सत्तारुढ नेकपा फुटको बाटोमा, दुवै पक्षको आज केन्द्रीय समिति बैठक
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी औपचारिक रुपले विभाजनको बाटोमा लाागेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ पक्षले आज अलग अलग बैठक डाकेका छन् ।
दुबै पक्षले आफूले बोलाएको केन्द्रीय कमिटी बैठक नैं आधिकारिक भएको दाबी गरेका छन् । आजको बैठकबाट एक अर्कालाई अनुसाशनको कारबाही गर्दै पार्टीबाट निष्काशन गर्ने दुबै पक्षको तयारी छ ।
सोमबार संसद भवनमा आयोजित प्रचण्ड–नेपाल पक्षका निवर्तमान सांसदहरुको भेलामा सहभागी नभएका वामदेव गौतमले आफू संसद विघटनको विपक्षमा तर पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टी फुटको साक्षी नबन्ने घोषणा गरेका छन् ।
बालुवाटारमा प्रधानमन्त्री ओलीद्वारा आयोजित भेलामा सहभागी नभएका गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापाले पनि हतारमा कुनैपनि निर्णय नलिने बताएका छन् । ओली पक्षले आज बिहान ९ बजे प्रधानमन्नी निवास वालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाएको छ भने प्रचण्ड पक्षले कार्की पार्टी प्यालेस बबरमहलमा दिउँसो १ बजे बैठक बोलाएको छ ।