सरकारका नाइकेहरुलाई मेरो आग्रह छ: डा. केसीलाई केही भइहालेछ भने तपाइँको भलो होला र ?



डा. सरोज धिताल ।
अब भने चुप लाग्न सकिएन । मौनव्रतबाट एकछिन अलग्गिनै पर्यो । केही महिना यता म सामाजिक सञ्जालबाट पर बसेको छु । अत्यावश्यक काम वा नितान्त व्यक्तिगत संवादका निम्ति बाहेक मेसेन्जर, भाइबर आदि समेत धेरै चलाउँदिन । टेलिभिजन त हेर्दै हेर्दिन, समाचारपत्रहरु पढ्दिन । वर्षौँदेखि लेखिरहेको अखबारी स्तम्भ पनि नलेखी बसिरहेको छु । यो बीचमा महत्वपूर्ण आन्दोलन भए जसमा मेरो नैतिक समर्थन रह्यो । तर ती आन्दोलनमा ऐक्यबद्धता प्रकट गर्न समेत बाहिर देखा परिन । सञ्चार जगतका विभिन्न आग्रहलाई विनम्रतापूर्वक टारेरै बसेँ ।
यो सब बिनाकारण थिएन । केही समय यता यस्तो लाग्दैछ यो उमेरसम्म पनि मैले न त संसारलाई चिनेको रहेछु न त आफैँलाई । त्यसैले केही समय सकेसम्म चुपचाप रहेर द्रष्टा भावले आफैँलाई र आफ्नो वरिपरीको संसारलाई हेरूँ, बुझ्ने प्रयत्न गरूँ भन्ने यत्न थियो यो ।

किन हामी यति निरीह भएका ? किन नहुनुपर्ने कुरा भएका भयै छन् ? हुनैपर्ने कुरा किन भैरहेका छैनन् ? किन जहिले पनि पाखण्ड र आडम्बरकै विजय भइरहेको देखिन्छ ? मानिसको उज्यालो तर्फको यात्रा किन प्रायः तुहिन्छ ? ६५ ६६ वर्षको उमेरमा पुगिसकेको हामीजस्ता मान्छेले के गर्दा बाँच्नुको सार्थकता रहन्छ ? … केही समय ‘म’भावलाई सकेसम्म एकातिर पन्छाएर यी प्रश्नमा डुबुँ भन्ने चाहना थियो ।

तर गोविन्द के.सी.को यसपालीको सत्याग्रह चार हप्ता पुरा हुन लागिसकेको यो बेला, उनी फेरि एकपल्ट मृत्युको संघारमा पुगिसकेको यो बेला जति यत्न गरे पनि अब भने मौन रहन असम्भव नै भयो । मलाई थाहा छ सबै सरोकारवालाका कानमा मेरा शब्दले प्रवेश पाउने छैनन् । तर पनि केही महिनादेखिको आफ्नो मौनव्रत तोडेर बोल्दैछु ।

विनम्र भाषामा बोल्न चाहन्छु म । तर विनम्रताले समेत ठाउँ नपाउने परिस्थिति सृजना हुँदोरहेछ कुनै कुनै बेला । यतिबेला त्यही अन्धकार परिस्थितिको पीडाबोध गर्दैछु ।
राजनीतिक लगायत कुनै किसिमका पूर्वाग्रह नराख्ने हो भने गोविन्द केसीको आन्दोलनको मूल दिशामा कतै कुनै खोट लगाउने ठाऊँ नै छैन । यतिबेला सत्तामा रहेको पार्टी आफ्नो चुनावी घोषणापत्रमा वा घोषित उद्देश्यप्रति साँच्चै इमानदार मात्रै रहन सकेको भए गोविन्दले उसकै निम्ति अत्यन्त सकारात्मक स्थिति तयार पारिदिएका थिए–देशको स्वास्थ्यससेवालाई साँच्चै समाजवाद उन्मुख बनाउने र स्वास्थ्यको बजारीकरणलाई रोक्ने ।
एउटा कम्युनिष्ट पार्टीका निम्ति त्यो भन्दा ठूलो अवसर के हुनसक्छ ? तर सत्ताधारी पार्टीको घोषित मार्गप्रति नै इमानदारी नभएकाले पार्टीपंक्तिभित्र भ्रष्टाचार लगायत विभिन्न विकृतिले झन् झन् मौलाउने अवसर पाए । उसको चुनावी घोषणापत्र त अहिले ठट्टा गर्ने मसला भयो ।
कस्तो विरोधाभासपूर्ण स्थिति ! आफूलाई समाजवादको निर्माता भन्ने र सिद्धान्तमा पूँजीवादको विरोध गर्ने पार्टीको सरकार छ । उसले आफ्ना राजनीतिक प्रतिस्पर्धिको खेमामा राखेर हेर्ने गरेका गोविन्द के.सी. का माग भने समाजवाद उन्मुख छन् । अनि त्यही सरकारको गतिविधि भने उल्टै अतिबजारमुखी ! के जात्रा भइरहेको हो यो देशमा ?

वर्तमान सरकारका नाइकेहरुलाई मेरो विनम्र आग्रह छ–यतिबेला गोविन्दका सबै मागलाई पुरा गरेर आफ्नो घोषित दिशाप्रति इमानदार रहन चाहेको प्रमाणित गरिदिनोस् । यसो गर्दा नै सबैको भलो हुन्छ । कृपया यति सुकर्म गर्ने आँट गर्नोस् । यति गरे अझै जनताको स्याब्बासी नै पाउनुहुनेछ । तपाइँको आफ्नै अनुभव हेर्नोस् न, कोभिड १९को विरुद्धको वर्तमान युद्धमा पाटन अस्पतालका स्वास्थ्यकर्मीले रात दिन खटेर गरेका काममा तपाँइले पनि श्रेय नै पाइरहनु भएको छ नि, हैन ? तर यस्तो लाग्छ, तपाइँ नै यस्तो श्रेय लिन तयार हुनुहुन्न । अझै पनि नयाँ जोगिले खरानी धेरै घसे झैँ तपाइँ किन बजारीकरणको कट्टर अभियन्ता बन्न चाहनु हुन्छ ?

समाजवादलाई अब बदनाम नगरिदिनोस्, प्लीज !
गोविन्दको जीवन खतरामा परिसक्यो । केही भइहालेछ भने तपाइँको भलो होला र ? अब पनि शब्दका खेलमा रमाइरहने र सत्याग्रहीलाई अल्मल्याइरहने कामले हानी गर्छ आफ्नै पनि, देशको पनि ! त्यसो नगर्नोस्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर

बीबीसी । युरोपेली मुलुक स्लोभाकियाका प्रधानमन्त्री रोबेर्टो फीट्सोमाथि गोली चलाइँदा उनी गम्भीर घाइते

‘अब कांग्रेसलाई बोल्न दिइँदैन’भन्ने ओलीको अभिव्यक्ति रविलाई ‘मानवढाल’ बनाउने चाहना’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी सभापति रवि लामिछानेको

इन्धनको मूल्य घट्यो, पेट्रोलको लिटरमै ७ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट

क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