के भारतीयहरू अरूभन्दा बढी कोभिड-१९ प्रतिरोधी छन् ?



दशौँ लाख भारतीयहरूसँग सफा खानेपानीको पहुँच सीमित छ, उनीहरू अस्वस्थ खानेकुरा खान्छन्, प्रदूषित हावामा सास फेर्छन् र सघन बस्तीमा बसोबास गर्छन् । अनुसन्धानकर्ताहरूका अनुसार यी अवस्थाले उनीहरू मुटुरोग, श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर र मधुमेहको जोखिममा पर्दै आएका छन् । यी अवस्थाले रोगको भार भारतीयहरूमा धेरै देखिएको सरकारी प्रतिवेदनमा पनि उल्लेख छ । वायू प्रदूषण एक्लैले हरेक वर्ष १० लाखभन्दा धेरै भारतीयको ज्यान जाने गरेको बताइन्छ ।

विश्व स्वास्थ्य सङ्गठनले कोभिड १९ बाट जोगिन सफा खानेपानी, सरसफाइ तथा स्वास्थ्यकर परिस्थिति अत्यावश्यक भएको बताएको छ । डब्ल्यूएचओ र संयुक्त राष्ट्रसङ्घको बालबालिकासम्बन्धी निकाय यूनिसेफले गरेको संयुक्त अध्ययनमा संसारका ४० प्रतिशत अर्थात् झन्डै तीन अर्ब मानिस जो मूलतः विकासोन्मुख देशमा बस्छन्, उनीहरूको पहुँचमा हात धुने आधारभूत सुविधा समेत छैन । यस्तो अवस्थामा कोरोनाभाइरस महामारीले यस्ता जनसङ्ख्यामा भयावह स्थिति निम्त्याउने र भारतजस्ता देशमा दशौँ लाखको ज्यान जान सक्ने चिन्ता गरिएको थियो ।

“यी देशमा स्वास्थ्योपचार सेवा, सरसफाइ र स्वस्थ जीवनशैलीको अवस्था कमजोर रहेका हुनाले त्यहाँ सङ्क्रामक रोगहरू धेरै देखिने गरिएको मानिन्छ। त्यसैले कोभिड १९ ले यस्ता गरिब तथा न्यून(मध्यम आय भएका देशमा अत्यन्त धेरै प्रभाव पार्ने ठानिनु स्वाभाविक नै थियो,“ भारतको वैज्ञानिक एवं औद्योगिक अनुसन्धान परिषद् (सीएसआईआर) का महानिर्देशक डा. शेखर मान्डेले बताए ।

प्रतिरोधी क्षमता कस्तो छ?
विश्वको कुल जनसङ्ख्याको छ भागको एक भाग भारतमा छ । अनि यहाँ विश्वका कुल कोरोनाभाइरस सङ्क्रमितको १० भागको एक भाग छ । तर भारतमा कोरोनाभाइरसका हुने मृत्युदर २ प्रतिशत मात्र छ जुन संसारकै न्यूनमध्येमा पर्छ । अहिले आएर भारतीय वैज्ञानिकहरूले गरेको नयाँ अनुसन्धानले अस्वस्थ वातावरण, सरसफाइको अभाव तथा सफा खानेपानीको अभावजस्ता अवस्थाले खासमा गम्भीर कोभिड १९ हुनबाट जोगाएर कैयौँ मानिसको ज्यान बचेको हुनसक्ने सङ्केत गरेको छ ।

अर्थात् यस्ता ठाउँमा बस्ने मानिसहरू बच्चैदेखि विभिन्न रोगका कारक विषाणुको सङ्क्रमणसँग जुझ्दै आएका हुनाले तिनमा विकसित प्रतिरोधी क्षमताले कोभिडको गम्भीर अवस्थाबाट जोगिएका हुनसक्छन् । अन्य वैज्ञानिकहरूले विश्लेषण नगरिसकेको दुईवटा अनुसन्धान शोधपत्रमा अनुसन्धानकर्ताहरूले प्रत्येक १० लाख मानिसमध्येको मृत्युदरलाई हेरेर कोभिडको मृत्युदर दाँजेका छन् ।

एउटा शोधपत्रले १०६ वटा देशसम्बन्धी सार्वजनिक रूपमा उपलब्ध सूचनालाई जनघनत्व, जानसाङ्ख्यिक वितरण, रोगको अवस्था तथा सरसफाइको अवस्था लगायत दुई दर्जन विभिन्न पक्षबाट तुलनात्मक अध्ययन गरेको थियो । त्यसमा वैज्ञानिकहरूले उच्च आय भएका देशमा कोभिड १९ ले धेरै मानिसको ज्यान लिएको पाए ।

“गरिब तथा न्यून आय भएका देशका मानिसमा अरूको तुलनामा सो रोगसँग जुझ्ने उच्च प्रतिरोधी प्रतिक्रिया उत्पन्न भएको पाइयो,“ उक्त शोधपत्रका एक लेखक डा. मान्डेले बताए । अर्को शोधपत्रले चाहिँ मानव शरीरमा पाइने अर्बौँ खर्बौँ सङ्ख्याका सूक्ष्मजीवहरूको कोभिड सङ्क्रमणमा भूमिका अध्ययन गरेको थियो ।

त्यस्ता सूक्ष्मजीवमा ब्याक्टेरिया, विभिन्न भाइरस, विभिन्न प्रकारका ढुसी तथा एककोषीय आर्किया आदि पर्छन् । तिनले पाचनमा सहायता गर्नुका साथै रोग कारक ब्याक्टेरियाबाट पनि जोगाउँछन्। साथै तिनले प्रतिरोधी प्रणालीलाई नियमित गर्न अनि भिटामिन उत्पादन गर्न पनि शरीरलाई सहयोग गर्छन् ।

डा. राजेन्द्र प्रसाद सरकारी मेडिकल कलेजका अनुसन्धानकर्ता प्रवीण कुमार र बाल चन्दरले ८० वटा धनी तथा उच्च मध्यम आय भएका देशसहित कुल १२२ देशका आँकडाको तुलनात्मक अध्ययन गरेका छन् । उनीहरूका अनुसार विविध प्रकारका सूक्ष्मजीव, खासगरी ग्राम नेगेटिभ प्रकारका ब्याक्टेरियासँग संसर्ग भएको जनसङ्ख्यामा कोभिड १९ बाट हुने मृत्युदर कम पाइएको छ ।

यस्ता ब्याक्टेरियाले खासगरी गम्भीर प्रकारको निमोनिया अनि रगत, मूत्रनली र छालाको सङ्क्रमण गराउँछन्। तर तिनले इन्टर्फेरन भनिने कोरोनाभाइरसबाट मानव कोषहरूलाई जोगाउने एन्टीभाइरल साइटोकाइन (रोगकारक विषाणुसँग लड्ने तत्व) पनि उत्पादन गर्न सघाउने विश्वास गरिन्छ । “हालसम्म कोभिड १९ बारे प्रक्षेपण मोडलहरूले यस्ता सूक्ष्मजीव तथा वातावरणका कारण मानिसमा उत्पन्न प्रतिरोधी क्षमताबारे अध्ययन गरेको छैन,“ डा. चन्दरले भने । वैज्ञानिकहरूका अनुसार यो सबै कुरा ’सरसफाइ’सँग जोडिएको हुनसक्छ ।

प्रतिरोध प्रणालीबारे ’एन इलगन्ट डिफेन्सः द एक्स्ट्राअर्डिनरी न्यू साइन्स अफ इम्यून सिस्टम’ नामक पुस्तकका लेखक म्याट रिचेल भन्छन्, “खासमा के भने अहिले मानिस वरपरका वातावरण यति सफा हुन थालेको छ कि मानिसको प्रतिरोधी प्रणालीलाई रोगसँग लड्ने प्रशिक्षण कम हुन थालेको छ।“

“अर्थात् हामीले सरसफाइमा अत्यधिक ध्यान दिएर हाम्रो प्रतिरोध प्रणालीलाई आवश्यक प्रशिक्षण तथा गतिविधिबाट वञ्चित गराइरहेका छौँ,“ उनले भने । उनले उठाएको कुरा आफैँमा नौलो विषय भने होइन ।

सन् १९८९ मा ’हे फिभर’बारे प्रकाशित एक शोधपत्रमा बालबालिकालाई उक्त रोग लाग्नु र तिनका कतिजना सहोदर छन् भन्नेबारे रोचक सम्बन्ध देखाएको थियो । सो शोधपत्रले “बच्चा बेलामै अरू दाजु वा दिदीसँगको सम्पर्क वा जन्मनुअघि नै सङ्क्रमित अरूसँग आमाको हुने सम्पर्कले उक्त एलर्जिक रोगको सङ्क्रमणबाट जोगाउन सक्ने“ लेखेको थियो ।

विश्व एलर्जी सङ्गठनले प्रकाशन गरेको र रिचेलले उदृत गरेको अर्को शोधपत्रमा मानिसहरू गरिब देशबाट धनी देशमा सरेपछि एलर्जी तथा अटो इम्यूनिटीका मामिला बढ्ने उल्लेख छ । डेभिसस्थित यूनिभर्सिटी अफ क्यालिफोर्नियामा कार्यरत प्रतिरोध प्रणालीविज्ञ स्मिता ऐय्यरले सरसफाइसम्बन्धी यो धारणा ’हामीले भाइरसविरुद्धको प्रतिरोध प्रतिक्रियाबारे बुझ्दै आउका कुराभन्दा विपरीत लाग्छ।’

“तर मानिसको प्रतिरोध प्रणालीले एकैपटक वा पालैपालो विभिन्न खतरनाक विषाणुसँग जुझ्दै आएको परिप्रेक्ष्यमा हामीले पुराना वा वर्तमान विषाणुसँग जुधेको प्रतिरोध प्रणालीलाई यो नयाँ विषाणुसँग जुझ्दा कस्तो प्रभाव पर्ला भनेर हेर्न सकिन्छ,“ डा. ऐय्यरले भनिन् ।

वैज्ञानिकहरूका अनुसार कुनै सम्बन्ध देखिँदैमा त्यो कारक नै हो भनेर ठोकुवा गरिहाल्न मिल्दैन त्यसैले यस्ता अध्ययन अवलोकनमा मात्र सीमित हुन्छ । डा. मान्डेले पनि भने, “यो अध्ययनको नतिजाअनुसार अब हामीले भविष्यका महामारीसँग जुझ्न आइन्दा सरसफाइमा ध्यान दिनुहुँदैन भन्ने निष्कर्ष निकाल्न मिल्दैन।“

साउथ क्यारलाइना मेडिकल यूनिभर्सिटीमा सङ्क्रामक रोगसम्बन्धी प्राध्यापक कृतिका कुपालीले यी अध्ययनले वैज्ञानिक रूपमा अप्रमाणित कतिपय कुरालाई अनुमान गरेको छ। “त्यसैले ती वैज्ञानिक तथ्यभन्दा अनुमान बढी हुन्,“ उनले भनिन् ।

महामारी विज्ञहरूले भारतजस्ता देशमा कम मृत्युदर हुनुमा ती देशमा धेरै युवा जनसङ्ख्या रहेको कुरा औँल्याएका छन्। कोरोनाभाइरसको जोखिम युवामा भन्दा वृद्धवृद्धामा धेरै रहेको पाइएको छ। अरू माध्यम वा पुराना सङ्क्रमणबाट प्राप्त प्रतिरोध क्षमता यो जोखिम कम गर्न कत्तिको सहायक हुन्छ भन्ने बारे स्पष्ट भइसकेको छैन ।

त्यसैले यो क्षेत्रमा भएको कम मृत्युदरको कारण धेरै हुनसक्छ । “यो भाइरस देखा परेको भर्खर १० महिनामात्र भएको छ। त्यसैले यसबारे जान्न धेरै बाँकी छ,“ प्राध्यापक कुपालीले भनिन्। अर्थात् हामीले नजानेको कुरा निकै धेरै छ ।

सौतिक विश्वास
बीबीसी, भारत संवाददाता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा क्षयरोग लागेका हात्तीका लागि दैनिक ४०० चक्की औषधि

कराँची । पाकिस्तानमा चिकित्सक र पशु चिकित्सकहरूको एक टोलीले क्षयरोग (टिबी) बाट ग्रसित

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

टोकियो । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा भएको गल्तीले सार्वजनिक

जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट अभद्र व्यवहारको कसुरका थुनुवा थुनुवा फरार

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंबाट एक थुनुवा फरार भएका छन् । प्रहरी

धेरै नियम बनाएर कसिलो बनाउनेभन्दा पनि सुपरीवेक्षण क्षमता बढाउनुपर्नेछः नवनियुक्त गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई