‘मेरा पिता राजसंस्थाको प्रेममा अन्धा भएका छन्’



‘हाम्रा राजालाई आलोचना गर्नु भनेको पाप हो भनेर मेरा पिताले मलाई सिकाएका थिए।’ तर १९ वर्षका दनाइले पिताको चेतावनीलाई बेवास्ता गर्दैछन् । बैंककमा कानुनका विद्यार्थी उनी हरेक महिना राजसंस्थामा सुधार माग गर्दै प्रदर्शनमा उत्रने दशौँ हजारमध्ये एक हुन् ।

उनका पिता पाकोर्न उच्च मध्यम वर्गका हुन् र धेरै ठाउँ घुमिसकेका छन् । एउटै घरमा नबसे पनि उनीहरूबीच बेलाबेला भेट हुन्छ तर प्रत्येक भेटमा उनीहरू राजसंस्थाको विषयबारे भने बोल्दैनन् । ‘सो विषयमा कुराकानी हुनासाथ हाम्रो झगडा पर्न थाल्छ र दिन नै खेर जान्छ’, दनाइले भने । ‘एकपटक मैले राजाको आलोचना गरेपछि हाम्रो गाडीभित्रै झगडा पर्यो। मेरा पिताका निम्ति राजसंस्था पवित्र हो। मैले किन भनेर सोधेँ। उनले म सानो उमेरको भएकोले बुझ्न नसक्ने बताए। म रिसाएँ र त्यसपछि उनी मसँग बोलेनन्।’

थाइल्यान्डमा परिवारहरू राजसंस्थालाई लिएर प्रत्यक्ष विवादमा मात्र उत्रँदैनन्, कतिपयले त यो विवाद सामाजिक सञ्जालमा पनि पुर्याएका छन् । जब एक विश्वविद्यालयका विद्यार्थीले फेसबुकमा राजसंस्थाविरोधी भावनाका कारण उनको पिताले उनीमाथि मुद्दा हाल्न चाहेको लेखिन्, उनको पिताले क्रुद्ध प्रतिक्रिया व्यक्त गर्दै उनलाई परिवारको नाम प्रयोग गर्न नदिने बताए । दनाइले राजसंस्थाबारे आफ्नो पितालाई सबैभन्दा पहिले १७ वर्षको उमेरमा चुनौती दिएका थिए । ‘हामी सिनेमा हलमा थियौँ। जब राष्ट्रगान बज्यो सबैजनाले राजाप्रति सम्मान व्यक्त गर्न उभिए। मैले त्यसो गर्न चाहिनँ। पिताले भन्दाभन्दै पनि म उठिनँ। जब अरू मानिसहरूले घुरेर हेरे तबमात्र म उभिएँ।’ राष्ट्रगान बज्दा नउभिनुलाई गैरकानुनी मानिन्थ्यो।

ऐतिहासिक परम्परा
थाइ मानिसहरूलाई बच्चैदेखि आफ्ना राजाप्रति स्नेह र सम्मान प्रकट गर्न सिकाइन्छ । साथै त्यसो नगरे हुनसक्ने परिणामको त्रास पनि देखाइन्छ । थाइल्यान्ड त्यस्ता थोरै देशहरूमध्ये पर्छ जहाँ कडा कानुन छ जसअनुसार राजा, रानी वा गद्दीका उत्तराधिकारीको आलोचनालाई गैरकानुनी ठानिन्छ। त्यसो गरेको पाइए १५ वर्ष जेल सजाय हुनसक्छ । अचेल दनाइ सिनेमा हलमा उभिँदैनन् । जुलाईदेखि यता विश्वविद्यालयहरूमा पढ्ने हजारौँ विद्यार्थी सडकमा उत्रिएका छन् ।

उनीहरूले राजाको करिब असीमित शक्ति र स्रोतमा सीमाको माग गरेका छन्। विश्वमा अरूलाई यी माग सामान्य लाग्न सक्छ तर थाइल्यान्डको आधुनिक इतिहासमा राजसंस्थालाई यसरी सार्वजनिक चुनौती दिइएको थिएन । विद्यार्थीको विरोधले अधिकांश थाइ जनता अचम्भित भएका छन् दनाइका पिता पाकोर्नसहित । ‘म राजा रामा ११ को पालामा जन्मिएको थिएँ । उनले आफ्ना बालबालिकाभन्दा धेरै जनताका निम्ति काम गरेका थिए। जब उनी बिरामी भए तब उनलाई जोगाउन सकिने भए म आफैँ ज्यान दिन समेत तयार थिएँ। तर मेरा छोराजस्तै अहिलेका पुस्ताका युवाहरूले त्यो अनुभव गरेनन्।’

नयाँ राजा
थाइल्यान्डमा नयाँ पुस्ताले राजसंस्थाविरुद्ध प्रदर्शन गरेका छन् । केही वर्ष पहिलेसम्म पनि यस्तो पुस्ताबीचको झगडा अकल्पनीय थियो । तर नयाँ राजा महा बजिरालङ्गकर्नको राज्याभिषेकले सबै बदलिदियो । नयाँ राजालाई सार्वजनिक रूपमा दुर्लभै देखिन्छ। उनको धेरै समय जर्मनीमा बित्छ। थाइल्यान्डमा कोरोनाभाइरस महामारीको प्रभाव परेपछि त उनी झन् धेरै बाहिर बसे । उनले बैंककस्थित सबै सैन्य इकाइको निर्देशन आफ्नो हातमा लिएपछि थुप्रै प्रश्न उठे ।

आधुनिक थाइल्यान्डमा शाही परिवारमा सैन्य शक्ति यसरी केन्द्रीकृत गरिएको थिएन । उनको निजी जीवन पनि चर्चामा आउँछ । उनले चारपटक विवाह गरेका छन् र उति नै विवाहेतर सम्बन्ध पनि रहेको बताइन्छ । जबकि दिवङ्गत राजा रामा ११ लाई कतिपयले झन्डै ईश्वरीय दर्जा दिन्थे। उनी जहाँ जान्थे मानिसहरूले प्रणाम गर्थे र आफूलाई उनको पैताला मुनिको धूलो भन्थे । पाकोर्नले दिवङ्गत राजालाई दुईपटक भेटेका थिए । ‘एकपटक म गाडीमा गइरहेको थिएँ। विपरीत दिशामा उनीपनि आफैँ गाडी चलाएर आइरहेका रहेछन्। उनको अघिपछि कुनै मोटरकेड थिएन । हाम्रा आँखा जुधे। मलाई लाग्छ उनी साधारण मानिसजस्तै रहन रुचाउँथे। उनी विशेष थिए।’

विगतप्रति प्रश्न
तर दनाइले आफ्नो पिताको अनुभव बुझ्दैनन् । ‘उनी राजसंस्थाप्रतिको प्रेममा अन्धा भएका छन्। उनीसँग कुरा गर्नु भनेको भित्तासँग कुरा गर्नुजस्तै हो। उनी सुन्न चाहँदैनन्।’ राजाबारे विपरीत धारणाका कारण उनीहरूको सम्बन्ध बिग्रिएको छ । यो पुस्तान्तर थाइ समाजको विभाजनको एउटा उदाहरण हो । गर्मीयाममा विद्यार्थी विरोध प्रदर्शन सुरु भएयता थाइल्यान्डभरि परिवारहरू विभाजित भइरहेका छन् । अभिभावक तथा बालबालिका, दाजुभाइ र दिदीबहिनी, काकाकाकी र भतिजाभतिजी एकअर्कासँग अपरिचित बन्न थालेका छन् । थाइल्यान्डको युवा पुस्ताले राजसंस्था र उसले प्रतिनिधित्व गर्ने सबैथोकमाथि प्रश्न उठाउन थालेको छ र यो लामो आन्तरिक सङ्घर्षको सुरुवात मात्र हो जस्तो लाग्छ ।
बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड