‘ओलीले चोलेन्द्र समशेरलाई लगाएको भाग दुनियाँले देखेको थियो, तर त्यसलाई सहज र स्वाभाविक मानियो’



केशवप्रसाद भट्टराई ।
१. मैले शेरबहादुर देउवालाई नभेटेको धेरै वर्ष भयो ।
त्यसैले हिजोआजका शेरबहादुर देउवा कस्ता छन् – मलाई थाहा छैन ।
तर जुनस्तरमा उनका आलोचकहरू उनको विरोध गरिरहेका छन्–त्यसमा धेरै अतिशयोक्ति छ र अतिरन्जना छ ।
आफ्ना राजनीतिक स्वार्थ र महत्वाकांक्षामा उनको सहयोग र समर्थन नपाएका तर वाक् चातुर्य भएका पार्टी भित्रका उनका विरोधीहरू,
पार्टी बाहिरका उनका वाकपटु विरोधीहरूले स्वार्थबस गरेका उनका विरोध र आलोचनाहरूलाई चिर्ने क्षमता न शेरबहादुर सँग रह्यो न उनका निकट सहयोगीहरूमा ।
त्यसैले उनको विरोध र आलोचना एकतर्फीरूपमा बाहिर आइरह्यो ।
–––––
उनी सरल छन्, भित्रका कप्टी पनि होइनन् ।
निर्णय क्षमता नभएका पनि होइनन् ।
हो, आदर्शवादी राजनीतिज्ञ होइनन् – व्यवहारिक र यथार्थवादी हुन् ।
वस्तुगत आवश्यकताले मागेको बाटो हिड्न अप्ठ्यारो मान्दैनन् –– त्यसलाई अवशरवादीता भन्न सकिएला ।
हो , राडीमा सातु मुछेपछि त्यो सातु खान घिनाउदैनन् ।
अरू लुकेर जे गर्छन्–उनी हाकाहाकी ।
दोहोरो मानदण्डका होइनन् उनी ।

२. सन्तुलित र सही आलोचना सुन्न र ग्रहण गर्न सक्छन् – त्यस्तो गुण गिरिजाप्रसाद कोइरालामा अति विशिष्ट स्तरमा थियो ।
आलोचनालाई शिक्षा र अवशर मान्ने त त गिरिजा र वीपी मात्रै हुन् , तर वीपीको व्यक्तित्वको वजन र ओजले उनको अगाडि आलोचना कसैले गर्ने सक्दैनथ्यो ।

काम नगर्ने र नगरेका होइनन् ,
तर उनले गरेका काम सार्वजनिक जानकारीमा ल्याइदिने र त्यसको प्रचार गरिदिने संयन्त्र उनले विकास गर्न सकेका छैनन् ।
कम्युनिकेटिभ छैनन्–त्यसले पनि उनलाई आम जनता माझ उनलाई पुग्न सहयोग गरेको छैन ।
आग्रह राखेर गरेको आलोचना सुन्ने सामर्थ्य छैन–उनीसँग ।
झनक्क रिसाउँछन् ,त्यस्तोमा सन्तुलन र संयम राखेको देखिन्न ।
त्यो अवगुण उनमा छ !
एउटा कुरा – कसैको छोरा, छोरी, भाइ –भतिजा वा नातेदारको लाभ पाएर उनी राजनीतिको शीर्षस्थ स्थानमा आइपुगेका होइनन ।
कसैको कृपा पाएर पनि होइन ।
त्यसैले बाबु –बाजेको पाला देखिको पारिवारिक –सामाजिक राजनीतिक सञ्जाल, सहयोग र समर्थन छैन उनीसँग ।
कुनै मिडियाले, कुनै वाह्य शक्तिले, कुनै नागरिक समाजले बोकेर–उचालिदिएर उनी जनता माझ चिनिएका होइनन् ।
सुदुर पश्चिमको एउटा दुर्गम जिल्लाबाट अत्यन्त विपरित परिस्थितिहरूसँग जुध्दै, लड्दै, भिड्दै पाइला पाइला गर्दै, सङ्घर्ष र बलिदान गर्दै यो स्थितिमा आइपुगेका हुन् ।
सेल्फमेड राजनीतिज्ञ हुन् ।
बाबुबाजेले कमाएर राखिदिएको समर्थन र सहयोगी सञ्जालको बल र भर उनीसँग छैन ।
जे छ , आफ्नै हुती र पौरखको बलमा छ !
शिखरमा देखिएपछि विश्वले उनलाई अँगालो हाल्न थालेको हो र त्यो हरेकको हकमा लागू हुन्छ ।

