डा. गोविन्दशरण उपाध्याय ।
अद्वैतमतका महान् व्याख्याता तथा वैदिक सनातनधर्मका पुनर्जागरणकर्ता महादार्शनिक जगदगुरु आदिशंकराचार्यको (सन् ७७२) जन्मजयन्तिका अवसरमा सम्पूर्ण वैदिकसनातनीहरूमा हार्दिक शुभकामना । आचार्यको जन्म मितिको सवाल निकै जटील छ । आधुनिक विद्वानहरूले आठौं शताब्दितिर माने पनि बालगंगाधर तिलकले उहाँको जन्म ई.पू. ३००ओ तिर भएको भन्ने प्रमाणसहित तर्क राख्नुभएको छ । आचार्य शङ्करलाई भगवान् विश्वनाथ शिवको साक्षात अवतार पनि मानिन्छ ।
आचार्य शङ्करको जन्म भारतको केरलमा अत्यन्त गरीव ब्राह्मण परिवारमा भएको थियो । आचार्य की आमा एउटा मठको सफाई कर्मचारी हुनुहुन्थ्यो । आमासँग मठमा जाँदाआउँदा ऋषिहरूले बालक शङ्करको अदभूत प्रतिभा देखेर धर्मोपदेश दिन्थे । शङ्कर अदभूत थिए उनले आठवर्षको उमेरमा ऋषिमुनिहरूले बोलेका र उपदेश दिएका शास्त्रका धेरैजसो रहस्यहरू राम्ररी बुझिसकेका थिए । उनले १२ वर्षको उमेरमा सन्यास लिएर १६ वर्षको उमेरसम्म भारतवर्षको पहिलो यात्रा गरिसकेका थिए ।
१६ वर्षे आचार्य शङ्करका आगाडी दूईबटा लक्ष थिए–सनातन धर्मको मूल स्वरुपको पुनस्थापना गर्ने र तत्कालीन बौद्धहरूको बर्चश्वलाई कम गर्ने । उहाँले पहिलो काम सनातन धर्म रक्षाको लागि अद्वैत मठहरू स्थापित गरेर सम्पादन गर्न आरम्भ गर्नुभयो भने दोस्रो लक्ष पुरा गर्न उहाँले बौद्धविद्वानहरूसंग शास्त्रार्थ गरेर आफ्नो अनुयायी बनाउने निर्णय गर्नुभयो ।
शास्त्रार्थ गरेर उहाँले बौद्धहरूलाई सनातनी भने वैदिक शास्त्रको अधिकारिक व्याख्या गर्न उहाँले प्रस्थानत्रयी (गीता, ब्रह्मसूत्र र उपनिषद)सहित असंख्य वैदिक शास्त्रहरूमा टीका लेख्नुभयो । उहाँ संसारमा केवल ३२ वर्ष रहनुभयो तर यो छोटोकालमा बौद्धहरूलाई पराजित गरेर सनातन धर्मको मूल स्वरूप स्थापना गर्ने आफ्नो लक्ष पूरा गर्नुभयो । आजको हिन्दुत्वमा आचार्य शंकरको ठूलो योगदान छ भने उहाँको अद्वैतवाद आज पनि अजेय दार्शनिक चिन्तनका रूपमा प्रसिद्ध छ । उहाँले ७० भन्दा बढी पुस्तक लेख्नुभएको छ ।
हामी हरेक सनातनीमा ३२ वर्षको कलिलो उमेरमा वैदिक धर्म, संस्कृति तथा ज्ञानको पुनः प्रतिष्ठा गर्न सफल हुनुभएका आचार्य शङ्करको स्वाभिमान, समर्पण, विद्वतता र गौरव जागृत होस् ।
साथै, भक्तिमार्गका प्रतिष्ठापक तथा विशिष्टाद्वैत दर्शनका व्याख्याता महान् दार्शनिक जगदगुरू श्रीरामानुजाचार्यको जन्मजयन्तिका अवसरमा सम्पूर्ण विशिष्टाद्वैत दर्शनका अनुयायी एवं सनातनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आचार्य रामानुजले १२० वर्ष लामो जीवन सनातन धर्मको सेवामा समर्पित गर्दै प्रपन्नभक्तिको प्रचारप्रसार गर्नुभएको थियो ।
