अर्धचेत भएकाहरुले जतिसुकै जिन्दावाद भनेपनि इतिहासले डस्नेछ



डा. युवराज संग्रौला ।
राज्यको सुदृढीकरण र जनताको खुसी नै राष्ट्रको विकास हो । के यो प्राप्त गर्यौं हामीले ? होइन गरनौं । म तपाइँहरुसँग केही तथ्यांकको कुरा गर्न चाहन्छु, र भन्न चाहन्छु ‘राजनीतिलाई बदनाम नगर्नुहोस्, यसलाई छट्टुको खेल नबनाउनु होस् ।’

१. पहिला स्वेडेनको एउटा कुरा । स्वेडेनमा प्रधानमन्त्री ओलाफपामेको हत्या गरियो, उनी प्रजातान्त्रिक समाजवादी नेता थिए । दलाल पूँजीवादले वैज्ञानिक समाजवाद मात्र होइन प्रजातान्त्रिक समाजवादलाई पनि सहँदैन । जे होस्, म स्टकहोम गएको थिएँ । मेरो एकजना साथीले उनको हत्या भएको ठाउँमा बनाएको समाधीस्थल देखाउन लगेका थिए । हामी दुई त्यहाँ पुग्दा, त्यहाँ एउटा १३/१४ वर्षको केटा र उसका आमाबुबा थिए। बुबा रिसाएर छोरालाई गाली गर्दै थिए । छोरा रुन थाल्यो । मैले साथीलाई सोधें, के भएछ ? उनले बताए, छोराले पामेको समाधिमा राम्रोसँग शिर झुकाएर सम्मान गरेनछ । त्यसैले बाबु रिसाएछन् । जनतामा नेताप्रतिको सम्मान तीन कुरा निर्माण गर्छ । (१) जुन नेताले आफूलाई मालिक वा निधिपति होइन, प्रतिनिधि ठान्छ त्यसको सम्मान हुन्छ । नेपालका नेताले यस बारेमा सोचुन् ।(२) जुन नेताले गरिब आँसु देख्छ, त्यसलाई जनताले सम्मान गर्छन् । (३) जुन नेताले पद पैसा र सान भन्दा ठूलो बिचारधारा र नैतिकता हो भन्ने ठान्छ, त्यसलाई जनताले सम्मान गर्छन् । अर्धचेत भएकाहरुले जतिसुकै जिन्दावाद भनेपनि जनताको मनमा बस्न सकिएन भने इतिहासले डस्ने छ ।

२. तथ्यांकमा १००० डलर प्रतिव्यक्ति आए भने पनि तलका ४० प्रतिशत जनतामध्ये ९ प्रतिशतले मात्र बल्लतल्ल शिक्षाको पहुँच पाएका छन् । स्कुल गएका गरिब, दलित, दुर्गमका बालबालिका पनि स्कुल छोड्छन् । किनकी उनीहरुसँग स्कुल जाँदा लगाउने लुगा छैनन् । मेरो प्रश्नको जवाफ सरकारले देओस्, किन न्यायाधीशहरुलाई १३ करोडका नयाँ गाडी चाहियो ? यदि यही हरकत हो भने, किन भन्नू पर्यो कम्युनिस्ट पार्टी ? किन सरकारको बिरोधमा रहेका अरु कम्युनिस्ट नेतालाई यो अस्वाभाविक लागेन ? किनकी सरकारमा बस्ने र बाहिरका दुबै खाले कम्युनिस्ट नेताहरूमा बिचारधारा समाप्त भएको छ, केबल सत्ता, सत्ताको मात, र सत्ताको सपनामात्र छ । झोले मित्र हो जिन्दावाद मुर्दावाद भन्नू भन्दा पहिला आफ्ना नेतालाई कम्युनिस्ट बनाउन लड।’

३. राज्यले एउटा विद्यार्थीलाई उच्च शिक्षामा २५७५५० खर्च गर्छ । तर ती शिक्षितसँग सीप पनि छैन, रोजगार पनि छैन। ती मध्येका ६५००० विदेश जान्छन् र अर्बमा रगत सुकाएर रेमिटेन्स पठाउनेले पठाएको १३ खर्ब रुपियाँ बराबरको डलर विदेश लैजान्छन् । कम्युनिस्ट सरकारले के गर्यो र कम्युनिस्ट नेताले के गरे ? राम्रै गरे । अहिले सडकमा गद्दारको नारा लगाउँदैछन् ।

४. अब सप्रिने भए सप्रनु होस् । गफ बन्द गरेर समाजवादको निर्माणमा लाग्नुहोस् । अन्यथा, जनताले आफ्नो शक्ति निर्माण गर्नेछन् । बाँदरका गुफामा बसेर सुरक्षित नठान्नुहोस्, यो गुफामा तपाईँ पनि बसेकोमा बाँदर खुसी छैनन् । अर्थात्, चुनाव जितेर सत्तामा पुगेपनि त्यो सत्ता सामन्तहरुकै हो । जुन दिन अवसर मिल्छ, बाँदरले चिथोर्ने छन् ।

५. गरीब जनताको सेवामा लाग्नु होस्। मिलेर पार्टी राम्रो पार्नुहोस् । बिचारको कदर गर्नुहोस् । राम्रा लुगा लगाउँदैमा, राम्रो गाडी चढ्दैमा ठूलो हुइँदैन । हेर्नुहोस् त, हो चि मिन्हले तपाईँका जस्ता राम्रा लुगा लगाएका थिएनन् । के उनी तपाइँहरु भन्दा तल्लो स्तरका नेता हुन् उनी ? माओसँग तातो कोट थिएन । चाओ एनलाइले किनिदिएका थिए । तपाईहरुसँग माओका भन्दा राम्रा लुगा छन्, तपाईँहरु माओ भन्दा ठूलो हो ? बिपी बेइजिङ्ग जाँदा ओभरकोट थिएन । उनलाई जाडो भएको थाह पाएर चाओले आफ्नो ओभरकोट लगाइदिएछन् । तपाईंहरुसँग त रङ्गरङ्गका लुगा छन्, के तपाईंहरु भन्दा बिपी साना हुन् ?

६. अहिले पनि देशमा अधिकांश मानिसले खान पाउँदैनन् । तपाईंहरु सत्तामा रहिरहने र खोसिहाल्ने खेलमा हुनुहुन्छ । प्रधानमन्त्रीले त नरहे बाँस नरहे बाँसुरी पार्दिनु भो । निर्वाचनमा हुने दश अर्ब खर्चले बुढानिलकण्ठ जस्ता १०० वटा स्कुल बन्ने थिए ।

७. अब युवा र बुद्धि भएकाले राज्य निर्माण गर्ने समय भयो । बुद्धिमानीहरु वर्तमानलाई भविष्यतर्फ मुखरीत गर्छन्, बिगततिर होइन । बुद्धिमानी चराहरु वास बस्न अग्लो, सजिलो, हरियो रुख छान्छन् । उनीहरुलाइ भोलि उड्नुपर्ने थाहा हुन्छ । उनीहरु पहाड नाघेर अगाडि बढ्छन् । अब नयाँ पुस्ताले राज्य जिम्मा लिने बेला भयो । नेपाल मर्दैन, एक दिन समृद्ध देश बन्ने सपना पूरा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय