यी हुन् अमेरिकाले देशनिकाला गरेपछि चीनलाई अन्तरिक्षमा पुर्याउने वैज्ञानिक चियाङ स्वीजन



एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्याउन सहयोग गरे । तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ । साङ्घाईमा ७० हजार कलाकृति राखिएको एउटा सङ्ग्राहलय छ । ती सबै कलाकृति एउटै व्यक्तिलाई समर्पित छन्, जनताका वैज्ञानिक अर्थात् चियाङ स्वीजनलाई ।

चियाङ चीनको क्षेप्यास्त्र र अन्तरिक्ष कार्यक्रमका पिता हुन् । उनको अनुसन्धानले चीनको पहिलो भूउपग्रह अन्तरिक्षमा पठाउने रकेट विकास गर्न र आणविक हतियारको रूपमा क्षेप्यास्त्र बनाउन सहयोग गर्यो । अनि उनी राष्ट्रिय नायकका रूपमा स्थापित भए । तर अर्को महाशक्ति, जहाँ उनले अध्ययन र एक दशकभन्दा बढी काम गरे, त्यहाँ उनको महत्वपूर्ण योगदानलाई बिरलै याद गरिन्छ । चियाङ सन् १९११ मा जन्मिएका हुन् । त्यसबेला चीनमा अन्तिम राजवंशलाई समाप्त पार्दै गणतन्त्र स्थापना हुन लागेको थियो ।

उनका बाबुआमा नै शिक्षित थिए र उनका पिताले जापानमा काम गरेर फर्किएपछि चीनको राष्ट्रिय शिक्षा प्रणालीको स्थापना गरेका थिए । बाल्यकालमै उनी तीक्ष्ण थिए भन्ने प्रमाणहरू देखिएका थिए र अन्ततः उनी साङ्घाईको जिआओ टोङ विश्वविद्यालयमा स्नातक तहमा प्रथम भए । उनले अमेरिकाको म्यासाच्युसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजी एमआईटीको एउटा दुर्लभ छात्रवृत्ति पाए ।

सन् १९३५ मा उनी बोस्टन पुगे । युनिभर्सिटी अफ नर्थ जोर्जियाको इतिहासका प्राध्यापक क्रिस जेस्पर्सन उनले विदेशीप्रतिको घृणा र रंगभेदको सामना गरे भन्ने ठान्छन् । तर त्यसबेला त्यहाँ आशा र विश्वास पनि थियो र चाँडै मानिसहरूले उनको ज्ञानको सम्मान गर्न थाले । हङ्गेरीका आप्रवासी थियोडर भोन कार्मन त्यसबेलाका एकदमै प्रभावशाली एरोनटिकल इन्जिनियर थिए ।

उनले क्यालिफोर्निया इन्स्टिट्युट अफ टेक्नोलोजी क्यालटेकमा अध्यापन गर्थे। उनीसँगै पढ्नका लागि चियाङ क्यालटेकमा गए । उनी र अर्का उल्लेखनीय वैज्ञानिक फ्रान्क मलिनाले एउटै कार्यालयमा बसेर काम गरे। फ्रान्क ’सुसाइड स्वाड’ भनेर चिनिने आविष्कारकहरूको एउटा सानो समूहको मुख्य सदस्य थिए । आफ्नो ज्ञानका कारण चियाङ पनि उक्त समूहमा प्रवेश गरे ।

’इस्केप फ्रम अर्थः अ सेक्रेट हिस्ट्री अफ द स्पेस रकेट’ नामक पुस्तकका लेखक फेजर म्याकडोनल्डका अनुसार त्यसबेला रकेट निर्माणको कुरा गर्दा धेरैले त्यसलाई काल्पनिक भन्थे । तर दोस्रो विश्वयुद्ध सुरु भएसँगै त्यसमा परिवर्तन आयो। सुसाइड स्वाडप्रति अमेरिकी सेनाले चासो दियो । सैन्य बजेटमै सन् १९४३ मा त्यहाँ जेट प्रोपल्सन ल्याब जेपीएल स्थापना भयो।

त्यसको निर्देशकमा कार्मन नियुक्त भए भने चियाङ र मलिना त्यो कार्यक्रमको मुटुजस्तै बने । त्यसबेला चीन र अमेरिका साझेदार राष्ट्र थिए। त्यसैले चियाङमाथि कुनै शङ्का नगरिएको म्याकडोनल्ड बताउँछन्। चियाङलाई गोप्य हतियार अनुसन्धानका लागि पनि अनुमति दिइएको थियो । विश्वयुद्धको अन्त्यसम्म उनी विश्वका जेट प्रोपल्सन प्रविधिका एक अग्रणी विज्ञ बनिसकेका थिए ।

उनलाई अस्थायी लेफ्टिनेन्टको पद दिइएको थियो र कर्मानसँगै युद्धपछि जर्मनी पठाइएको थियो । उक्त टोलीको काम जर्मन नाजी इन्जिनियरहरूले जानेको प्रविधिबारे थाहा पाउनु थियो । तर चियाङको चमकदार अमेरिकी करिअर अचानक रोकियो । सन् १९४९ मा चीनमा माओको नेतृत्वमा कम्युनिस्ट जनवादी गणतन्त्र स्थापना भएपछि अमेरिकामा चिनियाँहरूलाई शङ्काको नजरले हेर्न थालियो ।

त्यसैबेला जेपीएलका नयाँ निर्देशकले आफ्नो प्रयोगशालामा जासुसहरू रहेको विश्वास गरे र एफबीआईलाई आफ्ना केही कर्मचारीप्रति शङ्का रहेको बताए । “तीमध्ये सबै कि त चिनियाँ थिए कि यहुदी थिए,“ म्याकडोनल्ड भन्छन्। शीतयुद्ध सुरु हुँदै थियो र कम्युनिस्टहरूलाई खोजीखोजी कारबाही गरिन्थ्यो।

एफबीआईले चियाङ र मनिलालाई कम्युनिस्ट भएको आरोप लगाउँदै राष्ट्रिय सुरक्षाका लागि खतरा भएको बतायो । चियाङविरुद्ध सन् १९३८ को अमेरिकी कम्युनिस्ट पार्टीको एउटा दस्तावेजलाई प्रमाणका रूपमा लिइयो । त्यसमा उनी एउटा सामाजिक भेटघाटमा सरिक भएको प्रमाण थियो। यद्यपि चियाङले पार्टीको सदस्य भएको अस्वीकार गरे ।

म्याकडोनल्डका अनुसार त्यसबेला कम्युनिस्ट हुनु भनेको रंगभेदविरुद्ध आवाज उठाउनु हुन्थ्यो। त्यसैले उनी मार्क्सवादी नै बनेका थिए भन्न नहुने उनको भनाइ छ । उनलाई पाँच वर्ष नजरबन्दमा राखियो । उनी निर्दोष रहेको भनेर क्यालटेकका कैयौँ सहकर्मीले सरकारलाई पत्र लेखे तर उनलाई मुक्त गरिएन । सन् १९५५ मा उनलाई अमेरिकाबाट देशनिकाला गरेर चीन पठाउने निर्णय भयो ।

उनले श्रीमती र अमेरिकामा जन्मिएका दुई सन्तानसहित अमेरिकामा कहिल्यै पाइला नटेक्ने बताउँदै अमेरिका छाडे । उक्त वाचालाई पूरा गरेर उनी त्यसपछि कहिल्यै अमेरिका गएनन् । उनी चीनमा एउटा नायक जसरी प्रवेश गरे तर लगत्तै चिनियाँ कम्युनिस्ट पार्टीमा प्रवेश गरेनन्। उनी सन् १९५८ मा पार्टी सदस्य बने । चियाङ चीन पुग्दा चीनमा रकेट विज्ञानबारे खासै ज्ञान थिएन ।

तर १५ वर्षपछि उनले अन्तरिक्षमा पहिलो चिनियाँ भूउपग्रह प्रक्षेपणको नेतृत्व गरे । त्यो दशकभरि उनले नयाँ पुस्ताका वैज्ञानिकहरूलाई प्रशिक्षण दिए र उनैले सुरु गरेको आधार टेकेर चीन चन्द्रमामा अवतरण गर्न सफल भयो । चियाङले बनाएका र चीनले अन्य देशलाई बेचेका क्षेप्यास्त्रहरू विभिन्न युद्धमा अमेरिकासँग आमनेसामने भएका छन् ।

अहिले पनि चीन र अमेरिकाबीच सम्बन्ध बिग्रिएको छ। तर यो बेला सिद्धान्तभन्दा पनि व्यापार युद्ध चर्केको छ । अधिकांश अमेरिकीलाई अमेरिकी अन्तरिक्ष कार्यक्रममा चियाङको योगदानको जानकारी छैन। तर अमेरिकामै बसोबास गरिरहेका चिनियाँ र चिनियाँ विद्यार्थीहरूले उनलाई चिन्छन् र उनीहरूले उनले अमेरिका छाड्नुपर्ने अवस्थालाई अहिलेको समानार्थी महसुस गर्छन्।
बीबीसीबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुलुकको राजनीतिक कडा ज्वरो

भीम उपाध्याय । मुलुकका सबै राज्य संयन्त्र अहिले एकदम कमजोर छन्। यस्तोमा यहॉ

बेलायतले मोर्डनाको खोप थप २० लाख डोज खरिद गर्ने

बेलायत सरकारले हालै कोरोना भाइरसविरुद्ध अमेरिकी कम्पनी मोर्डनाले निर्माण गरिरहेको खोप थप २०

विश्वमा ६ करोड ३० लाख भन्दा बढी मानिसलाई कोरोना संक्रमण

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड ३५ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन्

क्यानडाद्वारा दुई पान्डा चीनलाई फिर्ता

खुवाउनका लागि ताजा बाँसको अभाव हुन थालेपछि दुई ठूला पान्डालाई क्यानडाबाट चीन फिर्ता