कारबाही रोक्न माग गर्दै एमालेका १४ सांसदले दिए संसद् सचिवालयमा निवेदन
काठमाडौं । नेकपा एमालेका १४ सांसदले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाहीअनुसार आफूहरुलाई पदमुक्त नगर्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् ।
१४ सांसदको संयुक्त पत्र लिएर विरोध खतिवडा र जीवनराम श्रेष्ठ संसद सचिवालय गएका हुन् । वरिष्ठ नेता माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरीलाई सांसद पदबाट हटाउन भन्दै एमालेले पत्र पठाएको थियो ।
नेकपा एमालेले ह्विप उल्लंघन गरेको भन्दै वरिष्ठ नेता नेपालसहित १४ जनामाथि पार्टीले कारबाही गरेको जानकारी संसद सचिवालयमा मंगलबार दिएको थियो ।
१४ सांसदको पत्रमा ‘२०७८–०५–०१ गते नेकपा एमाले संघीय संसदीय दलको कार्यालयले संघीय संसद् सचिवालयलाई लेखेको पत्र अवैधानिक र दुरासयपूर्ण रहेकाले सो पत्रको आधारमा कुनै कारवाही अगाडि नबढाउन, सूचना प्रकाशित नगर्न र निर्वाचन आयोगमा जानकारी नगराउन हार्दिक अनुरोध गर्दछौँ ।”
त्यसैगरी, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने क्रममा कुनै प्रकारको ह्विप जारी नभएको जिकिर निवेदनमा गरिएको छ ।