प्रधानमन्त्रीज्यूसँग पहिलो पटक प्रत्यक्ष कुराकानी गर्दाको अनुभव



शारदाप्रसाद त्रिताल ।

शाखा अधिकृतको रुपमा २०४९ सालमा गृह मन्त्रालयबाट मन्त्रिपरिषद् सचिवालयमा मेरो सरुवा हुन्छ । त्यहाँ प्रधानमन्त्री कार्यालय (त्यस समय प्रधानमन्त्री कार्यालय म प सचिवालयको एक शाखाको रुपमा रहेको थियो) को जनसम्पर्क फाँटमा डेढ महिना काम गरेपछि प्रधानमन्त्रीको पी ए शाखा (त्यो समय कन्ट्रोल रुम भनिन्थ्यो) मा खटाइन्छ ।

मेरो लागि त्यो प्रकृतिको जिम्मेवारी पूर्णत नयाँ हुन्छ।
त्यहाँ काम शुरु गरेको भोलिपल्ट स्वकीय सहसचिवज्यूले प्रधानमन्त्रीज्यूसँग परिचय गराउन भनेर भित्र लानु हुन्छ । प्रधानमन्त्रीज्यू कार्यकक्ष भन्दा भित्रपट्टिको कोठामा हुनुहुँदो रहेछ । स्वकीय सहसचिवज्यूले मेरो परिचय गराइदिएर बाहिर निस्कनु हुन्छ ।
प्रधानमन्त्रीज्यूले आफु अगाडिको सोफा देखाएर बस्न इशारा गर्नुहुन्छ । मलाई अफ्ठेरो अनुभूति हुन्छ । मलाई असहज भएको महसूस गरी प्रधानमन्त्रीज्यूले “अफ्ठेरो मान्नु पर्दैन, बस्नुहोस्” भन्नु हुन्छ र म सतर्कतापूर्वक सोफामा बस्छु ।

पारिवारिक र शिक्षा तथा विगतको अनुभव समेतका बारेमा प्रधानमन्त्रीज्यूले सोध्नु हुन्छ र म संक्षेपमा उत्तर दिन्छु ।
प्रधानमन्त्रीज्यू मादी-चैनपुर हुँदै दिंला-भोजपुर जाने क्रममा कुनै समय मेरो गाउँमा पुगेर खाना खाएर हिंडेको कुरा संस्मरण गर्नुहुँदा असाध्य खुशी लाग्छ ।

प्रधानमन्त्रीज्यूलाई मेरो बारेमा सुवीर सर (स्वकीय उपसचिव सुवीर खनाल) ले सबै जानकारी गराइसक्नु भएको रहेछ ।
यस अघि मैले पी ए शाखामा काम नगरेको जानकारी गराएपछि मलाई प्रधानमन्त्रीज्यूले दिनु भएको निर्देशनहरुको सार देहाय अनुसार छ-
– गर्नु पर्ने कामका सम्बन्धमा आफ्ना सिनियर र अनुभवीहरुबाट विस्तृत जानकारी लिइहाल्नु होला ।

– तपाइँहरुले गर्ने व्यवहारले सरकारको व्यवहारको प्रतिनिधित्व गर्ने हुनाले असाध्यै होसियारीपूर्वक व्यवहार गर्नु पर्छ ।
मसँग फोनमा कुरा गर्ने भनेर जोसुकैले तपाइँहरुलाई फोन गर्न सक्छन् । सबैको फोनको रेस्पोन्स गर्न मलाई सम्भव हुन्न । त्यसैले तपाइँहरुले कुनै वहाना बनाएर फोनकर्तालाई सन्तुष्ट बनाउनु पर्छ । कतिपय अवस्थामा ढाँट्नु पनि पर्छ । त्यसको पाप तपाइँहरुलाई लाग्दैन, पाप लाग्ने नै रहेछ भने मलाई लाग्ने हो ।

– फोनमा कुरा गर्न नपाउने व्यक्तिले तपाइँहरुलाई गाली गर्न सक्छन् । कुनै व्यक्तिले फोनमा जस्तोसुकै गाली गरेपनि तपाइँहरु गाली गर्नेप्रति रिसाउनु हुँदैन, नराम्रो जवाफ दिनुहुँदैन । त्यो गाली तपाइँहरुलाई गरेको होइन, मलाई गरेको हुन्छ ।

– फोन गर्नेहरुको के समस्या रहेछ बुझेर टिपोट गरी मलाई अथवा कार्यालयको सचिव वा स्वकीय सचिवहरुलाई जानकारी गराउने गर्नुहोला ।
– दरबारबाट पशुपतिजी (प्रमुख सचिव पशुपति महर्जन)ले मात्र फोन गर्नुहुन्छ । अरु कसैले दरबारबाट भनेर फोन गरेमा पशुपतिजी मार्फत आउन भनिदिने गर्नुहोला ।

– किसुनजी (पार्टी सभापति) र गणेशमानजीले फोन गर्नु भयो वा फोन गर्न भन्नु भयो भने म विदेशीसँग भेटघाटमा भएको अवस्थामा वाहेक तुरुन्त फोन सम्पर्क गराउनु होला ।

यसैवेला स्वकीय सहसचिव आउनुहुन्छ र “तपाइँको समय सकियो गृह मन्त्री आउँदै हुनुहुन्छ” भन्नु हुन्छ । म सोफाबाट उठेर प्रधानमन्त्रीज्यूलाई नमस्कार गरेर बाहिर जान लाग्दा गृहमन्त्री पस्नुहुन्छ ।

म उहाँलाई नमस्कार गर्छु । गृहमन्त्रीज्यूले “मेरो मन्त्रालयको राम्रो अफिसरलाई मन्त्रिपरिषदले लगिदियो, मेरो मन्त्रालयमा सबैले एउटा अनेष्ट र रेस्पोन्सिबल अफिसर सरुवा भएर गयो भनेर गुनासो गरेका छन्” भन्नु हुन्छ । प्रधानमन्त्रीज्यूले “हामीलाई चैं राम्रो अफिसर नभए पनि हुने हो र” भनेर गृह मन्त्रीज्यूलाई प्रतिप्रश्न गर्नुहुन्छ ।
स्वकीय सहसचिवज्यूको इशारा अनुसार म बाहिर निस्कन्छु ।
संस्मरणबाट...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनमा कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैनः अध्यक्ष नेपाल

चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने

टुँडिखेलमा १० क्षेत्र र २९ पेशासँग सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ सुरु(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर बुधबारदेखि टुँडिखेलमा ‘सिप

३९ जिल्लाका एक सय ६५ स्थानमा डढेलो, तत्काल डढेलो नियन्त्रण हुने किसिमको वर्षाको सम्भावना कम

  प्रगति ढकाल, काठमाडौँ ।  देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ

२८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता आफ्नै कीर्तिमान तोड्ने तरखरमा

सिबी अधिकारी, काठमाडौँ  ।सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा