ब्राजिलमा चिनियाँ कम्पनी सिनोभाकले विकास गरेको खोपको परीक्षण रोकियो


स्वास्थ्यसम्बन्धी निकायले गम्भीर किसिमको प्रतिकूल घटना देखा परेको बताएसँगै ब्रजिलमा चीनले उत्पादन गरेको कोभिड १९ विरुद्धको एउटा खोपको परीक्षण स्थगित गरिएको छ । अन्भीसाले सो घटना अक्टोबर २९ मा भएको बताए पनि थप विवरण सार्वजनिक गरेको छैन ।

एकजना स्वयंसेवकको मृत्यु भएसँगै परीक्षण स्थगित गरिएको बताइएको छ तर त्यो मृत्यु परीक्षणसँगै सम्बन्धित थियो वा थिएन भन्ने विषय भने स्पष्ट हुन सकेको छैन । परीक्षण व्यवस्थापन गरिरहेको संस्थाका प्रमुख डिमास कोभासले भने खोपका कारण प्रतिकूल प्रतिक्रिया देखा नपरेको बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै कोभासले स्थगित गर्ने निर्णय गर्नुअघि खोप परीक्षण कार्यक्रम सञ्चालन गरिरहेकासँग परामर्श नगरिएको बताएका छन् ।

चिनियाँ कम्पनी सिनोभाकले विकास गरिरहेको खोप विश्वव्यापी रूपमा अन्तिम चरणको परीक्षण भइरहेका केही खोपमध्ये एक हो । सिनोभाकले भने आफूहरू खोप सुरक्षित रहेको विषयमा आश्वस्त रहेको बताएको छ । उक्त कम्पनीले आपत्कालीन कार्यक्रम अन्तर्गत चीनमा हजारौँ मानिसहरूलाई सो खोप दिइसकेको छ । ब्रजिल कोरोनाभाइरसबाट अत्यन्तै प्रभावित राष्ट्रमध्ये एक हो जहाँ ५६ लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

उक्त सङ्ख्या अमेरिका र भारत पछिको धेरै हो । ब्रजिलमा मृत्यु हुनेहरूको सङ्ख्या भने १,६३,००० को हाराहारीमा रहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ । सोमवार अन्भीसाले एउटा गम्भीर प्रतिकूल घटनाका पछि खोपको परीक्षण रोक्ने आदेश दिएको हो । तर के भएको हो भन्ने जानकारी भने उसले दिएको छैन ।

उक्त खोपको अन्तिम चरणको परीक्षण इन्डोनेसिया र टर्कीमा पनि भइरहेको छ तर ती दुवै देशमा परीक्षण स्थगित गरिएको छैन । इन्डोनेसियाको सरकारी बायो फार्मा कम्पनीले मङ्गलवार त्यहाँ सिनोभाकको खोपको परीक्षण सहज रूपमा अघि बढेको बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

कोभासले स्थानीय सञ्चारमाध्यमलाई परीक्षण एउटा मृत्युको घटनालाई जोडेर स्थगित गरिएको तर त्यो मृत्यु खोपसँग सम्बन्धित नभएको बताएका थिए । ‘हामीले अन्भीसाको यो निर्णयलाई अनौठो मानेका छौँ किनकि त्यो घटना खोपसँग सम्बन्धित छैन। हाल हामीसँग १० हजार भन्दा बढी स्वयंसेवक छन्,’ उनले कल्टुरा टिभीलाई भने ।

मङ्गलवारको एउटा पत्रकार सम्मेलनमा उनले परीक्षण छिटै सुरु हुने आफ्नो आशा रहेको बताएका छन् । परीक्षण रोकिनु असामान्य कुरा भने होइन । गत सेप्टेम्बर महिनामा एक जना सहभागीमा प्रतिकूल प्रतिक्रिया उत्पन्न भएको आशङ्का गर्दै वेलायतले कोभिड १९ विरुद्धको अर्को एउटा खोपको परीक्षण रोकेको थियो ।

ब्रजिलका राष्ट्रपति जइर बोल्सोनारु एस्ट्राजेनेकाले तयार पारेको खोपलाई प्राथमिकता दिने विषयमा खुला देखिएका छन् । उनले आफ्नो सरकारले चीनद्वारा विकसित खोप नकिन्ने बताएका छन्। सिनोभाक अन्तिम चरणको परीक्षणमा रहेको करिब एक दर्जन खोपमध्ये एक हो । तेस्रो चरणको परीक्षण खोप विकासमा निकै महत्वपूर्ण विन्दु हो जहाँ ती सफल या असफल हुने निर्णय हुन्छ ।

विदेशमा भइरहेका परीक्षण बाहेक चीनले आफ्नै देशमा पनि कोभिड १९ विरुद्धको खोपको परीक्षण गरिरहेको छ । सिनोभाक चीनमा परीक्षण भइरहेको तीन खोपमध्ये एक हो जसलाई आपत्कालीन प्रयोग कार्यक्रम अन्तर्गत हजारौँलाई दिइएको छ ।

यसअघि सिनोभाकले आफ्ना सबैजसो कर्मचारी र उनीहरूका परिवारका सदस्यले सो खोप लगाइसकेको बताएको थियो । एकजना वरिष्ठ चिनियाँ अधिकारीले केही समयअघि परीक्षणका क्रममा गम्भीर असर नदेखिएको बताएका थिए ।