देशभन्दा अग्लो भ्युटावर नै बनिसकेपछि, देश बन्नु किन पर्यो ?!


आँगनमा निस्केर छिमेकीले सुन्नेगरी
धारामा पानी आएन किन भन्नुपर्यो ?!

ऋणको व्याज कति लाग्यो भन्दै
दिनका दिन औंला भाँचेर गन्नु किन पर्यो ?

बिरामी हुँदा सिटामोल पाइन,
पाइएन त पाइएन, भन्नु किन पर्यो ?!

खेती लाउने बेलामा मल पाइँदैन
सबैलाई थाहा छ, बढी जान्ने बन्नु किन पर्यो ?!

नेताले आफन्तलाई बनायो त बनायो
आफैंले बनाएको नेता हैन ?! बनायो भन्नु किन पर्यो ?!

देशभन्दा अग्लो भ्युटावर नै बनिसकेपछि
देश बन्नु किन पर्यो ?!

अर्जुन पराजुली ।