तत्काल केन्द्रीय समिति बैठक बोलाएर ओलीको असंवैधानिक कदमबारे धारणा तय गर्न पौडेलको माग


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमकाबारेमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन आग्रह गरेका छन् । बिहीबार सामाजिक संजाल फेसबुकमार्फत पौडेलले ओलीको कदमकाबारेमा पार्टीको स्पष्ट धारणा आउनुपर्ने बताएका हुन् ।

पौडेलले लेखेका छन्, ‘देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भईरहेका छन् । संसद छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक नियकायमा भएका असंवैधानिक नियुक्ती त्यसैको पछिल्लो कडी हो । यस्तो अवस्थामा नेपाली काँग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक छ । मैले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक तत्काल बोलाएर आवश्यक छलफल गर्न भनेको छु ।’