श्रीरामानुजाचार्यको जन्म पनि दक्षिण भारतमा सन् १०१७ मा भएको थियो भने उहाँको स्वर्गारोहण सन् ११३७ (१२० वर्ष) भएको मानिन्छ । उहाँ पहिला अद्वैत परम्परामा शिक्षित हुनुभएको तर पछि चित्त नबुझेपछि दक्षिण भारतीय आलवर सन्त परम्पराबाट प्रभावित भई भगवान्को साकार स्वरूपतिर आर्कषित हुनुभयो । उहाँका प्रथम शिक्षा गुरू यादव प्रकाश हुनुन्थ्यो र उहाँबाट अद्वैत वेदान्तको शिक्षा प्राप्त गर्दा चित्त नबुझेपछि आफै प्रस्थानत्रयी (गीता, वेदान्त सूत्र र उपनिषद)को व्याख्या गर्नुभयो । निज जगदगुरुले पनि ८० बटा जति पुस्तकहरूको रचना तथा व्याख्या गर्नुभएको छ । उहाँकाले लेखेका टीकाहरूलाई श्रीभाष्य भनिन्छ भने आचार्यका अनुयायीहरू उहाँ साक्षात शेषअवतार भएको विश्वास गर्छन् ।
यी दूवै दार्शनिकहरूले वैदिक धर्म, संस्कृति, परम्परा तथा दर्शनको क्षेत्रमा विशिष्ट योगदान गरेका छन् । दार्शनिकतहमा यी दूवै गुरुहरूको विचार मिल्दैनन् तर आचार्य रामानुजले अद्वैतमतको खण्डन गर्दा “श्रीपाद“ भनेर आचार्य शङ्करलाई सम्बोधन गर्नुभएको छ । नेपालमा दूवै दार्शनिकवादका प्रसस्त अनुयायीहरू छन् र आफ्नो सम्प्रदाय तथा गुरुनिष्ठामा रहेर साधना गरिरहेका छन् । एकजना अद्वैतमार्गका विनम्र पथिक हुन् भने अर्का भक्तिमार्गका विशिष्ट साधक । ज्ञान र भक्तिको यो संयोगले नेपाल धन्य भएको छ । नेपालमा दूवै आचार्यहरूले स्थापित गरेको गुरुपरम्परामा आश्रित अनेकौं मठ,मन्दिर, गुरुकुलहरू र धर्मशालाहरू छन् । जसले नेपाल र भारतमा सनातनधर्मको जग बलियो बनाएका छन् ।
आज नेपाली समाजलाई जातीय, भौगोलिक तथा भाषिकआधारमा विभाजित गर्ने काम हुँदैगर्दा सनातनीहरू आफैमा पनि शैव–शाक्त, वैष्णव–गैर वैष्णव, हिंसक–अहिंसकका विभाजित भएर कुरा गर्नु उचित हुँदैन । वैदिक संस्कृतिले आ–आफ्नो गुरू परम्परामा आस्था राख्ने पूर्ण अनुमति दिन्छ, आफ्नो परम्परा मान्ने स्वतन्त्रता दिन्छ तर अर्कोको आलोचना गर्ने स्वतन्त्रता दिंदैन । त्यसैले आदिशक्ति पार्वतीको देश, श्रीपशुपतिको देश र मुक्तिनाथको देश नेपालका हामी आ––आफ्नो गुरु परम्पराअनुसार आध्यात्मिक साधना गर्दै सनातन धर्मको रक्षा तथा चहुर्दिश देशको विकासमा लागौं । आचार्यद्वयको तपोवलको आशिर्वाद हामी सबैसंग छ ।
यही सहृदयता, यही संदेश सनातन धर्मको आत्मा हो । दूवै आचार्यहरूको जयहोस् ।

प्रतिक्रिया