नारी दिवसको सकस



डा. गोविन्दशरण उपाध्याय ।
पश्चिमाहरूले हरेक विषयवस्तुलाई “वाद“मा परिणित गर्छन् । उनीहरूले नारीहरूको आन्दोलनलाई समेत “वाद“मा परिवर्तन गरेका छन् । नारीवाद (फेमिनिज्म) पुरुष विरुद्धको सिद्धान्त हो भन्दा धेरैले असहमति व्यक्त गर्ने छन् तर सत्य यही हो । नारीवाद असलमा पुरुषवाद विरुद्ध उभिएको एउटा बैचारिक आन्दोलन हो । वैदिक दर्शनमा नारीहरू “शक्ति“का रूपमा स्थापित छन् तर “वाद“को कुनै अस्तित्व छैन । वेद, उपनिषद, पुराणहरू तथा अन्य साहित्यहरूमा “देवी“का रूपमा नारीहरूका पराक्रमहरूको वर्णन छ, पुरुषहरूले नारीहरूको अधिपत्य स्वीकार गरेका छन् तर शक्तिभूत नारीहरूको यो शक्ति पुरुष बिरोधि देखिन्न । पश्चिमा नारीवादले उठान गरेका सबै “अधिकार“हरू खारेज गर्न सकिन्न तर पुरुषविरुद्धको घृणावादमा परिणित नारीवाद स्वीकार्नयोग्य छैन । आमासँग आमाको, दिदीबहिनीसंग दिदीबहिनीको र पत्नीसँग पत्नीसरहको आदर, सम्मान तथा समानताको व्यबहार गर्ने प्रतिमान स्थापित गरे पुग्छ । नारीले पुरुषलाई र पुरुषले नारीलाई दोषारोपण गर्ने प्रवृतिको अन्त्य हुनुपर्छ । पश्चिमा नारीवादले “दोषारोपण“लाई महत्व दिन्छ । समस्या यहीं छ ।

नारी के हो ? महिलाले नै बताएको तत्थ्य बढी महत्वपूर्ण हुनुपर्छ । निश्चय नै महिलाले पुरुषलाई र एउटा पुरुषले महिलालाई हेर्ने बुझ्ने दृष्टिकोण फरक हुनु स्वाभाविक हो । एउटा पुरुषको लागि आमा, सन्तान, पत्नी, प्रेमिकाजस्ता नाताहरूले महिलाको परिभाषा प्रभावित हुन्छ, दृष्टिकोण परिवर्तन हुन्छ । महिलाले पुरुषका विषयमा कस्तो दृष्टिकोण राख्छन् ? उनीहरूले जान्ने कुरा हो तर अनादिकालदेखि तय भएका नातागोता र बुझाईमा धेरै फरक हुनै सक्दैन । मैले बुझेको कुरा के हो भने विश्वमा जे–जस्ता वहस र आन्दोलन भए पनि असलमा, सृष्टिकाल देखि नै महिला र पुरुष बीचको एकआपसी निर्भरता तथा जैविकता जस्ताको त्यस्तै छ । महिला जात र पुरुष जात एकआपसमा प्राकृतिक रूपमैं अन्तरघुलित छन् । महिला र पुरुष बीच मतभेद उत्पन्न गर्ने बौद्धिक आन्दोलनहरूको आयु निकै छोटो र मनोरञ्जनसम्म देखिन्छ । महिला र पुरुष बीच मानसिक र बौद्धिक फाटो हाल्ने आन्दोलनका तुलनामा महिला र पुरुष बीचको प्राकृतिक सम्बन्ध बढी बलियो र प्रभावकारी छ ।

गत शताब्दिहरूमा महिला र पुरुष दूवैको परिभाषा धर्ममा आधारित थिए भने आज विज्ञानले “यौनकेन्द्रित नैतिक–अनैतिकता“मा ठूलो प्रहार गरेको छ । महिला र पुरुषका सम्बन्धका सवालमा धार्मिक परिभाषा तथा दृष्टिकोणहरू क्रमशः कमजोर हुँदै गएका छन् । विज्ञान र चिकित्सा शास्त्रको प्रगतिले नयाँ प्रतिमानहरू स्थापित भएका छन् । चिकित्सा विज्ञानले पुरुषलाई समेत गर्भधारण गर्न सक्ने बनाएको छ । पुरुषले गर्भधारण गरेपछि यसमा महिलाको एकाधिकार समाप्त भएको छ । चिकित्सा विज्ञानले लिंग नै परिवर्तन गराउँने क्षमता प्रदर्शन गरेपछि नारी र पुरुषको शरीरमा पनि अन्तर मेटिएको छ । यो परिवर्तनले माता–पिताजस्ता नातागोताहरूको फेरी नाम राख्नु पर्ने भएको छ । अव धार्मिक, सामाजिक तथा सांस्कृतिक अभियन्ता र अगुवाहरूले परिवर्तित सत्य स्वीकार्नको विकल्प छैन ।

नारी दिवसको मुख्य प्रतिक्रिया “पुरुषहरूको बन्धनबाट नारी स्वत्रन्त्र हुनुपर्छ“ भन्ने उद्देश्यसँग जोडिएको छ । शरीर उपरको अधिकार, सम्पत्तिको अधिकार, सन्तान जन्माउने/नजन्माउने अधिकार, पुरुषमाथि प्रभुताको अधिकार र पितृसत्तात्मक समाज विरुद्ध नारी प्रधानसमाजको पुनःस्थापनाजस्ता विषयहरू नारी दिवसका एजेन्डा हुन्छन् । यी एजेन्डाहरू नेपालजस्ता गरीव देशहरूका कूलीन नारी तथा पुरुषहरूले जोडतोडले उठाएको देखिन्छ । पुरुषहरू पनि के कम ! प्रत्यक्ष रूपमा नारीले खोजेका अधिकारहरूप्रति समर्थन जनाए पनि व्यावहारिक रूपमा प्रतिक्रिया विहिनझैं हुन्छन् । नारीहरूको आन्दोलनप्रति सधैं दया र सहानुभूतिको भाव रहन्छ ।

आजभोली पुरुषले नारी (अधिकार)का विषयमा लेख्नु वा बोल्नु सजिलो छैन । नारीअधिकारको अतिवाद र अधिकारप्रति असहमतहरूको अतिवादले पीडा दिन्छ । अतिवादी नारीहरूको चर्कोपनले प्राकृतिक नारीहरू आहत बन्ने गर्छन् भने सुसुप्त नारीहरूको प्रतिक्रिया विहीनताले नारीप्रतिको शोषण अझै विकराल बन्छ । मेरो दृष्टिकोणमा भने नारीहरूले उठान गरेका मुद्दाहरू निरापद छैनन् तर नारीहरूको प्राकृतिक नारीत्व र तिनलाई मानव–समाजको अनिवार्य अंगका रूपमा समान तहमा स्थापित गर्ने दृष्टिकोणको खाँचो अवश्य छ । यी दूवै अवस्थाहरू सोच परिवर्तनबाट प्राप्त हुन्छ ।

विश्वमा नरनारी नभएको कुनै ठाउँ छैन । स्त्री–पुरुष मिलेर सृष्टिक्रियालाई अगाडी नबढाएको ठाउँ छैन । नारी शरीरलाई वस्तु ठान्ने पनि थुप्रै छन् भने त्यही नारीलाई शक्ति मानेर पूजा गर्नेहरू पनि छन् । जिससले बाइबलमा “नारीले उपदेश दिनुहुँदैन“ भनेर दिनहुँ पढ्नेहरू पनि छन् र मोहम्मदले “नारी खेत हुन् चाहे जसरी जोत“ भनेर लेखेको कुरानका शब्दहरू अक्षरसः पालन गर्ने समाज पनि यहीं छ । अनि, नारीहरूको जहाँ सम्मान हुन्छ त्यहाँ देवता खुसी हुन्छन्“ भन्ने मनुको भनाइमा दोष खोज्नेहरू पनि यहीं छन् । म यत्ति भन्छु, नारी कस्तो हुनुपर्छ ? भन्ने कुरा नारीहरूले नै तय गरून् । वैदिक संस्कृतिले नारीहरूलाई यो स्वतन्त्रता प्रदान गरेको छ तर धर्मविरुद्ध आचरण गर्ने छूट पुरुष र महिला दूवैलाई छैन ।

पुरुषको हेराईलाई डलरमा रुपान्तरित गर्न अधिकारको कवच लगाएर आफ्नो देहप्रदर्शन गर्ने नारी र बाइबल र कुरानको महान् आदेशमा आफूलाई पूर्णरूपमा छोप्ने महिलाहरूप्रति समाजका आ–आफ्ना गुनासा छन् । आजको समाज मनुस्मृति, बाइबल वा कुरानका आदेशमा चलेको छैन । विश्वका सबै धर्महरूले मान्छेहरू “मेरो धार्मिक किताव“का आदेशले चलोस् भन्ने चाहना राख्छन् । साउदी अरेवीयाजस्ता देशहरूले यसमा अमल पनि गरेका छन् । तर पनि विश्व धार्मिक आदेशले चलेको छैन । हरेक देशले कानुन निर्माण गरेका छन् र धार्मिक आदेशहरूको तुलनामा कानुनहरू प्रभावशाली छन् । केही देशमा वाहेक नारी र पुरुष भनेर कानूनले विभेद गरेको पाइन्न । वरू केही देशहरूमा नारीहरूलाई धेरै विषयमा अग्राधिकार प्राप्त छ । सैद्धान्तिक रूपमा नेपाली समाजमा पनि महिलालाई पुरुषको तुलनामा अग्राधिकार प्राप्त छ ।

इसाईहरू मुस्लिमलाई गालीगलौज गर्छन् मुस्लिमहरुले इसाई महिलाको आहार व्याबहारलाई काफिर ठान्छन् । दूवै अतिवादी हेराईका बीचका भारत वर्षीय नारीहरूप्रति पनि गुनासो कम छैन । आजभोली नेपालका अधिकारवादी र प्रगतिशील नारीहरूले नयाँ काम भेट्टाएका छन् “हिन्दू संस्कृतिको आलोचना नारी विरुद्ध भएको कुरा प्रमाणित गर्न शक्ति लगाउने र पश्चिमा दाताहरूलाई खुसी पार्ने !!

आज नै मैले एउटा छापाखानाबाट प्रकाशित भएको अखवारमा कुनै एकजना प्रगतिशील विदुषीले “सम्भोग“लाई सहज रूपमा लिनुपर्छ भनेर अधिकारको मांग गरेको सुने ्र अमेरिकी वा युरोपेली समाजको नक्कल गरेर आफ्नो धर्म, संस्कृति तथा परम्परा विरुद्ध अधिकारहरूको मांग गर्दा सामाजिक तथा सांस्कृतिक विद्रोह उत्पन्न हुन्छ । यौन आफैमा असल वा कमसल क्रिया होइन समाज र संस्कृतिले यसका लागि स्थानीयतहमा स्थापित गरेका मानदण्डहरूको सम्मान गरिएन भने महिलाले प्राप्त गरेका अधिकारहरू पनि गुम्ने खतरा हुन्छ । अमेरिकाको २८% जनसंख्याले आफ्नो जैविक पितालाई चिन्दैन भने त्यही प्रतिमानको नारीस्वत्रन्त्रता नेपाली समाजका लागि चाहना गर्नु उचित हुँदैन । नेपाली नारीहरूले स्वत्वको सम्मान गर्नु भनेको अधिकार गुमाउनु पटक्कै होइन । आत्मसम्मानको स्थापना हो ।

आज नारी ठूलो कि पुरुष ? भनेर वहस गर्ने समय होइन । नारी र पुरुषले आ–आफ्नो प्राकृतिक शरीरको असत्यता तथा वाध्यता स्वीकार गर्दै विश्वलाई अझैं सुरक्षित, सार्वजनिक तथा अनुकूल बनाउँन क्रियाशील हुने हो । नारी र पुरुष जीवनरूपी रथका दुईटा पाङ्ग्रा हुन् भन्ने तथ्य स्वीकारेपछि समस्याहरूको समधान हुन्छ । पुरुषले नारीप्रति आफ्नो उत्तरदायित्वलाई कर्तव्यका रूपमा र नारीहरूले पुरुषप्रतिको आफ्नो कर्तव्य उत्तरदायित्व ठानेर पालन गर्ने हो भने हरेक परिवारको पारिवारिक जीवन सुखी हुन्छ । सुखी संसार नै हरेक परिवारको सपना हुन्छ । महिला र पुरुष सँगै हिडौं, सँगै भोजन गरौँ, सहकार्य गरौँ र आत्मसम्मानपूर्वक सत्कर्म गरौँ– सबैले सबैका लागि यही आह्वान गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
असारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख पुग्न सक्ने

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दैनिक ११ हजार कोरोना संक्रमित थपिन

महालक्ष्मीमा लिङ्गो उठाएसँगै बिस्केट जात्रा शुरु

भक्तपुर । नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ

वैशाख ७ देखि ११ गतेसम्म कोभिड खोपको दोस्रो डोज लगाइने

काठमाडौं । सरकारले आगामी वैशाख ७ देखि ११ गतेसम्म कोभिड खोपको दोस्रो डोज

व्यक्तित्व र व्यक्तित्व विकार

डा. गोविन्दशरण उपाध्याय । व्यक्तित्व चिन्तन, भावनात्मक प्रतिक्रिया, सम्वन्धको निर्वाह, सन्तुलित क्रियाकलाप र