रापिलो जिन्दगी
रापिलो जिन्दगी
सुर्यको प्रकाशको न्यानोपन
चन्द्रको कान्तिको कोमलता
हावाको मन्द बेगमा
रुखका पातहरुले
जीवन सुगन्ध बताइरहँदा
आँधीको बेगसँगैको चट्यांगले
जिन्दगी तर्साइदिन्छ …
सरल जीवनको आकांक्षामा
पूजा र प्रार्थना गरेपछि
आकाशबाट एउटा मधुर आवाज आयो –
याद गर त
तिम्रै बिज्ञानको मापन –
पानी एकसय डिग्री सेल्सियसमा उम्लिन्छ
बाफ बनेर बिलाउँदछ
दूध एकसय डिग्रीमा उम्लिन्छ
कुराउनी बनेर सकिन्छ
तामा पच्चीस सय बैसट्ठी डिग्रीमा
चाँदी एक्काइस सय बैसट्ठी डिग्रीमा
सुन सत्ताइस सय डिग्री सेल्सियसमा उम्लिन्छ
हिरा चार हजार सत्ताइस डिग्रीमा पग्लिन्छ
तामाको टलक, चाँदीको चमक, सुनको उज्यालो,
हिराको जगमगाहट
सबै अग्निमा जलेर पूर्ण भएका हुन् …
पृथ्वी हुँडलिएर ज्वालामुखी फुट्दा
धर्तीभित्रको हिरा लिएर निस्कन्छ
बायु मडारिएर आँधी आउँदा
बायुमण्डलका दुषित कण बढारेर लान्छ
बादल गर्जिएर बर्षात हुँदा
प्रकृतिलाई हराभरा पारी नवीनता दिन्छ
जीवनको हरेक मोड
जीवन मूल्य बढाउन आएको हुन्छ …
सरल र तरल जीवन
बाफ बनेर बिलाइदिन्छ …
तर
चम्किनका लागि
अग्नि ज्वालाबाट निस्केको लप्काले
सारा अस्तित्व हुँडल्नै पर्दछ नि
तिम्रो सरल जीवनको प्रार्थना
सुन्दैन नियतिले
तिम्रो जीवनको मार्ग
तिम्रो हातमा होइन
नियतिको हातमा छ
राप र ताप त्यही नियतिले दिन्छ
त्यही नियतिले
भोकै राख्दछ
जमिनमा पनि सुताउँछ
हेलाँ र अपमानको चोट दिएर
आहत बनाउँछ
निराश र थकित बनाएर
लम्पसार पल्टाउँछ
जीवनऊर्जा नै सकियो कि भन्दै
आफैलाई चिमोट्ने बनाउँछ …
म मौन भई सुनिरहेँ
जीवन ऊर्जा जागृत हुँदै गयो
शरीरमा अग्नि ज्वाला बढ्दै गयो
बिस्तारै आकाशबाणी मलिन भयो
आकाशतर्फ नियाल्दै
जीवन नेपथ्यमा बसेर मुस्कारहेँ …
डा. प्रदीप ढकाल ।