सिस्टम उही हो, साधनस्रोत त्यही हो, रातारात चमत्कार हुन्छ भन्ने छैन



नारायण गाउँले ।

दलहरूलाई गाली गर्दै अर्को नयाँ दल खोल्नुलाई हामीले वैकल्पिक राजनीति भनेर व्याख्या गर्न खोज्यौँ । तर त्यो राजनीतिको विकल्प नभएर दलको मात्र विकल्प रहेछ । राजनीतिमा विकल्प खोज्ने काम माथिबाट नेताले होइन, जमिनबाट जनताले गर्ने रहेछन् !

बाजागाजासहित, तामझाम, पर्चा र पम्पलेटसहित हामी वैकल्पिक पार्टी भनेर नहुने रहेछ । यो कतिबेला कसरी र कहाँबाट प्रस्फुटन हुन्छ भन्नै नसकिने, कुनै नियमको मूलबाटोमा नहिँड्ने प्रेमको नियमजस्तो ! पात्र छानेर, गर्छु भनेर, अरूको प्रेममा यति खोट छ भन्ने गनेर कहिले प्रेम घटित हुन्थ्यो र !

विवेकशीलका नाममा केही युवाले आम जनताको सोच्ने शैली अलिकति परिवर्तन गरेको पक्का हो, तर सिस्टमलाई धक्का दिन बालेन आइपुगे । पार्टी खोलेर, समाजवाद र पूँजीवादका दर्शन बोकेर र भएका पार्टीलाई धुलो चटाउँछु भनेर आएको भए शायद बालेनलाई काठमाडौँले बाल दिने थिएन । कुनै राजनैतिक दलका समर्थकदेखि भक्तसम्मको मन नदुखाई, दलकै विकल्प बन्छु भन्ने घमण्ड नदेखाई, आफ्नो उम्मेदवारीको औचित्य सजिलो भाषामा बुझाई बालेनले काठमाडौँ जिते ! हर्क साम्पाङ् र गोपी हमालले गरेको कमाल त झनै शानदार रह्यो ।

यसअघिका यस्ता प्रयास विकास र निकासका लागि भन्दा पनि दलहरूको विपक्षमा केन्द्रित भएर होला, जनताले अनुमोदन गरेनन् । दल त नयाँ ल्याउन सकिएला तर कुनै अर्को ग्रहबाट फ्रेस भोटर त ल्याउन सकिन्न । खासमा यसअघि कुनै न कुनै दलमा झुकाव भएका जनताबाटै विकल्प निस्किने हो । दललाई गरेको गाली धेरैथोरै तिनै जनतालाई नै हुने रहेछ । आफूलाई महत्त्व दिनेलाई पो भोट दिनु, गाली गर्नेलाई के भोट दिनु भन्ने तिनलाई लाग्दो हो ।

सिस्टम उही हो, साधनस्रोत त्यही हो । रातारात परिवर्तन या चमत्कार हुन्छ भन्ने छैन । तर पार्टीको मेयरमाथि ठेक्कापट्टादेखि सामान्य जनशक्ति भर्नासम्म देशभरका ठुटे नेताको थेग्नै नसकिने दबाब हुन्छ । राजनैतिक करियरको दाउपेच हुन्छ । कतिपय कुरा चाहेर पनि गर्न नसकिने हुन्छ । तर स्वतन्त्र जित्नेहरूसँग कम्तिमा यस्तो संस्थागत दबाब र झमेला छैन । तिनलाई सुन्दा तिनीहरू दिशाहीन छन् जस्तो पनि लाग्दैन । समस्या बुझेका छन्, निकासको ढोका देखेका छन् र उच्च मनोबल बोकेका छन् । शायद यो परिणामबारे पूर्व आँकलन नभएर होला, गम्भीर रूपमा तिनलाई सुनिएको रहेनछ । आज जति सुन्यो, त्यति मन आश्वस्त हुन्छ ।

तिनको विजयलाई जनताले दल बहिष्कार गरेको अर्थमा लिनु पनि फेरि अर्को गल्ती हुनसक्छ । तिनलाई भोट हाल्नेले बाँकी मत आआफ्नो दललाई दिएका छन् । दलको रूपान्तरण भने सबैले चाहेको जस्तो देखिन्छ । भलै हाम्रा दल कुकुरको पुच्छरजस्ता किन नहून् ।
जित्नेहरूलाई बधाई !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएचओद्वारा जानकारी

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

आजदेखि एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति