निर्वाचन आयोग र अदालतलाई अझै विश्वास गर्छौं तर त्यो भन्दा ठूलो जनताको अदालत होः प्रचण्ड
काठमाडौं । नेकपाको प्रचण्ड- नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवश्यक परे प्रतिनिधिसभाको बैठक डाक्ने बताएका छन् ।
शुक्रबार विराटनगरमा संसद विघटनविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले सही फैसला गर्छ भनेर कुरेको र त्यस्तै परे संसद बैठक डाक्ने बताएका हुन् । उनले केपी ओली व्यक्तिले संसद भंग गरेको भन्दै संसद संविधानअनुसार भंग नभएको बताए । प्रचण्डले सांसदहरुलाई आफूहरु मरेको नठान्न आग्रह गरे ।
उनले जनता जागेपछि तानाशाहको केही नलाग्ने भन्दै संसद विघटनबाट ओलीलाई पश्चाप भएको बताए । उनले भने, ‘नेपाली जनताप्रति विश्वास छ, जनता जागेपछि तानाशाहको केही लाग्दैन । केपी ओलीका खुट्टी मैले देखेर आएको छु । हाम्रो संसद भंग भएको छैन । केपी ओलीले जे भन्यो त्यही हुन्छ ? केपी ओलीले मात्र भंग गरेको हो । ओलीजी आफैं भंग भएको हो । उनले आफ्नै खुट्टामा बन्चरो हाने । हुन त तपाईंका छोरीछोरी छैनन् मेरा जस्ता । तर तपाईंलाई इतिहासले तानाशाह कलंकका रुपमा सम्झने भयो ।’
उनले आफू जनयुद्धका बेला एकपटक लखनउ जाँदाको प्रसंग सुनाउँदै भने, ‘म लखनउ जाँदा ‘मे जिम्दा हुँ’ भन्ने प्लेकार्ड बोकेर एक दुई सय मान्छे हिंडेको देखें । किन रहेछ भनेर बुझ्दा त जाली फटाहाले कीर्ते कागज गरेर उनीहरु मरिसकेका भनेर जग्गा हडपेछन् । अनि उनीहरु प्रशासन जाँदा उसले भन्दो रैछ तिमीहरु त मरिसक्या हौ । यसरी प्रशासनले पनि मरिसकेको भनिसकेपछि उनीहरुले आफूहरु जिउँदै छौं भन्दै यसरी प्लेकार्ड बोकेर गएका रहेछन् । हो हामीहरुकोमा पनि यस्तै भएको छ । एउटा जाली फटाहाले संसद विघटन गर्यो तर त्यो भएको छैन ।’
उनले समृद्ध नेपाल बनाउने अभियानका लागेको तर त एउटा भस्मासुर आएर सखाप पार्न खोजेको भन्दै प्रधानमन्त्री ओलीप्रति आक्रोश पोखे । अध्यक्ष प्रचण्डले कांग्रेस नेताहरुलाई प्रतिगमनविरुद्धको आन्दोलनमा सहभागी भई गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारीको भूमिका निर्वाह गर्न आग्रह गरे ।
उनले भने, ‘कांग्रेस गिरिजाप्रसाद कोइराला र शान्ति सम्झौताको उत्तराधिकारी हो । गिरिजाबाबुले बीचमा धेरै आलोचना खप्नुभयो । तर अन्तिममा लोकतन्त्रको महानायक भएर जानुभयो । उहाँ अहिले स्वर्गमा आनन्दले बस्नु भएको छ । बीचमा केके भनियो तर मैले नि पछि अभिभावक भनें । शान्ति सम्झौतामा हस्ताक्षर गर्नुभयो । अब महानायक बन्ने पालो हाम्रो पालामा आयो । निरंकुशसँग झुक्ने छैन । त्यसैले निरंकुशताविरुद्ध खुट्टा नकमाऔं ।’
उनले नेकपा कसको हुने भन्ने विवाद नरहेको बताए । ७० प्रतिशत आफूहरुसँग भएको भन्दै प्रचण्डले केपी ओलीले सेटिङ गरेर केही नहुने बताए । उनले भने, ‘ओलीले सेटिङ गरेर केही हुन्न । जनताले त्यसालाई भत्काइदिन्छन् । निर्वाचन आयोग र अदालतलाई विश्वास गर्छौ तर त्यो भन्दा ठूलो अदालत जनताको अदालत हो । त्यो भन्दा ठूलो केही छैन ।’ उनले माघ २८ गते काठमाडौंमा विशाल जनसागर उतार्ने र त्यसलाई निर्णायक आन्दोलन बनाउने बताए ।