‘म रोग प्रतिरोधी भएँ’


दुई साताभन्दा कम समय अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसयता पहिलो निर्वाचन र्याली सम्बोधन गरेका छन् । निकै फूर्तीका साथ सम्बोधन गर्दै उनले फ्लोरिडामा उपस्थित भिडलाई आफू उत्तम स्वास्थ्य अवस्थामा रहेको अनि ’रोग प्रतिरोधी’ बनेको बताए ।

उनले प्रतिस्पर्धी जो बाइडनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको आरोप लगाए तथा सञ्चारमाध्यमलाई पनि पक्षपाती भएको बताए । स्यान्डफोर्ड नगरस्थित उक्त र्याली स्थलमा सामाजिक दूरी कायम गरिएको पाइएको छैन अनि कैयन् मानिसहरू विनामास्क उपस्थित छन् । आगामी चार दिनमा निर्वाचनका बेला कडा टक्कर हुने ठानिएका चारवटा राज्यमा उनले भ्रमण गर्नेछन् ।

सम्वाददाताहरूका अनुसार नोभेम्बर ३ को चुनाव जित्नका निम्ति फ्लोरिडामा विजयी हुन ट्रम्पको निम्ति अत्यावश्यक छ । उनका प्रतिस्पर्धी जो बाइडन भने ओहायो राज्यको भ्रमणमा छन् । मत सर्वेक्षणहरूमा राष्ट्रियस्तरमा बाइडन ट्रम्पभन्दा १० अङ्कले अगाडि रहेको देखिन्छ । तर केही कडा टक्कर हुने राज्यहरूमा उनको अग्रता थोरै छ ।

उदाहरणका लागि फ्लोरिडा जहाँ बाइडन केवल ३.७ अङ्कले मात्र अगाडि रहेको विभिन्न मत सर्वेक्षणको औसत निकालेको संस्था रियल क्लेअर पोलिटिक्सले जनाएको छ । राष्ट्रपति ट्रम्पलाई ११ दिन अगाडि कोभिडका लक्षण देखा परेका थिए। एकदिनपछि उनलाई वाल्टर रिड मेडिकल सेन्टरमा भर्ना गरिएको थियो । तर आइतवार उनका निजी चिकित्सकले अब उनी अरू मानिसका निम्ति सङ्क्रामक नरहेको बताएका थिए ।

नोमिया इकबाल भन्छिन् ट्रम्पले आफ्नो ठूला र्याली सुरु गर्न यहाँबाट चाहेकोमा कुनै आश्चर्य छैन । जीवनभरि न्यूयोर्कका बासिन्दा रहेका ट्रम्पले गत वर्ष सेप्टेम्बरमा आफूलाई फ्लोरिडाका पनि बासिन्दा बनाएका थिए । फ्लोरिडामा हुने उनको र्याली तथा त्यसपछि पेनसिल्भानिया, आयोवा र नर्थ क्यारोलाइनामा हुने कार्यक्रमहरूमाथि विशेष नजर राखिएका छन् ।

त्यहाँ उनले खासगरि कोरोनाभाइरसबाट बच्ने सावधानीबारे के बोल्छन् र उनको त्यसविषयप्रति धारणा बदलिएका छन् कि छैनन् भनेर विचार गरिनेछ । आलोचकहरूले उनले मानिसहरूलाई मास्क तथा सामाजिक दूरीजस्ता सुरक्षात्मक उपायबारे प्रोत्साहन नगरेको बताएका छन् । बाइडनले भने राष्ट्रपतिको व्यवहारको आलोचना गरेका छन् ।