स्थानीय तहका १४ जनप्रतिनिधिलाई पार्टीबाट निस्कासित गर्ने माओवादीको निर्णय


काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिलाई कारबाही गर्दै पार्टीबाट निस्कासित गरेको छ ।

सोमबार बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले तत्कालीन माओवादीबाट निर्वाचित भएका तर अहिले एमालेमा प्रवेश गरेका उनीहरूलाई कारबाही गरेको हो । यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

यसअघि अध्यक्षले कारबाही गरेको विषयालाई निर्वाचन आयोगले नमानेपछि केन्द्रीय कमिटीको बैठक बसेर निर्णय गरेको नेता लिलामिण पोखरेलले जानकारी दिए । पार्टीबाट निस्कासन गरिएका नेताहरुकोबारेमा दल त्यागको सूचना निर्वाचन आयोगले प्रकाशित नगरेको भन्दै आइतबार माओवादी केन्द्रका नेताहरुले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका थिए ।