मानसिक स्वास्थ्यमा पर्याप्त लगानी र व्यापक पहुँच अहिलेको आवश्यकता



गोपाल ढकाल, मनोविद ।

विश्वभरमा नै मानसिक स्वास्थ्य समस्या जटिल र चुनौती पुर्ण बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ४५ करोड मानिस यस समस्याबाट प्रभावित छन् । नेपालमा पनि ६० लाख भन्दाबढी नेपालीहरु कुनै न कुनै किसिमको मनोसामाजिक समस्या एवं मानसिक रोगबाट प्रभावित भएको अनुमान गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै मात्र सार्वजनिक गरेको मानसिक स्वास्थ्य सर्वेक्षणमा ४.३ प्रतिशत वयस्कहरुमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ। सर्वेक्षणले १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्यामा रहेको देखाएको छ। सर्वेक्षणमा किशोर किशोरीमा मानसिक स्वास्थ्यको अवस्था हेर्दा ५ दशमलब २ प्रतिशत किशोर किशोरीमा मानसिक समस्या भएको पाइएको छ ।

मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउने, यस क्षेत्रमा भएका समस्या, चुनौती एवं उपलब्धिका विषयमा छलफल तथा पैरवी गर्ने जस्ता विविध उद्देश्यका साथ प्रत्येक वर्ष १० अक्टोबरका दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै अइरहेकोछ ।

विश्व मानसिक स्वास्थ्य संघको अगुवाइमा सन् १९९२ देखि विश्व भरि नै यो दिवस मनाउन थालिएको हो । यो वर्षको विश्व मानसिक दिवसको नारा ‘सबैको लागि मानसिक स्वास्थ्य : प्रर्याप्त लगानी , व्यापक पहुँच । जसलाई पनि , जहाँ पनि’ रहेकोछ ।

नेपालमा मानसिक स्वास्थ्यको अवस्था

नेपालमा मानसिक स्वास्थ्यको क्षेत्र अझैपनि ओझेलमा परेको छ । मानसिक रोगीलाई अपहेलना गर्ने, उपचारबाट बन्चित गराउने , बाँधेर वा थुनेर राख्ने, खान नदिने, काम र जिम्मेवारी तथा अधिकारबाट बञ्चित गराउने, भुत–प्रेत वा बोक्सी लाग्यो भनेर उपचारको नाममा तातो पन्युले डाम्ने जस्ता अमानवीय व्यवहार गर्ने गरेको समेत देखिन्छ ।

हाम्रो समाजमा मानसिक स्वास्थ्य प्रति व्यक्तिको बुझाई, धारणा, सोच बिचार अझै पनि सकारात्मक हुन सकेको छैन। मानसिक स्वास्थ्यलाई कलंकको रुपमा हेरिन्छ। मानसिक स्वास्थ्य समस्या देखापर्दा कुल विग्रेको, देउता चढेको, माता चढेको, बोक्सी लागेको, धामी उत्रेको भन्दै नजर अन्दाज गर्ने परिपाटी हाम्रो समाजमा अझै पनि विद्यमान रहेको छ । एक पटक मानसिक रोग लागेपछि निको नै हुदैन भन्ने सोच पनि रहेको पाईन्छ ।

जैविक तथा रासायनिक, सामाजिक एव मनोबैज्ञानिक कारणले मानसिक समस्या देखापर्ने गर्छ । बदलिदो समाजिक परिवेश, बैदेशिक रोजगारी, वेरोजगारी, गरीबी, आधुनिकरण, सामाजिक सञ्जालको प्रभाव, लागुपदार्थको सेवन, पारिवारिक झमेला, लैङ्गिक हिंसा, घरेलु हिंसा, यौन शोषण, बलत्कार, लाञ्छना, लैङिगक विभेद, अन्धबिस्वास, गलत प्रथा, राजनीतिक अस्थिरता जस्ता कारण तत्वले नेपालमा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएको देखिन्छ ।

शिक्षा चेतनाको कमी, मानसिक स्वास्थ्यका क्षेत्रमा विद्यमान अन्धविश्वास, दक्ष जनशक्तिको कमी, सरकारी उपेक्षा, बजेटको कमि, दातृ निकायको यस क्षेत्रमा आँखा पर्न नसक्नु, राष्ट्रिय मानसिक स्वास्थ्य नीति नहुनु, जस्ता कारणबाट मानसिक स्वास्थ्यको क्षेत्रमा सोचे जस्तो प्रगति हुन सकेको छैन ।

नेपालमा विद्यालय तहमा मानसिक स्वास्थ्यका विषयमा अझैपनि पठनपाठन हुन सकिरहेको छैन। यथापी हालै मात्र प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले विद्यालयस्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्न सरकारलाई निर्देशन दिएको छ ।

नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा प्रयाप्त लगानी हुन सकिरहेको छैन ।  मानसिक स्बास्थ्यको क्षेत्रमा काम गर्ने मनोचिकित्सक, मनोविद, मनोपरामर्शदाता, साइक्याट्रिक सोसल वर्कर, साइक्याट्रिक नर्स जस्ता जनशक्ति अत्यन्तै न्यन छन । जति पनि जनशक्ति छन ति पनि शहर केन्द्रीत मात्र छन । दुर दराज र स्थानीय तह सम्म यसको पहुँच पुग्न सकिरहेको छैन ।
नेपाल जस्तो विकासोन्मूख देशमा त ५ जना मानसिक रोगी मध्ये ४ जनाले उपचार नै नपाउने अबस्था रहेकोछ ।

कोरोनाको कहरले निम्त्याएको मानसिक स्वास्थ्य समस्या

कोरोनाको प्रकोपले विश्व नै अहिले आक्रान्त बनेको छ । कोरोना भाइरसको महामारीले विश्वव्यापी रुपमा गम्भीर मनोसामाजिक असर सिर्जना गरेको छ । महामारी सुरु भएपछि मानसिक स्वास्थ सेवाको माग अत्यधिक बढेको छ। आफन्तसँगको वियोग, आइसोलेसन, आयमा भएको ह्रास र त्रासका कारण मानसिक स्वास्थ्य प्रभावित भएकोछ। कतिपय मानिसहरु अध्यधिक मदिरापान, लागूऔषध सेवन, अनिद्रा तथा छटपटी जस्ता समस्याले प्रभावित भएका छन् ।

कोभिड–१९ले विश्वको ९३ प्रतिशत राष्ट्रमा सघन मानसिक स्वास्थ सेवा अवरुद्ध भएको विश्व स्वास्थ्य संगठनको एक सर्वेक्षणले देखाएको छ। विश्वका १ सय ३० राष्ट्रमा गरिएको अध्ययनले महामारीका कारण मानसिक स्वास्थ सेवाको पहुँच नराम्ररी प्रभावित भएको र विश्वले तत्काल थप लगानी गर्नुपर्ने देखाएको छ । उक्त सर्वेक्षणमा ६० प्रतिशत राष्ट्रमा मानसिक स्वास्थ सेवा प्रभावित रहेको र विशेषगरी बालबालिका, किशोर र पौढ बढी प्रभावित रहेको देखिएको छ। यसैगरी, ६७ प्रतिशत जनसंख्याले काउन्सिलिङ तथा साइकोथेरपी सेवा नपाएको देखिएको छ । नेपालमा पनि टिपिओ नामक संस्थाले लकडाउनको अबधिमा गरेको सर्वेक्षणमा करिब ५० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको मानसिक समस्याको लक्षण देखिएको छ ।

स्वास्थ्य अनुसन्धान परिषद् नेपालले गरेको एक अनुसन्धानमा कोरोना भाइरस महाव्याधिका कारण नेपालमा फ्रन्टलाइनमा खटिने २९ प्रतिशत चिकित्सक, नर्स र ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीमा डिप्रेसनको लक्षण देखिएको छ । उक्त अनुसन्धानमा ३५.७ प्रतिशतमा एन्जाइटी र १७.१ प्रतिशतमा साइकोलोजिकल डिस्ट्रेस रहेको पाईएको छ ।

मानसिक स्वास्थ्यको सम्बद्र्धनको उपाय

-शारीरिक रोगझैं मानसिक स्वास्थ्य समस्यालाई पनि सहज रुपमा लिनुपर्छ। मानसिक रोग निको हुने रोग हो। औषधीको सेवन, मनोपरामर्श तथा पूर्नस्थापना जस्ता उपचार विधिद्वारा यो रोगको उपचार सम्भव छ । धर्म परिवर्तन गरेर, भाकल गरेर, धामीझाक्री लगाएर, मानसिक रोग निको हुदैन। बेलैमा यसका विज्ञलाई देखाउनु पर्छ । मानसिक रोग, आत्माहत्या प्रतिको गलत धारणालाई हटाउन यस विषयमा चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्छ । यस बिषयमा अभियान नै संचालन गर्नु जरुरी देखिन्छ ।

-मानसिक स्वास्थ्यको बजेट नगन्य छ यसलाई बृद्धि गर्नु जरुरी छ । मानसिक स्वास्थ्यमा एक अमेरिकी डलर बराबरको लगानीले चार अमेरिकी डलर बराबरको प्रतिफल दिन सक्ने एक अध्ययनले देखाएको छ ।

-मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने जनशक्तिको कमीलाई बृद्धि गर्नुपर्छ । मानसिक स्वास्थ्य कार्यकर्ता निर्माण गर्नुपर्छ । स्थानीय तहसम्म मानसिक स्वास्थ्य सेवा पुर्याउन जरुरी देखिन्छ ।

-प्रकृतिक बिपत्ति आईपर्दा, रोग व्याधि फैलिदा, दूव्र्यवहार, अन्याय, विभेद र लान्छना जस्तो जीवनमा कठिन अबस्थामा मानसिक समस्यामा पर्ने सम्भावना बढी हुने भएकाले प्रभावित ब्यक्ति र समुदायलाई बेलैमा मनोसामाजिक सेवा सहयोगको ब्यबस्था राज्यले तत्काल गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभालाई समानुपातिक र समावेशी तथा प्रतिनिधिसभालाई प्रत्यक्षतर्फ १६५ सिटमा सीमित गर्नुपर्छः सांसद गिरी

काठमाडौँ । नेपाली कांग्रेसका नेता दीपक गिरी मुलुक र जनहितमा बाधक देखिएका कानुन,

बजार मोहले खाम भाषा संरक्षणमा चुनौती

बागलुङ । एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन

ओलीलाई राउटे मुखिया शाहीको कोसी उपहार

कर्णाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लोपोन्मुख फिरन्ते राउटे समुदायका मुखिया

नसोचेको खुशी पाउँदा …

सिरहा ।संसार देख्ने आँखा अचानक बन्द भइदिँदा कति अन्धकार हुँदो हो ! दैनिकी