आक्रोशी तर विवेकी युवा नेतृत्वको अपरिहार्यता



केशवप्रसाद भट्टराई ।
१. नेपालको समस्या न भारत हो न अमेरिका हो, न चीन हो ।
नेपालमा आफ्नो राष्ट्रिय हितको रक्षा गर्ने नीति र रणनीति उनीहरूले अवलम्वन गर्दछन् क्ष्
गर्नै पर्दछ ।
नगरे उनीहरूले आफ्नो पदीय जिम्मेवारी प्रति न्यायगरेको र निष्ठा प्रमाणित गरेको बुझिन्न !
त्यो अनुचित र दण्डनीय बन्न जान्छ ।
उनीहरूसँगको सम्बन्धमा नेपालको राष्ट्रिय हित हेर्ने काम नेपालको हो ।
नेपालको सरकार, संसद, राजनीतिक नेतृत्वहरूको हो ।
उनीहरूले बुझ्नु पर्दछ नेपालको हित ।
नेपालको सरकार, संसद र राजनीतिक नेतृत्वले नबुझेको नेपालको राष्ट्रिय हित भारत, अमेरिका, चीन र बेलायतले बुझेनन् भनेर हामी उनीहरूलाई दोषी मान्छौं ।
त्यो हाम्रो कायरता हो ।
हामी कायर रह्यौँ ,
हाम्रो नेतृत्व कायर रह्यो र हामीलाई कायर बनाएर राखिरह्यो ।
हामीलाई कायरता प्रिय लाग्यो र कायर बनिरह्यौ ।
कायर बन्न रमाइलो मानिरह्यौं !
आफ्ना नेताहरूको र आफ्ना सरकारहरूको निर्लज्ज कायरताको लागि भारत, अमेरिका, बेलायत, चीनलाई दोषी देखाएर उआपÞm्ना सरकार र नेताहरूमाथि गङ्गा जल छर्की रह्यौँ !

२. जबकि नेपालको समस्या नै नेपालका राजनीतिक दलहरू हुन्
नेपाल सरकार हो !
सरकारी अङ्गहरू हुन् !
तर यिनीहरूसँग आफ्ना लागि, आफ्ना सुख सुविधा र भविष्यका लागि मात्रै सोच र योजनारहेको देखिइरहेको छ ।
लाग्दछ, मुलुक यिनीहरूको सोच, दृष्टि र प्राथमिकतामा छँदैछैन !
उनीहरू – यिनीहरूले इमान्दारीता पूर्णढङ्गले सोचिदिएको भए मात्रै पनि मुलुक अर्कै हुन्थ्यो !
मुलुकले अर्कै बाटो हिँडेको हुन्थ्यो !
तर हामी हाम्रा हरेक अभावको लागि हामी निर्धक्कसँग भारत अमेरिका आदि मुलुकलाई सरापेर बस्छौँ ।
भारत, अमेरिका, बेलायत आदि मुलुकले हेरिदिए हाम्रो हित हुने नहेरे नहुने भए हामी कसरी स्वतन्त्र र सार्वभौम मुलुक ?
अनि किन चाहिए यी सरकार, संसद, सेना र राजनीतिक दलहरू ?
यिनीहरूको उपस्थिति र अस्तित्वको औचित्य के ?

३. वृहत राष्ट्रिय हितका सवालमा एउटाको गल्ती, अभाव र कमजोरीलाई हटाउन, सच्याउन र एक अर्कोलाई परस्पर सन्तुलनमा राख्न यिनीहरूलाई राज्यले ठूलो लगानी गरेर पालेर राखेको हुन्छ ।
राष्ट्रिय हित र सुरक्षाका सवालमा धेरै मुलुकका संसदले आफैँ अध्ययन र अनुषन्धान गरेको हुन्छ ।
आफ्नो लागि काम गर्ने सहयोगी संरचनाहरू निर्माण गरेकोहुन्छ ,
थिङ्क ट्यांक बनाउँछ ,
तिनलाई बजेट उपलव्ध गराउँछ र आफ्ना लागि प्रतिवेदन तयार गराउँछ !
सेनाले त्यसै गर्दछ, गराउँछ !
तर हामी कहाँ ?

४. राणा हटाएको ७० वर्ष पुग्यो ।
पंचायत फालेको र राजाको सवै अधिकार खोसेर दलहरूले शासन गरेको पनि तीन दशक भइसक्यो !
वास्तविकरूपमा राजा हटाएको पनि डेढ दशक भइसक्यो !
पाँच हजार वर्ष पुरानो मुलुक भनेर गुड्डी हाक्ने !
कहिल्यै उपनिवेश नरहेको, पराधीन नभएको ,
सधैँ स्वतन्त्र मुलुक भनेर नथाक्ने तर हामी सँगै अस्तित्वमा आएका बेलायत , फ्रान्स, जापान, चीन त्यहाँ पुग्दा हामी ???
अमेरिका स्वतन्त्र हुनु अघि आधुनिक स्वरूपमा अस्तित्वमा आइसकेको मुलुक नेपाल !
युरोपका सवैभन्दा सुखी र समृद्ध भनेर चिनिने नर्वे, डेनमार्क आदि मुलुकका मानिस जंगलमा, गुफा कन्दराहरूमा बस्दैगर्दा विकसित सहरी जीवन बाँच्न थालिसकेको नेपाल किन यो हालतमा छ ?
युद्धबाट क्षत विक्षत जापान र कोरिया २०–३० वर्षमै उन्नतिको शिखरमा पुगेका हुन् !
त्यति नै अवधिमा एउटा सम्भावानाहीन र पछौटे माझी बस्तीको र काठमाडौँ उपत्यका भन्दा सानो सिङ्गापुर दक्षिण पूर्ब एसियाको महत्वपूर्ण आर्थिक र सैनिक शक्ति बन्यो ।
सत्र सालमा राजा महेन्द्रले हातमा सत्ता र शक्ति केन्द्रित गरेताका स्वतन्त्र भएको र तत्कालीन नेपालसँग तुलना गर्दा नेपाल भन्दा सवै आधारमा निकै पछिको तुलना गर्नै नसकिने बोत्सवाना आज नेपाल भन्दा धेरै माथि छ ।
५. अस्ती भर्खर स्वतन्त्र भएको र समस्या नै समस्याले जेलिएको, सैनिक शासन र हिँसाग्रस्त अव्यवस्थित प्रजातन्त्र वीच जेलिदै आएको गरीव, तन्नम बंगलादेश आज एउटा उदीयमान, सशक्त र भरोसालाग्दो आर्थिक शक्ति बनिसकेको छ ।
अमेरिकाले नेपाल र बङ्गलादेश लगायतका गरीव मुलुकहरूलाई सहयोग गर्ने उद्देस्यले तयारी कपडा निर्यातको विशेष सुविधा दियो ।
त्यो सुविधालाई उपयोग गरेर बंगलादेश, भियतनाम आदि मुलुकहरू विश्वकै उम्दा तयारी कपडा उत्पादक राष्ट्र बनिसके , आफ्नो अर्थतन्त्रलाई माथि उकासे !
नेपाल ?
नेपालले छ दशक भन्दा अघि शाही नेपाल वायु सेवा निगम स्थापना गर्दा आज विश्वको चर्चित वायु सेवा कम्पनी थाई एयरवेज स्थापना नै भएको थिएन,
कतार एयरवेज लगायत आजका चर्चित र विश्व भर सेवा प्रदान गर्ने एयरलाइन्सहरू तीन दशकअघि मात्रै स्थापना भएका हुन् ,
अस्ती , एक्काइसौँ सताव्दी शुरू हुनु अघि सम्म जापान, बेलायत, फ्रान्स, जर्मनी सम्म नियमित उडानमा जान्थे शाही नेपाल वायु सेवा निगम विमान ,
भरपर्दो उडान र यात्रु सेवा उत्कृष्ट थियो, विश्व भरका पर्यटकहरूको प्राथमिकतामा थियो !
आज ???

. हो गर्न सक्ने, गर्न सकिने जति राजाहरूले पनि गरेनन् !
दलहरू त झन् पत्रु भए !
मिडिया,वौद्धिक र पेशागत क्षेत्र पत्रुका पनि पत्रु !
सुरक्षा क्षेत्रले आफ्नो पहिचान नै मासिसकेको छ ।
निरंकुश शासनले पनि मुलुकलाई केही ठोस दिएको हुन्छ, आधार र संरचना दिएको हुन्छ !
अपवाद बाहेक आजका सवै समृद्ध र विकसित मुलुकहरूको विकास, समृद्धिको बलियो पूर्वाधार निरङ्कुश र स्वेच्छाचारी शासनहरुले नै निर्माण गरेका हुन्
प्रजातन्त्रले त झन् दिने नै भयो !
जनतालाई दिने व्यवस्थाको नाऊ हो प्रजातन्त्र !
जनता लुट्ने, उनीहरूको मान मर्दन गर्ने र उनीहरूलाई मुलुक र मुलुकका उपलव्धि र सम्भावना बारे निराश , हताश र लज्जित बनाउने व्यवस्था होइन प्रजातन्त्र उर्फ लोकतन्त्र !
निष्कर्षमा निरङ्कुश शासनको लाभ पनि हामीले पाएनौ !
न प्रजातान्त्रिक र लोकतान्त्रिक शासनले दिने न्युनतम लाभ नै पायौँ !

७. विगतलाई मात्रै सराप्ने,
आफ्ना सवै दोष, अभाव, कमी, कमजोरीको लागि भारत, अमेरिका, बेलायत आदि मुलुकलाई जिम्मेवार बनाएर आफू उम्किने, चोखो देखिने कायरता बोकेको नेपाली राजनीति र यिनका पछुवा सेवक शक्तिले यो देश बनाउने र देश बचाउने क्षमता राख्दैनन् !
यिनको व्यवहारबाट बारम्बार देखिन्छ, बुझिन्छ,
लज्जाका साथ अनुभव हुन्छ –– नेपाल हाम्रो आन्तरिक उर्जा र क्षमताले नभएर,
अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको भरमा मात्र बाँचेको हो !
राष्ट्रको आत्मालाई नैहत्या गरिसकेका छन् छन् यिनीहरूले !
यिनलाई बसीबसी खानका लागि,
आफ्नो पद र सुविधा टिकाउनका लागि,
जनताको नाउमा मोज मस्ती गर्न र त्यसलाई दीगो बनाउनका लागि जनतामाथि भार बनेर भार बनाएर खडा गरिएका तह तहका सरकार, तह तहका संरचना र दलहरू आज यो मुलुक र जनताकालागि कहर बनेका छन् !
दुर्भाग्य बनेका छन् !
अनि आफू माथि जनताको आक्रोश पैदा नहोस भन्ने उद्देस्यले जनस्तरमा भारत र अमेरिकाविरूद्ध भ्रम र घृणा फैलाउने र निजी र गोप्य स्तरमा भारत र अमेरिकासँग साँठ गाँठगर्ने चरम कायरता हामीले प्रदर्शन गरिरहेका छौँ !

८. अर्को कुनै देशको कृपामा जन्मिएको राष्ट्र होइन नेपाल !
उनीहरू विरूद्ध लडेर, आफ्नो एकीकरण आरम्भ गरेको हो नेपालले !
उनीहरू विरूद्ध लड्यो, कहिले जित्यो, कहिले हार्यो !
सम्झौता गर्यो,
सन्धि गर्यो !
दुनियाँको रीत भनेकै
या लडेर मुलुकको शान र मान राख !
या कूटनीतिक कौशल प्रदर्शन गरेर आफ्ना हितहरूको रक्षा गर्दै उन्नत र सुरक्षित नेपालको आधार निर्माण गर !
तर कायरतापूर्वक आफ्ना असक्षमता, अभाव र पाप हरूलाई अरूको थाप्लामा हालेर चोखो बन्न नखोज !

९ . अहिले राजनीतिमा देखिएको पुरानो पुस्ताबाट कहीँ कतै आश गर्ने ठाउँ देखिन्न !
राजनीतिमा रहेको र देखिएको नयाँ पुस्तासँग पुरानो पुस्ताको जस्तो त्याग र वलिदानको इतिहास त स्वाभाविकरूपमा छैन नै,
तर पुरानो पुस्ताका अभाव, कमी र कमजोरी भन्दा कैयौँ गुणा बढी त्यस्ता अभाव, कमी र कमजोरीहरू नयाँ पुस्तामा बढी विस्तारित भएर टाँस्सिएका देखिन्छन् क्ष्
त्यसलाई नै उनीहरूले आफ्नो व्यक्तित्व बनाएका पाइन्छन् !
इतिहास बोकेका पुराना पुस्ताको विकल्प बन्न त नयाँ पुस्ताले पुराना पुस्ताको भन्दा धेरै बढी योग्यता, क्षमता र निष्ठा प्रदर्शन गर्न सक्नु पर्दछ !
त्याग र बलिदानको इतिहास नभएका तर लोभ, पाप र क्षुद्रतामा पुरानो पुस्तालाई उछिन्ने राजनीतिको मैदानमा रहेका नयाँ पुस्ताबाट पनि आशा गर्ने ठाउँ देखिन्न ।

