चुनावपछिको देशको चुनौतीपूर्ण अर्थव्यवस्थाबारे किन गर्दैनन् दलहरु छलफल ?



नारायण गाउँले ।
रवि लामिछानेलाई यतिबेला गठबन्धन र ओलीबीच पेन्डुलम बनेको देख्नुभएको होला । धेरैलाई असजिलो लागेको पनि होला । तर यो उनको चाहनाले होइन, चक्रब्यूहले गर्दा हो । गहिरो गरी सोच्नुभो भने देशको राजनैतिक चक्रब्यूह र सिस्टम यति अभेद्य छ कि कुनै नयाँ अनुहारले यसलाई तोड्छु या बदल्छु भनेर आयो भने ऊ आफैं तोडिन्छ ।

नागरिकता प्रकरण टुङ्गियो । तर पासपोर्ट विवादबारे सुन्नुभएकै हुनुपर्छ । प्रहरी छानबिन, सरकारी वकिल हुँदै महान्यायाधिवक्ताको कार्यालयसम्म पासपोर्ट विवादको फाइल पुगेर मुद्दा लाग्ने या नलाग्ने भन्ने निर्णय हुने रहेछ । महान्यायाधिवक्ता प्रधानमन्त्रीले आफ्नै पार्टी र गुटका कट्टर भक्तलाई चुन्ने प्रचलन छ ।

तर, सरकारले पक्षमा निर्णय गर्दैमा पनि यो विवाद सकिन्न । जो कोही पनि रिट बोकेर अदालत जान सक्छ र पासपोर्टको मुद्दा संवेदनशील मानिन्छ पनि । संयोगवश ओलीजीका पूर्वमहान्यायाधिवक्ता नै अहिले सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश छन् । एमाले र कांग्रेसको सक्रिय राजनीति गरिसकेका र सांसद नै बनेकासमेत सर्वोच्चमा न्यायाधीश छन् । अब आफै सोच्नुहोस्, एउटा रविले गरोस् त के गरोस् ! सबैको नसा समाउलान् भनेर आशा गरिएका रविको नसा समाएर उल्टै दलहरू बसेका छन् । भित्र यस्तो छ, बाहिरबाट हेर्नुस् त, दलहरू कति अबोध र मायालु देखिन्छन् ।

अर्बौं रुपियाँ खर्चेर गरिएको चुनावपछि देशको चुनौतीपूर्ण अर्थव्यवस्था, ऋण, बेरोजगारी, कृषि, उत्पादकत्व र स्वास्थ्य समस्याबारे कहीँ कुनै नेताले बोलेको सुन्नुभएको छ ? बालुवाटारदेखि बालकोट या देउवामहलसम्म दर्जनौं मिटिङ र भेटघाट भएका छन् । तर त्यहाँ एकअर्कालाई कसरी खुइल्याउने र आफू जित्ने भन्नेबाहेक अर्को बहस भएको छ ? सिङ्गो संसद कसलाई के बनाउने, कसले कसलाई धोका दिने, कसले पक्का जित्ने, कसले कसलाई समर्थन दिने र फिर्ता लिने जस्ता कुरामा व्यस्त छ । हाम्रा वरिष्ठ भनिएका नेताहरू कसले कति छलकपट गर्न सक्ने भन्नेमा हाम्रो रगत पसिनाबाट तलब खाएर लागेका छन् । न सरकार छ, न प्रतिपक्ष छ । यतिसम्म निर्लज्जता छ कि बिहान दलाल भनेर गाली गरेको छ, बेलुका फूलमाला लगाएको छ । बिहान अबीर दलेको छ र बेलुका विषवमन गरेको छ । यत्तिका लागि तिनले तलबभत्ता थापेका छन् । हामी जसले जे भने पनि हो भनेर ताली बजाएकै छौं । कोही केही बोल्दैन । बोल्यो भने त्यही धोका, ढोक्सा र भागबण्डाबारे बोल्छ । तुष पोख्न बोल्छ । रविजस्ता केही नयाँ युवामा यस्तो दुर्गतिप्रति रोष त होला, तर ती सत्तालाई त प्रश्न गर्न सक्दैनन् नै, हिजो या भोलि सत्तामा हुनेसँग पनि ड़राइरहेका देखिन्छन् ।

सिस्टमसँग, बेथिति र चक्रब्यूहसँग लड्ने एउटा भरपर्दो साधन भनेको पत्रकारिता नै हो । आजसम्मका काण्ड, भ्रष्टाचार, बेथिति जे जति बाहिर आएका छन्, ती सबै पत्रकारले नै ल्याएका हुन् । पत्रकारिता नभएको भए हाम्रा नेताहरू चार गुना बढ़ी भ्रष्ट हुन्थे भन्ने हामीलाई थाहा छ । पत्रकारिता आफैमा स्वच्छ नहोला, तर यसले नेपाली राजनीतिलाई निरन्तर चौकीदारी गरिरहेको छ । प्रतिपक्षको भूमिका निभाइरहेको छ । नत्र त दलहरू सबै तोड़फोड़ र एउटालाई गुल्ट्याएर आफू सत्तामा पुग्न खुल्लमखुल्ला लागेकै छन् । नयाँ केही गर्छु भन्नेले यो हतियारलाई सदुपयोग गरेर सिस्टमसँग लड्नुपर्ने हो । त्यो पनि उल्टो भए जस्तो छ ।

यता तपाईं र म आफूआफू बीच मित्र भन्ने कि शत्रु भन्ने निर्णय माथिबाट छिटो आओस् भनेर कुरी रहेका छौँ ! तपाईंको रङ्ग कालो कि सेतो भन्ने कुरो माथिबाट निर्देशन नआई मेरो विवेकले छुट्याउन सक्दैन । र गज्जब त के भने यो निर्देशनले पहिले पहिले त केही वर्ष काम गर्थ्यो, आजभोलि बिहानको निर्देशनले बेलुकासम्म पनि काम गर्दैन, र पनि हामी निर्देशित नै छौँ ! जय होस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा