कसम भाइ ! रेल देखाउन चुनावपछि आइज !


कसम भाइ ! भोट माग्न चाहिँ चुनावपछि आइज
कसम भाइ ! तेल घस्न चुनावपछि आइज

चाहिएको छैन अहिले, नगर, लैजा त्यो नमस्ते
कसम भाइ ! गर्ने भए चुनावपछि आइज !

पुराना ती कसमलाइै नै राख्ने ठाउँ छैन यहाँ
कसम भाइ ! नयाँ बेच्न चुनावपछि आइज !

सल्ले वनको बानरको नाच हेर्ने फुर्सद छैन
कसम भाइ ! तँ नाच्न चुनावपछि आइज !

मल नपाउने लाइनमा छु, गोडा उता लाइनमै छन्
कसम भाइ ! गोडा मिच्न चुनावपछि आइज !

आफ्नै छोरीले लेखेको रेल हेर्न भ्याको छैन
कसम भाइ ! रेल देखाउन चुनावपछि आइज !

च्यातिएका गाउँलेका कुममा टालो हाल्दैछु म
तेरो नोटलाई कोट छेकाउन चुनावपछि आइज !

अर्जुन पराजुली ।