दुबईका शासकद्वारा आफ्नै छोरी लतिफा नजरबन्दमा
सन् २०१८मा देश छाडेर भाग्ने प्रयास गरेकी दुबईकी शासककी छोरीले पछि गोप्य रूपमा आफ्ना साथीहरूलाई पठाएको भिडियोमा पिताले आफूलाई बन्धक बनाएको र आफ्नो ज्यान जोखिममा रहेको उल्लेख गरेकी छन् ।
बीबीसी पानोरामालाई उपलब्ध गराइएको भिडियोमा राजकुमारी लतिफा अल मुक्तमले डुङ्गा चढेर भागिरहेको अवस्थामा कमान्डोहरूले आफूलाई औषधि दिएको र हवाई मार्ग हुँदै पुनः नजरबन्द गरिएको स्थान पुर्याइएको बताएकी छन् ।
गोप्य सन्देश आउने क्रम हाल रोकिएको छ र उनका साथीहरूले संयुक्त राष्ट्रसङ्घलाई यो विषयमा प्रवेश गर्न आग्रह गरेका छन् । दुबई र संयुक्त अरब एमिरेट्सले यसअघि उनी सुरक्षित र परिवारको साथमा रहेको बताएका थिए । सन् २०१८ मा लतिफासँग भेटेकी र उनलाई चिन्तित युवतीका रूपमा व्याख्या गरेकी संयुक्त राष्ट्रसङ्घकी एक जना पूर्व अधिकारी म्यारी रोबीन्सनले आफूलाई नराम्रो तरिकाले झुक्काएको बताएकी छन् ।
मानव अधिकार सम्बन्धी पूर्व राष्ट्र सङ्घिय उच्चआयुक्त तथा आयरल्यान्डकी पूर्व राष्ट्रपति रोबीन्सनले लतिफाको हालको अवस्था र उनी कहाँ छिन् भन्ने बारे थाहा दिइनुपर्ने आग्रहको समर्थन गरेकी छन् । ‘म लतिफा बारे अझै निकै चिन्तित छु। विषय वस्तु अघि बढेको छ। र त्यसै कारण यो विषय बारे अनुसन्धान गरिनुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भनिन् ।
लतिफाका पिता शेख मोहम्मद बिन राशिद अल मक्तुम दुबईका शासक हुन् । विश्वको सबैभन्दा धनी राष्ट्र प्रमुख मध्ये एक उनी संयुक्त अरब एमिरेट्सका उप–राष्ट्रपति पनि हुन् । लतिफालाई नियन्त्रणमा लिएर दुबई ल्याइएको करिब एक वर्षपछि उनलाई गोप्य रूपमा दिइएको मोबाइल फोनमा कैयौँ महिना लगाएर भिडियोहरू रेकर्ड गरिएको थियो ।
उनले ती भिडियो शौचालयमा रेकर्ड गरेकी थिइन् किनकि त्यहाँ मात्रै उनी ढोका बन्द गरेर बस्न सक्ने अवस्था थियो । उनलाई चिकित्सकीय वा कानुनी सहायता लिन नसक्ने गरी एक्लै एउटा घर (भीला) मा राखिएको छ । झ्याल ढोका बन्द गरिएको उक्त घरको सुरक्षामा प्रहरी तैनाथ गरिएका छन् ।
लतिफालाई पक्राउ गरिएको विषय बारेका विवरण उनकी मिल्ने साथी टीना यावहीआइनन, एक जना नातेदार मार्कस एस्ब्री र अभियन्ता डेभिड हेगले पानोरामालाई उपलब्ध गराएका हुन् ।
उनीहरूले लतिफाको रिहाइको माग गर्दै अभियान चलाइरहेका छन् । लतिफा सुरक्षित छन् कि छैनन् भन्ने चिन्ताका कारण आफूहरूले उनको सन्देश सार्वजनिक गर्ने कठिन निर्णय लिएको उनीहरूले बताएका छन् । उनीहरूले नै प्रहरी तैनाथ गरिएको घरमा रहेकी लतिफासँग सम्पर्क स्थापित गर्न सफल भएका थिए । पानोरामाले लतिफालाई कहाँ राखिएको छ भन्ने विषय बारे विवरणको स्वतन्त्र परीक्षण गरेको छ।