कसरी पाउनुभयो पुरस्कार, खेतालो लाउनुभो कि आफैंले भनेर ?!


किनेर पाउनुभयो कि चिनेर ?!
कि बढाबढमा मोल छिनेर ?!
कसरी पाउनुभो पुरस्कार ?!
कि मर्निङवाकमा सँगै हिँडेर ?!

साटेर पाउनुभयो कि चाटेर ?!
कर्दले कुरा कसको काटेर ?!
कसरी पाउनुभयो पुरस्कार ?!
कि मान्छे- मान्छेको डोरी बाटेर ?!

बिनेर कि बिहेको मसलै पिनेर ?!
कि मदिराको कामकुरो मात्रै छिनेर ?!
कसरी पाउनुभयो पुरस्कार ?!
कि सँगै पिएका थोपा-थोपा गिनेर ?!

जोतेर खेत दाताको कि खनेर ?!
उधारोमा कि नगद खनखनी गनेर ?!
कसरी पाउनुभयो पुरस्कार ?!
खेतालो लाउनुभो कि आफैंले भनेर ?!

अर्जुन पराजुली ।