किन सरकारका जुन काम पनि खाली विवादास्पद हुन्छन् ?
भीम उपाध्याय ।
किन सरकारका जे पनि काम खाली विवादास्पद हुन्छन्? किन सही काम गर्दैन? किन सही तरिकाले काम गर्दैन? जे काम पनि किन बिकृत देखिन्छन्? किनकि यसको प्रोफाईल यस्तो छ।
सरकारहरूको काम जहिले पनि त्यस्तै खाले रहदै आएको हो र छ। अहिले जनता बढी सचेत र जागरूक भएका छन्, सोसल मिडियाले मिनेट मिनेटमा सूचनाको बमबारी गरिदिन्छ। ५० वटा टिभी च्यानल चिच्याईरहेका हुन्छन्। १० हजार अनलाईन समाचार पोर्टलले उछाल्छन्। ईन्टरनेटले गर्दा हाम्रा हातहातका मोबाईलमा के ब्रेकिङ आउला भनेर छिनछिनमा हेर्न आतुर हुन्छौं।
उही कुरा सयौं पटक दोहरिदा, भाईरल हुदा त्यसको असर कैयन गुणा बढी परिसकेको हुन्छ। त्यसमाथि युट्युबरहरुको मसालेदार भिज्युअलले पनि आफ्नै तालमा सही-गलत भ्रामक नृत्य देखाईरहेका हुन्छन्। अनलाईनहरूका र भिजुअल, अडियो वा प्रिन्ट मिडियाका आआफ्नै अनलाईन संस्करणको मल्टिमिडिया पोर्टलमा पनि समाचारका अनेक रूप रंग छतछुल्ल गरिन्छन्। हामी डिजिटल युगमा छौं, स्मार्टफोन हातहातमा छ, हामी झन झन् स्मार्टर बन्दै गएका छौं। ऑखा झिमिक्क नगरी मोबाईलमा टास्सिरहेका हुन्छौं।
तर सरकार भने ईन्टरनेट, आधुनिक डिस्रप्टिभ प्रविधि र क्षमता बिकासमा बेखबर छ। सरकार र तिनका मन्त्रीहरू ३ दशक अघिको कानुन, प्रशासन, सोच, संस्था, मानसिकता र प्रविधिका आधारमा शासन गर्न खोज्छन्। त्यसैले तिनले जनताको बेस्सरी झापू खाईरहेका छन्।
पदमा भएकाले तिनलाई पदीय मान त गर्नै पर्यो । तर तिनले जनताको सम्मान भने रत्ति पाईरहेका छैनन्। घृणा र आकारोश घुटघुट पिईरहेका छन्। तिनमा पैसा र सत्ताको माद यति छ कि ती अन्धा, बहिरा भैसकेका छन्, सुन्दैनन्, देख्दैनन्, बुझ्दैनन्। अब तिनबाट कुनै आश बॉकी छैन। बिगतमा तिनले धेरै ‘अभक्ष भोजन’ सेवन गरेकाले त्यसको उँधोउँभोको फल अहिले भोग्दैछन्। र, जनता पनि तिनकै आची सोहर्न अभिशप्त भएका हुन्। बस् कुरा यत्ति यही हो।
यो दिन आउनु नै थियो – यस्ता निकम्मा क्षमताबिहिन नेताहरू र लोदर कर्मचारीतन्त्रमा । तिनका अहिलेको गति र मति देख्दा अझ डरलाग्दो कुरा- यो भन्दा अझै खराब दिन आउनेवाला छ। हामी सबै मानसिकरूपमा तयार रहनुपर्छ ताकि हामी त्यस्ता शकले नै बेहोस, हर्टफेल नहुन परोस् ।