कोरोना नियन्त्रणमा सरकार आफैं ‘सिरियस’ छैन भन्ने स्पष्ट छ



नारायण गाउँले ।

आत्तिएर त झन केही हुँदैन, तर कोभिड़को बढ्दो लहरबाट हदैसम्मको सतर्कता जरूरी छ । खासगरी कोभिड़ भनेको सामान्य रुघाखोकी मात्रै हो भन्नेहरूबाट सतर्क रहनुहोला !

रातदिन जनस्वास्थ्यबारे सोच्ने सरकार र पर्याप्त स्वास्थ्य पूर्वाधार भएका देशमा समेत यो नियन्त्रणबाहिर छ । हामी कहाँको अवस्था तपाईंहरूलाई थाहै छ ।

दोस्रो लहर विश्वभर झन बढ़ी घातक बनेर आएको छ । लामो समय र विश्वभर फैलिएकाले स्वाभाविक रूपमा भाइरस उत्परिवर्तन भएर शक्तिशाली भएको छ । नियन्त्रणमा लिन जति बढ़ी समय लाग्छ, भाइरसको प्रकार र सङ्क्रमणशीलता झन बढ्दै जाने डर हुन्छ ।
नेपाल र यहाँको सामाजिक जीवन अन्य देशभन्दा अलि फरक छ । कोभिड़अघिको तथ्याङ्क अनुसार लण्डनको भूमिगत मेट्रो ट्रेनले मात्रै बर्सेनि सवा अर्ब यात्रीलाई ओसारपसार गर्छ । यो भनेको दैनिक पचास लाखको सङ्ख्या हो । काठमाडौंको कुल जनसङ्ख्याभन्दा धेरै मान्छे त एक दिनमैं लण्डनको भूमिगत मेट्रोमा ओहोर-दोहोर गर्ने रहेछन् । संसारकै व्यस्तमध्येको हीथ्रो एअरपोर्टबाट बर्सेनि आठ करोड़ यात्रु आवतजावत गर्छन् । सुपरमार्केटको किनमेल होस् या कामको लागि सार्वजनिक सवारी साधन होस्, यहाँको जनजीवन नै एकआपसमा नठोक्किई नचल्ने खालको छ । हाम्रो देशको जनसङ्ख्या जति त वार्षिक पर्यटक नै तान्ने धेरै आकर्षण-केन्द्रहरू छन् । एउटा गाउँको जनसङ्ख्या जति त एउटै बिल्डिङ्मा काम गर्छन् । यसले महामारीलाई भूसको आगोजस्तै फैल्याउन मद्दत गर्छ । भारतकै नयाँ दिल्लीलाई हेर्ने हो भने पनि सामान्य अवस्थामा झन्डै पचास लाख यात्रीले दैनिक दिल्ली मेट्रो प्रयोग गर्ने रहेछन् । लण्डन र दिल्ली भन्दा संसारमा व्यस्त र भिड़भाड़ हुने धेरै शहर छन् ।

सौभाग्यवश हाम्रो जीवनशैली अलिकति फरक छ । हाम्रो दैनिक जीवन धेरै जसो खुला आकाश र स्वच्छ हावामा बित्छ । एक त पर्यटक नै नगण्य आउँछन्, त्यसैमा पनि विदेशी पर्यटकले कमैमात्र सार्वजनिक सवारी प्रयोग गर्छन् । तिनीहरूसँग हामी घुलमिल हुने अवस्था खासै हुँदैन । विदेशमा जस्तो हाम्रो वृद्ध पुस्ता कुनै एउटा नर्सिंग होममा प्याक भएर बस्दैन, जहाँ भाइरसको एउटा झिल्को पसोस् र डढेलो बनेर निस्कोस् । कसैको घर भेट्न जाँदा पनि आँगन या चौरमा क़ुर्चीमा अलग अलग बस्ने हाम्रो संस्कार छ । देश अझै पनि दुर्गम छ । जहाँ जति थोरै स्वास्थ्यपूर्वाधार छ, त्यहाँ बाहिरसँगको सम्बन्ध पनि त्यत्ति नै कम भएकाले महामारी फैलिने डर पनि कम छ ।

नेपालमा छिमेकी भारत या युरोपमा जस्तो सङ्क्रमणदर पक्कै हुँदैन । सङ्क्रमणको चेन प्राकृतिक रूपमैं कमजोर देखिन्छ । यस्तो अवस्थामा सङ्क्रमण नियन्त्रण गर्न पनि उत्तिकै सजिलो हुन्छ ।
यस्को अर्थ यो महामारीलाई हलुका रूपमा लिनुपर्छ भन्नेचाहिँ कत्ति पनि होइन । तर अलिकति तैयारी, अलिकति सतर्कता र अलिकति सही सूचना हुने हो भने यो लडाइँ लड्नु धेरै सजिलो हुनेछ ।

हामीकहाँ अन्य देशमा कोरोना भाइरस देखिने बेला चितवनलगायतका ठाउँमा लाखौं खर्चेर कोरोना अस्पताल बने । तर जब देशमैं कोरोना पस्यो, ती अस्पताल कुनै न कुनै बहाना देखाएर बन्द भए । झन बढ़ी खुल्नुपर्ने निजी हस्पिटलका ढोका बन्द भए । कैयौं बिरामीको एम्बुलेन्समैं मृत्यु भयो । मृत्यु हुनेमा हाम्रा आफन्त नपरेकाले हामीलाई छोएन । त्यसै पनि देशको मुद्दा पार्टी एकीकरण र विभाजन थियो । अरूले के छुन्थ्यो र ? चीनका विद्यार्थी प्लेन चढेर आए, भारतका मजदुर तीन हप्ता हिँडेर सीमासम्म त आए, तर अरू छोडम्, आमाको चितामा दागबत्ती दिनसमेत देश छिर्न पाएनन् । अरबको खाड़ी लगायत विदेशी भूमिमा महिनौं अलपत्र मजदुर र उद्धारको नाममा तेब्बर भाड़ा असुलिएका घटना अरूले बिर्से पनि भोग्नेहरूको मनमा ताजै होला ।

यो दोस्रो लहरले गाउँभन्दा शहरलाई बढ़ी छुनेछ । पर्याप्त अक्सिजन र भेन्टिलेटरमात्रै हुने हो भने पनि धेरै जीवन बचाउन सकिने रहेछ भन्ने अनुभव विश्वको छ । भारतमा अक्सिजनको अभाव देखिई सकेको छ । छिमेकको यो भयावह अवस्थाबाट शिक्षा लिएर सरकारले पूर्व तैयारी सुरु गरेजस्तो देखिन्न ।

राजनैतिक बेइमानी हाम्रो सबैभन्दा ठूलो समस्या हो । हप्तौंअघि राजधानीका स्थानीय जात्रा रोक्न खोज्ने तर आफ्नो स्वार्थ र ईगो गाँसिएका जात्रा र यात्राचाहिँ आफैले उद्घाटन गर्ने उदाहरण हाम्रै देशमा मात्र देख्न पाइन्छ । यसले आम नागरिकलाई नीतिनियमको अवज्ञा गर्न उत्प्रेरित त गर्छ नै, सरकार आफै सीरियस छैन भन्ने पनि देखाउँछ ।

अन्तिममा भोग्नुपर्ने तपाईंले हो । त्यसैले तपाईंले जे गर्न सक्नुहुन्छ, त्यत्ति चाहिँ गर्नुहोस् र सकेसम्म सुरक्षित रहनुहोस् । शुभदिन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हाम्रो पार्टी नै सरकारमा रहेकाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कुरै हुँदैनः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत

२४ करोड बिगो माग दाबी गर्दै कैलाली मालपोतका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख

संसदीय छानबिन समितिको टीओआरमा रविको नाम राख्नुपर्ने कांग्रेसको अडान, सत्तापक्ष राख्न नहुने पक्षमा

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेशबारे सत्तापक्ष र प्रतिपक्षी दलबीच सहमति जुटेको छैन

विकास पनि कस्तो ? पुल एकातिर, खोला अर्कैतिर

म्याग्दी । जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण