अमेरिकी निर्वाचनः आफ्नो जित सुनिश्चित भएको बाइडनको दाबी, अदालत जाने ट्रम्पको तयारी
अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै निकट प्रतिस्पर्धा देखिँदैछ । डेमोक्रेटिक उम्मेदवार जो बाइडनले आफ्नो जितलाई लिएर आश्वस्त रहेको बताएका छन् भने राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।
यो समाचार तयार पार्दासम्म ५० वटा राज्यमध्ये ४३ वटा राज्यको परिणाम सकिएको छ र जितका लागि निकै महत्वपूर्ण मानिएका बाँकी राज्यहरूमा मतगणना जारी छ । बाइडनले २४३ इलेक्टरल मत प्राप्त गरेका छन् भने ट्रम्पले कुल २१४ इलेक्टरल मत पाएका छन् ।
महत्वपूर्ण परिणाम आउन बाँकी छँदै बाइडनले राष्ट्रपति पद सम्हाल्नका लागि पर्याप्त राज्यमा आफूले जित्ने स्पष्ट भएको बताएका छन् । मिशिगनमा बाइडनले जित्ने प्रक्षेपणहरू सार्वजनिक भएपछि सक्षिप्त कुराकानीमा उनले आफू विजेता हुनेमा निश्चित भएको बताए । नतिजा घोषणाका निम्ति हरेक मत गणना भइसक्नुपर्नेमा उनले जोड दिए ।
राष्ट्रपति ट्रम्पले विना कुनै प्रमाण चुनावमा धाँधली भएको आरोप लगाएका छन् र सर्वोच्च अदालतमा कानुनी चुनौती दिने बताएका छन् । तर बाइडनको चुनावी प्रचार समूहले राष्ट्रपतिको अभिव्यक्ति अपमानजनक भएको भन्दै मतगणना नरोकिने जनाएको छ । ट्रम्पको चुनावी प्रचार समूहले पेन्सल्भेनियामा मतगणना रोक्न माग गर्दै अदालत जान लागेको जनाएको छ ।
मतगणनाको पूर्ण नतिजा नआउँदै र ट्रम्पले त्यहाँ जित्ने कुनै प्रक्षेपण नहुँदै उक्त समूहले पेन्सल्भेनियामा राष्ट्रपतिले जितेको घोषणा गरेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन पेन्सल्भेनिया र जोर्जियामा मतगणना रोक्न माग गर्दै कानूनी प्रक्रिया अघि बढाएको छ । अभियानका एक अधिकारी जस्टिन क्लार्कले डेमोक्र्याटहरूले रिपब्लिकनहरूको मतमा अनियमितता गरेको आरोप लगाए । त्यसअघि ट्रम्पको अभियान समूहले विस्कन्सिनमा आफूहरूले पुनः मतगणना चाहेको जनाएको थियो ।
अन्तर्राष्ट्रिय पर्यवेक्षणहरूले चाहिँ चुनावमा धाँधली भएको नदेखिएको बताएका छन् । अर्गनाइजेशन फर सेक्युरिटी एन्ड कोअपरेशन इन युरोप नामक संस्थाले ट्रम्पको चुनावी अभियान समूहका आरोपहरूलाई आधारहीन भन्दै त्यसले लोकतान्त्रिक संस्थाप्रतिको विश्वासमा आघात पुर्याएको जनाएको छ । यसपालि अमेरिकी निर्वाचनमा सर्वाधिक सङ्ख्यामा मतदाताहरू सहभागी भएका छन् ।
मतदानको दिनभन्दा अगाडि गरिएका वैचारिक मत सर्वेक्षणहरूले प्रस्तुत गरिएका नतिजाहरूमा जो बाइडनको सहज जित हुने आँकलनदेखि लिएर झिनो मत अन्तरले डोनल्ड ट्रम्पको जित हुनेसम्मका प्रक्षेपणहरू थिए । ह्वाइट हाउसमा पुग्न जारी कडा प्रतिस्पर्धालाई सारा विश्वले नजिकबाट नियालिरहेको छ ।
खासमा अमेरिकी नागरिकहरूले हरेक चार वर्षमा लिने निर्णयले देशको परराष्ट्र नीतिमा परिवर्तन ल्याउन सक्छ र त्यसले अरू देशप्रति लिइने नीतिमा महत्वपूर्ण भूमिका खेल्छ।