई देखाउँदै भने, ‘हजुर, त्यो महिलालाई समात्नुहोस् ! त्यो महिलाले अवैध रूपमा दश हजार पाउण्ड फ्रान्स बाट बोकेर आएकीछिन् !

त्यो महिलाले मलाई पाँच हजार पाउण्ड राख्न दिएकी छिन् ! भन्दै प्रहरीको अगाडि गएर– सर ! म इङ्गल्याण्डको एउटा “देशभक्त“ नागरिक हुँ र म मेरो प्यारो देशलाई धोका दिने कुरा म सोच्नसम्म सक्दिन, मलाई त्यो महिलाले राख्न दिएको रकम ५००० पाउन्ड यहाँ छ भन्दै पैसा निकालेर प्रहरीलाई दिँदै हरेक नागरिक देशभक्त हुनुपर्छ ! देशमाथि गद्दार गर्नेहरू कानुनी कठघरामा उभ्याउनु पर्छ ! भन्दै जोड जोड्ले कराएर त्यो महिलालाई पक्राउ गर्न प्रहरीलाई भन्न थाल्यो ।

चेकपोस्टबाट पार भएर केही टाढा पुगिसकेको फ्रान्सेली महिला खातुनलाई प्रहरीले फेरि समाएर ल्याएर सोधपुछ गर्दा खातुनले आफ्नो अपराध स्वीकार गरिन्, अंग्रेजले आफूसँग राखिएको आधा रकम पनि प्रहरीलाई बुझायो । ती बेलायती नागरिकले गर्दा गैरकानुनी गर्ने फ्रान्सेली महिला समाउन सकेकोमा प्रहरी खुसी हुँदै प्रहरीको हाकिमले धन्यवाद दिँदै भन्न थाले– “हाम्रो देशमा सम्पत्ति शुद्धीकरण भएन भने देशको अर्थतन्त्रमा ठूलो नोक्सान पुग्न जान्छ । तपाईंहरु जस्तो ईमानदार देशभक्तहरुले गर्दा नै हाम्रो देशले उचाई लिन सकिरहेको छ भन्दै तिनको प्रशंसा र सम्मान गर्दै धन्यवाद दिएर पठाए ।

प्रहरीले फ्रान्सेली महिलालाई जरिवाना गरेर अर्को रेलबाट फ्रान्स फिर्ता पठाई दिए । यो घटनाको केही समय बितिसकेको थियो। एकदिन फ्रान्समा बसिरहेको ती महिला खातुनको घरको ढोकामा ढकढक गर्दै कसैले ढोका उघार्न भन्यो । ती महिलाले को आएछ घरमा भन्दै ढोका खोलेर हेर्दा त्यही अङ्ग्रेज उनको अगाडि उभिरहेको थियो । जसले उनलाई बेलायतमा पक्राउ गराएको थियो । महिला आश्चर्य र आक्रोश मिश्रित स्वरमा खातुनले भनिन्,– तँ ? तँ त्यही मान्छे होइन मलाई पक्राउ गराउने ? थुक्क तँ कति गद्दार धोखेबाज मान्छे रहेछ ! मेरो सबै पैसा प्रहरीलाई समाउन लगाएर फेरि लाज सरम पचाएर मेरै घरमा आउने ?अलिकता पनि लाज लागेन यहाँ आउन ? भन्दै महिला एकहोरो कराई रहिन् ! महिला रिसाएर कराइहँदा त्यो अङ्ग्रेज मुसुमुसु हाँस्दै बसिरह्यो। महिला कराउन छोडेपछि त्यो अंग्रेजले झोलाबाट एउटा खाममा १० हजार पाउन्ड दिँदै त्यसमाथि अर्को ५००० रकम पनि थपेर १५ हजार पाउण्डको खाम दिँदै भन्न थाले–लौ लिनुस् तपाईंको पैसा । यो तिम्रो १० हजार रुपैयाँ हो र बाँकी त्यसमाथि थप ५००० रुपैयाँँ मेरो तर्फबाट तिम्रो लागि इनाम हो । फ्रान्सेली युवती यस्तो देखेर छक्क परिन् ! ट्वाल्ल परेर त्यो अंग्रेजको मुख एकहोरो हेरिरहिन् ! अङ्ग्रेजले बिस्तारमा भन्न थाल्यो, महाशय ! तपाईंको रिस म माथि एकदम जायज छ, तर म पनि यसो गर्न त्यतिबेला बाध्य थिएँ, त्यो बेला मैले प्रहरीको ध्यान मेरो झोलाबाट हटाउन चाहन्थे । किनभने मेरो झोलामा ३० लाख पाउण्ड थियो, त्यसैले मैले यो नाटक गर्नुपर्यो, जसमा तपाईंले त जम्मा दश हजार मात्रै गुमाउनु पर्यो यदि मेरो झोला चेक गरेको भए ? अंग्रेजको कुरा सुनेर फ्रान्सेली महिला खातुन अक्कबक्क भएर भुँइमा थचक्क बसिन् । यो घटना बाट हामीले के पाठ सिक्नुपर्ने हुन्छ ?

आवश्यकता भन्दा बढी जब–जब देशभक्तको कुरा जोड जोडले मच्चिन थाल्छ सोंच्नुस् त्यो मान्छे त्यही अंग्रेज जस्तो पनि हुनसक्छ । त्यो अंग्रेजले देशभक्तिको कुरा गरेर आफ्नो झोला चेकपोस्टमा लुकाउन सफलता मिलेको जस्तो अहिले नेपालमा चलिरहेको “देशभक्त“ आन्दोलन पनि आफ्नो ‘झोला’ लुकाउन बाहेक अर्को के हुनसक्छ होला र ? हुँदाहुँदा अहिले त बाबुराम भट्टराई पनि ग्रेटर नेपालको पक्षमा बोल्दै गरेको देखें, अब हेर्दै जानुस् उपेन्द्र यादव आङ्काजी शेर्पादेखि सबै ग्रेटर नेपालको नक्साबारेमा केही समय सम्म बोल्दै जानेछन् । अहिले सामाजिक संजाल राजनीतिक क्षेत्र पुरै माहौल ग्रेटर नेपालमय हुँदै छ। तर यो त्यही देश हो, जसले यो देशको बिशाल ‘जग’ राख्ने काम गर्यो, तिनै महान सम्राटको सालिक ढाल्नेहरुले चलाइरहेको देश हो । यो त्यही देश हो जुन देश एउटा सिंगो देश होइन टुक्राटुक्रा देशलाई जबर्जस्ती खाँदेर एउटा देश बनाएको हो भन्ने मान्यतामा आधारित भएर आजको संविधान बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र बनाएको देश हो र त्यो देशको हामी नागरिक हौं । यो देशको एकीकरणकर्ता पृथ्वीनारायण शाहको सालिक ढालेर नेपालको पाठ्यक्रमबाट उनको योगदान उनको इतिहास हटाएर टुक्राटुक्रा नेपालको अवधारणा ल्याएर नेपाललाई बिखण्डन गर्न ल्याएको संविधानलाई महान उपलब्धि ! महान प्रगति भन्नेहरु नै आज ग्रेटर नेपालको नक्सा बोक्दै दौडिदै छ भने एकपटक थाप्लोमा हात राखेर सोंच्नु होला । जुन देशमा बस्ने नागरिक जुन देशको संस्थापक पू्र्खा प्रति अनुगृहित हुन्न कृतार्थ हुन्न भने सोंच्नुस् त्यो देश आडम्बरले मात्रै धेरै दिन सम्म टिक्दैन । आज यो विशाल देशको आरम्भकर्ता पृथ्वीनारायण शाहको जयन्ती मनाउन छोडी सकेको धेरै भैसकेको छ । काठमाडौ त राजधानी भयो पृथ्वी जयन्ती औपचारिकतावस मान्छेहरु ससाना झुन्ड पुगेर मनाउने गर्छन्। तर पृथ्वी जयन्ती त मुलुकभर जनजन उर्लेर धुमधाम संग हुनुपर्ने थियो, तर आज काठमाडौको एउटा कुनामा दुई चार सय मान्छे जम्मा भएर औपचारिकतामा सिमित भएको अवस्था छ । काठमाडौ सहर बाहेकका बाँकी ७६ जिल्लामा पृथ्वी जयन्ती लगभग सुनसान जस्तै हुन्छ। मोफसलको अवस्था कस्तो छ भने एउटा सानु उदाहरण हेरौं, मेरै गृह चितवन जिल्लामा निरन्तर पृथ्वी जयन्ती मनाउन सकृय नेतृत्व गरिरहने एकजना युवा साथी हुनुहुन्छ जीवलाल पुरी ‘निर्जरा’।

एकदिन निराश हुँदै मलाई भन्दै हुनुहुन्थ्यो – पृथ्वी जयन्ती मनाउन चन्दा माग्न पुगेछ कुनै बेला राजा महेन्द्रले चितवनमा बिर्ता, तक्मा मान सम्मान दिएको ‘‘विष्ट थरको घरमा, एक घण्टासम्म राजा महाराजालाई धिक मर्नेगरि सराप्दै अन्तमा भिखारीलाई दिएको जसरी “पैसा“ दिएर फर्काएछ । यो एउटा सानु उदाहरण मात्रै हो हाम्रो अवस्थाको प्रतिनिधि घटना । जिल्लाभर पृथ्वी जयन्ती मनाउन भन्दै माइकिङ गरेर मान्छेलाई आह्वान गर्यो, आखिरमा मान्छे जम्मा हुन्छन् एउटा सामान्य बिहेको जन्ती बराबर ! यस्तै अवस्था हो मुलुकभर । जुन देशको जनतामा देशको एकीकरणकर्ता प्रति त यति निर्घिण जनता हुन्छन् भने यो देशलाई टिस्टा देखि पश्चिम् काँगडा सम्म फैलाउने बहादुर शाह बारेमा त झन् कसलाई यहाँनेर पत्तो छ र ? जंगबहादुर राणा जसले अंग्रेज रिझाएर आजको आधुनिक सिमा निर्धारण गरियो। उनैले गाडेको खम्बाको कारणले आज हामी ‘Buddha was born in Nepal’ भन्दै गर्व गर्ने अवसर पाइरहेका छौं ! उनले गाडेको सीमास्तम्भ अहिले आधा समेत छैन, त्यति सीमास्तम्भ समेत जोगाउन नसक्ने हामी हुतीहार लाछी पानी मरुवा नेपालीहरुले ग्रेटर नेपालको गफ दिँदै जंगबहादुरलाई अंग्रेजको गुलाम ! खलनायक !! भन्दै सत्तो सराप गर्दै बस्छन् ! गणतन्त्र भारतले अशोक सम्राट्लाई बिम्ब बनाएर ग्रेटर इन्डियाको आधार दिइरहँदा हामीले हाम्रो सम्राट पृथ्वीनारायण शाह, बहादुर शाह जंगबहादुरलाई बिम्ब बनाएर उनीहरुको जन्मजयन्ती, मुद्रामा तस्वीर, संसदभवन अगाडि मुर्ति खडा गरेर नेपाल हुनुको गर्ववोध हुने काम गरेर किन हिंड्न सक्दैनौं ?

आफ्नो गौरवशाली इतिहासलाई मेटाउने, आफ्नो नेपाली संस्कृतिलाई धुलोपिठो पार्ने ! आफ्नो जाति धर्म संस्कृति पहिचानलाई युरोपेली युनियनको पाउमा राख्ने ! टुक्राटुक्रा नेपालको इतिहास घर घरमा गएर घोकाउने अनि एकीकृत नेपालको इतिहासलाई भ्रष्टिकरण गर्दै ग्रेटर नेपालको कागाजी नक्सा भित्तामा राख्दै देशभक्तको ढ्वाङ्ग देखाउने भनेको त्यही अंग्रेजको ‘झोला’ लुकाउने कथा भन्दा बढी केहि होला त ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट सर्वोच्चबाट खारेज

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट

दुर्गा प्रसाईंंको हतियार इजाजत दिन नमिल्ने र देशभर लैजान पाउने गरी इजाजत नदिइएको छानबिन समितिको निष्कर्ष

  काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमक्ष हतियारको इजाजत तथा नवीकरणसम्बन्धी छानबिन

लगानी सम्मेलनमा उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत

  काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि 

स्टिङ अपरेसन टोलीका सदस्यको बयान फेर्ने विषयमा आफ्नो नाम उल्लेख भएकोमा अख्तियारको आपत्ति, छानबिन थाल्न माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिधाकुरामा प्रसारित भिडियोका सम्बन्धमा तत्काल छानबिन गर्न