३ . मलाई लाग्छ, सर्वोच्च अदालतको आदेशबाट आफू प्रधानमन्त्री हुनुपरेको,
तीन महिना सम्म सरकार गठन गर्नै नसकेको,
पाइलैपिच्छे प्रचण्ड,माधव नेपाल र उपेन्द्र यादवलाई गुहारेर सरकार चलाउनु परेको अवस्थाबाट उनी खुशी छैनन् ।
जीवनभर आफूले बोकेको प्रजातान्त्रिक मूल्य र मान्यता प्रतिकूलका राज्य अभ्यासहरूको कर्ता र साक्षीहुनुपरेको पीडा उनमा छैन भन्ने लाग्दैन ।
आफैँ र आफ्ना चुनावी समूह विरूद्ध चुनाव लडेर पराजितभएका सवैलाई उनले पार्टीमा उच्च मर्यादा र सम्मान दिएर राखे तर त्यो सम्मान र मर्यादालाई अवमूल्यन गरेर सो मिति देखिनै उनको खोइरो खन्नेहरूले पाइलै पिच्छे उनलाई छिर्के हाल्न थालेका हुन् नी, झन्डै प्रचण्ड र माधव नेपालको ओली विरुद्धको शैलीमा ।
पार्टीका हरेक निर्णयमा सहभागी हुने, पार्टीलाई उपलव्ध हरेक अवशरमा लाभ लिने तर पार्टीका कार्य र निर्णयको अपजसको दायित्व नलिने र त्यो सवैको लागि देउवालाई निरन्तर जिम्मेवार देखाउने प्रयास अहोरात्र गरिरहँदा र देउवा पक्षले त्यसको प्रतिकार गर्न नसक्दा उनी पार्टी पङ्क्तिमा अलोकप्रिय देखिन्छन् ।

४. देउवा प्रधानमन्त्री हुन इच्छुक थिएनन् , त्यो अनिच्छा विरूद्ध पार्टी भित्र र बाहिरबाट निरन्तर दवाव र आलोचना आएपछि उनी सरकारको नेतृत्वमा आए ।
तर जुन विधिबाट आए त्यो विधि गलत हो भन्ने उनले बुझेका छन् ।
त्यसैले जतिसक्यो चाँडो चुनाव गराएर राजनीतिक र संवैधानिक वैधता प्राप्त गरेर प्रधानमन्त्री हुने र त्यो भन्दा अघि पार्टीलाई बहुमतको सरकार दिने हैसियतमा पुर्याउने दायित्व हो उनको !
त्यसलाई कसरी बुझेका छन् उनले थाहा छैन ।
अर्को कुरा, ओलीले पनि चोलेन्द्र समशेरलाई अवसरहरुमा भाग नलगाएका होइनन् -ओलीले चोलेन्द्र समशेरलाई लगाएको भाग दुनियाँले देखेको थियो तर त्यसलाई सहज र स्वाभाविक मानियो,
तर हमाल नियुक्तिले मुलुकलाई तरंगित बनायो ।
विरोध भयो, आलोचना भयो , देउवा र हमाल दुवै पछि हटे ।
यही हो फरक !

५. अन्त्यमा देउवा, पौडेल वा ओलीलाई कृपा गरेर चुनाव नलडि देऊ, हामीलाई सभापति वा अध्यक्ष बकसमा देऊ, हाम्रो शिरमा श्रीपेच राखिदेऊ, हाम्रो अभिभावक भएर , संरक्षक भएर बसिदेऊ, पिता महाराज होइदेऊ भनेर सजिलो र सस्तो, हुतिहारा राजनीति गर्नेहरू युवा होइनन् ।
ती विचार र उत्साहले देउवा,ओली र पौडेल भन्दा पाका हुन् !
पार्टीको चुनावमा पराजित भयौँ भने त्यसपछिको अर्को अधिवेशनसम्म हामी पार्टीको कुनै पदमा र अन्य कुनै अवशरमा हामी आउने छैनौ, भाग माग्ने छैनौ भन्ने सार्वजनिक घोषणा गरेर पार्टीको चुनावमा देउवा र पौडेल विरूद्ध लड्ने हुती राख्नेहरू पो हुन् युवा !
चुनाव जिते चिताएको पद र चुनाव हारे पनि कम्तीमा केन्द्रिय सदस्य, वरिष्ट नेता अनि पार्टी र सरकारमा सधैँ भाग–बन्डाको झगडा अनि त्यसको नाऊ मूल्य र मान्यताको राजनीति, विचार र निष्ठाको राजनीति !
दुवै हातमा लड्डु राखेर चुनाव लड्नेका ––––– !

६. ब्याक च्यानल पोलिटिकल डायलग गर्नमा ओलीले पनि उत्साह र तदारूकता देखाएमा मंसिरमा पार्टीको महाधिवेशन पछि देउवा बैशाखमा चुनाव गर्ने निर्णयमा पुग्न सक्छन् ।
त्यो नै यो राजनीतिक अन्यौल र गतिहीनताको एक मात्र उपाय हो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता