काठमाडौँ । सांस्कृतिक संस्थानले राष्ट्रिय दोहारी गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थानका महाप्रबन्धक किरणबाबु पुनले संस्थानको ५४औँ वार्षिकोत्सवको अवसरमा आगामी असार ३ देखि ५ गतेसम्म ‘सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३’ आयोजना गर्न लागिएको जानकारी दिए ।
नेपाली लोक कलाको संरक्षण, संवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले संस्थानको केन्द्रीय कार्यालय जमलमा आयोजना हुन लागेको प्रतियोगितामा देशभरका २५ समूहले प्रतिस्पर्धामा भाग लिने महाप्रबन्धक पुनले बताए ।
प्रतियोगितामा प्रथम हुने समूहले दुई लाख र दोस्रो हुनेले रु एक लाख पुरस्कार प्राप्त गर्नेछ । यस्तै, सर्वोत्कृष्ट गायक, सर्वोत्कृष्ट गायिका, सर्वोत्कृष्ट वेषभूषा तथा आभूषण र सर्वोत्कृष्ट सांस्कृतिक भावयुक्त प्रस्तुतीकरण विधातर्फ जनही रु २५ हजार पुरस्कार प्रदान गरिने संस्थानले जनाएको छ । पुरस्कारको साथमा प्रमाण पत्र तथा विजेता र उपविजेतालाई संस्थानकै स्टुडियोमा गीत रेकर्डिङ गर्ने अवसर प्रदान गरिने बताइएको छ ।
उत्कृष्ट प्रतिभालाई संस्थानको ६ महिने कला प्रशिक्षण (गायन विधा) मा सहभागी गराइने संस्थानले जनाएको छ । प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ लोक कलाकार दुर्गा रायमाझी, चन्द्र शर्मा, राधिका हमाल, सीता थापा, कृष्ण रेउले, दीपक खड्का र सुवास केसी रहनेछन् ।
प्रतियोगितामा विशेष प्रस्तुतिका रूपमा राजु परियार, राजु ढकाल र देवी घर्तीको प्रस्तुति रहने संस्थानले जनाएको छ । विसं २०१६ मा स्थापित ‘राष्ट्रिय नाचघर’ लाई २०२९ सालमा सांस्कृतिक संस्थानका रूपमा पुनर्गठन गरिएको हो ।

प्रतिक्रिया