निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः स्वदेशमै मल कारखानाजस्ता सरकारका प्राथमिकताका क्षेत्रमा लगानी गर्नुस्



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा खाद्यान्न सङ्कट र कठ्याङ्ग्रिदो चिसो बढेका बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगान नागरिकलाई सहयोग गरेकामा निजी क्षेत्रलाई धन्यवाद दिएका छन् ।

अफगान नागरिकहरुलाई यही माघ २ गते नेपालका तर्फबाट मानवीय सहयोग सामग्री हस्तान्तरण गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँग मंगलबार भएको भेटमा प्रधानमन्त्रीले भने, “अफगानिस्तानमा चरम सङ्कट छ, त्यसमा संयुक्त राष्ट्रसङ्घले मानवीय सहायता सामग्री चाहियो भनेर आह्वान गर्दा नेपालका सबै उद्योगीहरुले मद्दत गर्नुभयो, सबैलाई धन्यवाद छ ।”

साथै उनले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले निजी क्षेत्रलाई स्वदेशमै मल कारखानाजस्ता सरकारका प्राथमिकताका क्षेत्रमा लगानी गर्न आग्रह गर्दै त्यसमा सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

उनले सरकारले सदैव निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको धारणा व्यक्त गर्दै निजी क्षेत्रका लगानीमा सरकारका तर्फबाट सक्दो सहयोग र समन्वय हुने उल्लेख गरे । प्रधानमन्त्री देउवाले मुलुक अहिले पुनः कोरोना भाइरसको सङ्क्रमणबाट आक्रान्त बनेको भन्दै सबैले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर यसबाट जोगिनुपर्ने बताए ।

उनले कोरोनाविरुद्धको खोप सरकारको पहिलो प्राथमिकतामा रहेको बताउँदै सबैलाई खोप लगाएर कोरोनाबाट सुरक्षित रहन आग्रहसमेत गरे । कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्काले नेपालले पहिलोपटक विमान चार्टर गरेर मित्रराष्ट्रलाई सहयोग गर्न पाएकोमा खुुुसी व्यक्त गर्दै यसले नेपालले सदैव सहयोग लिने मात्र नभई आवश्यक परेका बेला अन्य राष्ट्रलाई सहयोग गर्न पनि सक्छ भन्ने सन्देश प्रवाह भएको बताए ।

सार्कको सदस्य राष्ट्रसमेत रहेको अफगानिस्तानमा तालिबानीहरुले सत्ता लिएपछिको मानवीय सङ्कटका बारेमा मिडियामार्फत जानकारी पाएपछि आफूले विभिन्न मुलुकका राजदूत र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग कूटनीतिक माध्यमबाट समन्वय गरी उक्त अभियान अघि बढाएको र सफल भएको उनले उल्लेख गरे ।

कार्यक्रममा नेपालस्थित अवैतनिक महावाणिज्यदूतहरुको सङ्घका प्रमुख लोकमान्य गोल्छा, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवाल, हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले आफूहरुले मुलुकमा आइपर्ने विपद् र अन्य सामाजिक उत्तरदायित्यका कार्यमा सहयोग गर्दै आएको उल्लेख गर्दै निजी क्षेत्रका व्यवसायमा सरकारले आवश्यक समन्वय गरी प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए ।

सरकारले यही माघ २ गते अफगानिस्तानका जनताका लागि नेपाली जनताका तर्फबाट हिमालय एयरलाइन्सको चार्टर्ड विमानमार्फत मानवीय राहत सामग्री हस्तान्तरण गरेको थियो । नेपालको परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालले अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको संयुक्त राष्ट्रसङ्घका महासचिवका उपविशेष प्रतिनिधि डा रामिज अलकबारोभलाई सो सामग्री हस्तान्तरण गरेका थिए ।

परराष्ट्रमन्त्री डा खड्काको पहलमा नेपाल सरकारले औषधि, लत्ताकपडा र घरायसी सामानसहित करिब १४ टन मानवीय सहायता सामग्री चार्टर्ड विमानमार्फत अफगानिस्तान पठाएको थियो । नेपालका तर्फबाट उक्त सामग्री नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, नेपालस्थित अवैतनिक महावाणिज्यदूतहरु, अग्रवाल सेवा केन्द्र, हिमालय एयरलाइन्सलगायत निजी क्षेत्रका सङ्घसंस्था लगायतले सहयोग गरेका थिए ।

हिमालय एअरलाइन्सले उक्त सामग्री पुर्याउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुुल्क कार्गो उडान भरेको थियो । सामग्री हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयका पदाधिकारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र अवैतनिक महावाणिज्यदूत गरी १५ सदस्यीय टोली अफगानिस्तान गएको थियो । अफगानिस्तानमा पछिल्लो समय आर्थिक कठिनाइ र कठोर जाडो मौसमले त्यहाँका जनतालाई अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहायता र समर्थनको आवश्यकता छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया