हामी त सग्लो छौं नि, केपीले त पार्टी नै फुटाउँदैछन्ः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई हटाएर छिट्टै नयाँ सरकार बन्ने बताएका छन् । बिहीबार सिन्धुलीको मुलकोटमा स्थानीयसँगको छलफलमा अध्यक्ष प्रचण्डले संसद विघटन असंवैधानिक भन्नेहरु एक ठाउँमा आएर नयाँ सरकार बनाउने बताएका हुन् । उनले त्यसका लागि छलफल सकारात्मक दिशामा अघि बढेको बताए ।
उनले भने, ‘अहिले नै धेरै भन्नु हुँदैन । फेरि अनेक नौटंकी हुन्छ । छलफल सही दिशामा अघि बढेको छ ।’ प्रतिनिधिसभा विघटन विगतमा प्राप्त उपलव्धि उल्टाउने षड्यन्त्र भएको र त्यसमा आफूहरुको जित भएको बताए । उनले भने, ‘समावेशी लोकतन्त्रलाई उल्ट्याएर एकात्मकतातिर लैजाने केपी ओलीको उद्देश्य थियो । त्यसको प्रतिवाद गरियो र त्यसलाई सफल हुन दिइएन । काठमाडौंको बौद्धिक जनमत पनि यसकाविरुद्ध उत्रियो । हामीले ठूलो ब्याटल जितेको हो । यसले नेतृत्वको हाइट बढायो । नेतृत्वले चाह्यो भने फेरि देशको नेतृत्व गर्न सक्छ भन्ने पुष्टि गर्यो ।’
कम्युनिष्ट पार्टीहरु एक भए देश विकासमा ठूलो भूमिका खेल्छ भनेर आफूले एकता गरेको भन्दै अध्यक्ष प्रचण्डले केपी ओली प्रतिक्रियावादीहरुको मतियार बनेका कारण अहिलेको अवस्था सृजना भएको बताए ।
उनले भने, ‘ पार्टी एकताका कागज पल्टाएर हेर्दा हामीले केही गल्ती गरेको देखिँदैन । समाजवादको आधार तय गर्ने विकास निर्माणका कुरा थिए । तर यहाँसम्म आउँदा के देखियो भने केपी ओली यति ठग रहेछन् कि कुरै नगर्नुस् । हस्ताक्षर गर्ने पालना नगर्ने । फकाएर हुन्छ कि पार्टी फुट्दैन भनेर अनेक गरियो । तर उनले विदेशी प्रतिक्रियावादीसँग मिलेर संविधान र संघीयता खाने काम गरे । माओवादीले स्थापित गरेका समावेशीता, संघीयता सक्ने उनको योजना रहेछ । यसका लागि प्रचण्डलाई सिध्याएपछि सबै सकिन्छ भन्ने भयो । त्यसपछि मैले १९ पेजको दस्तावेज लेखेको हो । १९ पेजको दस्तावेजको वम हानेको ओलीलाई । त्यसपछि उनले सदन भंग गरेर मलाई जनप्रतिनिधि संस्थामाथि वम हानेर मलाई जवाफ दिएका हुन् ।’
अध्यक्ष प्रचण्डले एक भइसकेका पार्टी फुटाउने काम सर्वोच्चले गरेको भन्दै आपत्ति जनाए । उनले सर्वोच्चको फैसला पुनरावलोकनका लागि एक दुई दिनमा अदालत जाने बताए । एमाले र माओवादी पूर्ववत अवस्थामा फर्केपछि केपी ओलीलाई छटपटी परेको बताए ।
उनले भने, केपीलाई के परेछ भने अब उनलाई माधवजीहरु आउँदैनन् भन्ने परेको रैछ । माधवजीहरु गइदिएपछि फेरि आए झमेला गर्ने भन्ने परेछ र फागुन २८ मा सबैको जिम्मेवारी खोसेर अनेक गरिरहेका छन् । उहाँहरु एकताकै निम्ति अघि बढ्नुहुन्छ । उहाँहरु एकताकै पक्षमा हुनुहुन्छ । त्यहाँ भित्र संघर्ष गरेर यो काम गर्नुहुन्छ ।’
उनले अब देशमा राजनीतिक स्थायीत्व र विकास चाहिन्छ भनेर नै मैले कम्युनिष्ट एकता गरौं भनेर आफूले प्रस्ताव गरेको उनले बताए ।
उनले भने, ‘केपीले गरेको होइन । एकता गरौं भने जनताले बहुमत दिन्छन् र त्यसपछि धेरै गर्न सकिन्छ भनेर गठनबन्धन गरी चुनाव जितियो । जनता सबै खुसी भए । अब चाहिँ केही हुन्छ भन्ने भयो । प्रतिक्रियावादीहरु रिसाए अझ मसँग बढी रिसाए । उनीहरुको उद्देश्य संविधान नबनोस् भन्ने थियो तर मैले संविधनसभाबाट संविधान बनाउनुपर्छ भनेर बनाइयो पनि । अनि चुनाव पनि नहोस् भन्ने उनीहरुको चाहना थियो मलाई चुनाव ६ महिना रोक्नुस् भन्ने ठूलो दवाव थियो । उनीहरुको दाउ देशलाई भूमरिमा पार्ने थियो । मधेशलाई पनि चुनाव ल्याएँ । जे भनेपनि मान्दैन भन्ने उनीहरुलाई थियो । त्यो रिस अहिले देखियो । एकताका कागज पल्टाएर हेर्दा हामीले केही गल्ती गरेको देखिँदैन ।’
संसद विघटन गरी प्रतिगमनतर्फ देशलाई लैजान खोज्दा केपी ओली नराम्ररी पछारिएका उनले बताए ।
उनले भने, ‘ प्रतिगमनविरुद्ध प्रतिवाद भयो र केपी पछारिए छटपटाइरहेका थिए । हामी चाहिँ कस्तो भएछौं भने ठूलो लडाइँ जितेर रिल्याक्स जस्तो भयो । तर सर्वोच्चले फेरि हान्यो पार्टी फुटाइदिएर पहिलाको ठाउँमा पुर्यायो । टाउकोमा हाने जस्तो भएको छ । मुख्य लडाइँ त जित्यौं । जन्मिसकेको बच्चालाई फेरि आमाको गर्भभित्र हाल्दिएजस्तो भयो । त्यो फैसला सही छैन असहमति छ ।’
उनको प्रश्न थियो, ‘एकता गरेर नराम्रो भएको थिएन तर अदालतले उल्टो गरिदिएपछि त के लाग्छ ?’ उनले सर्वोच्चले पार्टीलाई पुरानै अवस्थामा फर्काउँदा आफूहरुलाई घाटा नभएको बताए । उनले भने, ‘हाम्रा त औंलाले गन्ने गए तर एमालेका त हजारौं हजारसँग मिलेर आन्दोलन गर्यौं नि त्यसबाट घाटा छैन हामीलाई । हामी त सग्लो छौैं नि । केपीले त पार्टी नै फुटाउँदैछन् नि । लडाइँ फेरि पनि जित्छौं र जित्नुपर्छ र अनिमात्र देश सम्हालिन्छ ।’