छापामार शैलीमा भएका ‘निर्णय’ खारेज गर्नेवित्तिकै स्वतः एकताको वातावरण बन्छ
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले छापामार शैलीमा भएका निर्णय खारेज गर्ने वितिक्कै पार्टी एकताको वातावरण बन्ने बताएका छन् । सामाजिक संजाल फेसबुकमार्फत रिजालले नेताहरुबीच संवाद हुनु आफैंमा सुखद भएको भन्दै त्यसका लागि एकलौटी गरिएका निर्णय खारेज हुनुपर्ने बताएका हुन् ।
उनले लेखेका छन्, नेकपा (एमाले) का नेताहरुबीच संवाद प्रारम्भ हुनु आफैंमा सुखद् छ । एउटै बसाइबाट तिक्तता, अविश्वास र आशंका मेटिँदैनन् । तर, भित्रबाट चुकुल लगाएर किन भित्र नआएको भन्दा कुरा मिल्दैन । फागुन २८ मा केन्द्रीय कमिटीका सबै सदस्यहरुलाई खबरै नगरी र त्यहीँ सहभागीहरुलाई पनि आश्चर्य लाग्ने गरी छापामार शैलीमा भएका ‘निर्णय’ खारेज गर्नेवित्तिकै स्वतः एकताको वातारण बन्छ । यतिबेला एमालेमा कसैको कसैसँग माग नै छैन । नवौँ महाधिवेशनपछि बनेको र निर्वाचन आयोगको अभिलेखमा रहेको केन्द्रीय कमिटीको बैठक आयोजना गर्नासाथ पार्टी ‘लिक’मा हिंड्न थालिहाल्छ । अनि कुनै विषयमा सर्वसम्मत्ति नभएमा पार्टी विधान बमोजिम बहुमत–अल्पमतका आधारमा निर्णय गरेर अघि बढ्ने स्पष्ट बाटो हुँदाहुँदै किन सुरुङभित्र छिर्ने ? एकता सम्भव छ, यसको सुखद विकल्प छैन ।’