१०. तर फेरी विकल्प त नयाँ पुस्ता नै हो !
मुलुकको भविष्य उनीहरू नै हुन् !
देश त उनीहरुकै जिम्मामा जान्छ !
जानै पर्दछ !
देशको जिम्मा उनीहरूले नै लिनुपर्दछ ।
विकल्पहीन अवस्था हो त्यो ।
तर विकल्प दिने बाटो विभिन्न मुलुकले देखाएका छन् ।
भारतको परम्परागत राजनीतिक धारलाई चिरेर , पछाडि पारेर नरेन्द्र मोदी आए !
एउटा प्रान्तका मूख्यमन्त्रीबाट एकैचोटी भारतको प्रधानमन्त्री बन्न पुगे ।
अमित शाह आए !
विशाल भारतका अनगिन्ती विशाल समस्या र चुनौती माझ भारतमा नयाँ विश्वास जगाए !
केजरीवाल त झन् नयाँ ढङ्गले आए ,
विलक्षण काम गरिरहेका छन् !
अमेरिकामा बाराक ओबामा मार्फत नवीन अमेरिकाको छवि प्रस्तुत भयो !
युरोपका कतिपय मुलुक र न्युजिल्यान्ड लगायतका देशहरूको कुरा छोडौं ,
पाकिस्तानमा इमरान खानपनि उत्तर हुन् नेपाल लगायत धेरै मुलुकका लागि !
पुराना दलले नयाँ नेतृत्व चयन गरेर पनि सम्भावनाका नयाँ ढोका खोले भने कतै नयाँ दल र नयाँ नेतृत्व चयन गरेर पनि मुलुकहरू नयाँ गन्तव्यमा छन् ।
११. जहाँबाट सिके पनि हुन्छ , जहाँको अनुभव ग्रहण गरे पनि हुन्छ ।
तर मुलुकले नयाँ नेतृत्व मागेको छ, खोजेको छ ।
नयाँ युगको नयाँ वीपी,सुवर्ण पुष्पलाल र मदन भण्डारी मुलुकले खोजेको छ ।
मुलुकलाई वीच बाटो मै छोडेर जाने होइन, मुलुकलाई आफ्नो गन्तव्यसम्म नै पुर्याउन सक्ने,
स्थायी र सुरक्षित भविष्यसम्म नेपाललाई नेतृत्व दिन सक्ने पुराना वीपी, सुवर्ण, पुष्पलाल र भण्डारीहरूका अभावहरूबाट मुक्त नयाँ वीपी, सुवर्ण, पुष्पलाल र भण्डारी मुलुकले खोजेको हो ।
आम जनता वर्तमानसँग असन्तुष्ट छन् ,
आक्रोशित छन् ।
मुलुकबारे आम जनता अत्यन्त गम्भीर र चिन्तित छन् ।
त्यस्तो नयाँ युवा नेतृत्वले जनताको त्यस्तो रचनात्मक आक्रोश र असन्तुष्टिलाई नेतृत्व गरेकै हुनुपर्दछ ।
जनताको चिन्तालाई नेतृत्व गरेकै हुनुपर्दछ ।
जनताको विवेक, उर्जा, धैर्य र साहशको नेतृत्व गर्न सक्ने नै हुनुपर्दछ ।
मुलुकको भविष्यलाई सुन्दर र सुरक्षित बनाउन पनि एउटा लक्ष निर्दिष्ट आक्रोश, कुण्ठा रहित आक्रोश, मुलुकका सवै क्षेत्रलाई गाँजेर बसेको विद्यमान विकृति र विसंगति विरूद्ध आगो उकेल्ने आक्रोश यो मुलुकको आवश्यकता हो !
लाग्दछ, त्यो आक्रोशले मात्रै नेपाललाई भविष्य दिने सामर्थ्य राख्दछ !
त्यसकोलागि कोही जाम्बवान भए मात्रै हनुमानलाई समुद्र पार गर्ने आत्मबल र आत्म विश्वास प्राप्त हुन्छ ।
हनुमानको आन्तरिक उर्जा र क्षमता बुझ्ने विवेकी र ज्ञानी जाम्बवान बेगर हनुमानको बल, बुद्धि र पराक्रम पनि लुप्त नै रहिरहन्छ भन्ने यथार्थ पनि बुझ्नै पर्दछ ।
हामी आम जनताले जाम्बवान बन्ने सामर्थ्य निर्माण गर्यौँ भने मात्रै हामीलाई हनुमानको नेतृत्व, बल, बुद्धि र पराक्रम प्राप्त हुन्छ ।
त्यस्तो युवा नेतृत्व मुलुकले देखेन र पाएन भने मुलुकको भविष्य पनि सुरक्षित छैन !
वर्तमान विश्व व्यवस्था र हिमालको वारीपारी र वरिपरी विकसित परिवेश नेपालको पक्षमा छैन ।
त्यसलाई नेपालको पक्षमा पार्न पनि नयाँ नेतृत्व अपरिहार्य भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ सरकार गठनका लागि दलहरुलाई राष्ट्रपतिद्वारा तीन दिनको समय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ

विगतका गल्तीहरुलाई सच्याउन र पार्टी एकतालाई नखल्बल्याउन ओलीलाई माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश,

कोभिडकालमा दाम्पत्यजीवन

डा. गोविन्दशरण उपाध्याय । कोभिडले मान्छेहरूलाई घरभित्र बस्न बाध्य बनाएको छ । सधैं

बहुमतको प्रधानमन्त्री नियुक्तिको प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई देउवा, प्रचण्ड र उपेन्द्र यादवको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत लिन असफल भएपछि नयाँ