देउवाविरुद्ध मोर्चाबन्दी गर्दै विमलेन्द्र, शशांक र प्रकाशमान


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा नेताहरूले भेटवार्तालाई तीव्र बनाउन थालेका छन् । यसैक्रममा आगामी महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच सोमार निधिको निवासमा छलफल भएको छ ।

कांग्रेसमा नेतृत्व परिवर्तनको बहस चलाएका नेतात्रयबीच आगामी महाधिवेशनको विषयमा छलफल भएको बताइएको छ । निधिका प्रेस सल्लाहकार रामजी दाहालले तीन नेताबीच आसन्न महाधिवेशनलगायत समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘नेपाली कांग्रेसको १४ औं महाधिवेशन लगायत समसामयिक बिषयमा नेपाली कांग्रेसका संस्थापक नेतात्रय बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका सुपुत्रहरू डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच निधि निवास बानेश्वरमा आज लञ्च मिटिङमा छलफल भएको छ।’

सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पुनः सभापतिमा उठ्ने बताइरहेका बेला निधि, कोइराला र सिंहको सोमबारको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । यसैबीच सभापति देवाले केही दिनदेखि विभिन्न प्रदेशका पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन् । देउवाले आफू फेरि सभापतिमा उठ्ने र त्यसका लागि सहयोग गर्न आग्रह गरेका छन् ।