बलात्कारीलाई मृत्युदण्ड



डा. प्रदीप ढकाल ।

फेरि एउटी बालिकाको बलात्कार भयो । उनको स्वत्व लुटियो । अनि त्यतिमा मात्रै सिमित नभएर अपराधीले जीवन नै लिइदियो । तिनको पीडा, आर्तनाद र चिच्याहट सुन्ने कोही भएन, थिएन – त्यो अपराधी पुरुषमा दया पलाएन ।
युगौँदेखि सम्झनाहरूका ती पीडा र क्रन्दनका आवाजहरू पहाडमा, फेदीमा, सम्म मैदानमा, नदीनाला र खोँचहरूमा चित्कारका रूपमा गुञ्जिरहेका छन् । जातिपातिका नाममा गरिने विभेद र शोषणका परिणतिका रुपमा गरिबी र अभावमा रहिरहेका निमुखाहरुका बस्तीहरुमा यी क्रन्दनहरु बढी प्रकम्पित भइरहेका छन् ।

‘ए पुरुष, तिमी म एक नारी तथा एक कलिलो उमेरकी बच्चीलाई चिथोरिरहेका छौ’ भन्ने भाव बोकेकी ती सानी बालिकाले बलात्कारी पुरुषको स्वरूपलाई चित्रमा उतार्न पाउँदी हुन् कस्तो स्वरूप कोर्ने थिइन् होला ? कहालीलाग्दो र हेर्दै डरलाग्दो आकृतिको पुरुष, जसमा दया, माया केही छैन । आँखामा बासना छ, उसको बलमा शैतानी शक्ति छ जसले एउटा निर्दोष जीवनलाई कुल्चिदिएको छ ।
त्यो पुरुष त प्रतिनिधि पात्र मात्र हो । त्यो बलात्कारीले सम्पूर्ण पुरुषहरूकै प्रतिनिधित्व गरेको छ । ‘मैले त होइन नि’ भनेर उम्किने अधिकार कसैलाई पनि छैन । ती बालिकाले कोर्ने चित्रमा सम्पूर्ण पुरुषहरूको तस्वीर लुकेको हुन्छ ।

हामी मानिस हौँ – विवेक छ, चेतना छ र बुद्धि पनि छ । तर यी शव्दहरूले हामीलाई नै व्यंग गरिरहेका छन् । एउटी चेलीको अस्तित्वमाथि, ईज्जतमाथि र अस्मितामाथि प्रहार गरेर उसको जीवनलाई रंगहीन, रूपहीन र जीवनहीन बनाएर एउटा जिउँदो लाशसरह समाजमा विचरण गर्न छाड्ने पुरुषप्रधान समाजको हिंस्रक चरित्रलाई मत्थर गर्न नसक्ने हो भने हामीले स्वयं घोषणा गरेको सर्बश्रेष्ठ प्राणीको पगरीलाई नालीमा बगाइदिए हुन्छ । अनि घोषणा गरे हुन्छ – सभ्य हुने सम्भावना भएको तर त्यो सम्भावनाबाट धेरै पर गइसकेको सबैभन्दा निकृष्ट र घृणित प्राणी मानव हो भनेर । जबसम्म नारीको ईज्जत हुने अवस्थाको सिर्जना हुँदैन तबसम्म मानव हुँ भन्ने पनि अधिकार पनि छैन, मानव जातिलाई ।
नारी स्वरूप त देख्नै नहुने, झम्टिहाल्ने प्रबृत्ति भएका पुरुषहरूले ७० बर्षकी बृद्धा पनि भनेका छैनन् ४ वर्षकी नाबालिका पनि नभनीकन उनीहरूको स्वत्व लुटिरहेका छन् ।

त्यो प्रकृतिको एउटा अंग ‘योनी’ को प्रयोजन सृष्टि हो । आफै जन्मिएको अंगमाथि बलात्कार गर्नु सृष्टिको घोर अपमान हो । त्यो अंग लिएर जन्मिनु नै अपराध भयो भन्ने बोधका साथ एउटी नारीले सारा जीवन जिउनुपर्ने कस्तो बिडम्बनापूर्ण समाजको निर्माण गरेका छौँ हामीले ?
बलात्कारी अपराधी हो । मेरो पक्षको बलात्कारी रहेछ, यसलाई जोगाउनु पर्यो वा अर्को पक्षको रहेछ यसलाई फसाउनु पर्यो भन्ने सोच तुच्छ र दरिद्र सोच हो । यस्तो सोच भएकाहरू राज्यका र मानवताका अपराधी हुन् । अपराधीका संरक्षकलाई अझै बढी सजायँ दिने व्यवस्था हुनुपर्दछ र ती संरक्षकहरू सामाजिक रूपमा पनि बहिष्कृत गरिनुपर्दछ । बलात्कृतहरूको हत्या हुने, बलात्कारीहरू केहीबर्ष जेलमा बसेर फर्किने परिपाटीभन्दा पनि प्राकृतिक न्यायको सिद्धान्त अपनाउनुपर्दछ – मृत्युदण्ड नै दिनुपर्दछ ।

बालिका बलात्कारका सन्दर्भमा विश्वव्यापी मानवअधिकारको अवधारणामा पनि परिवर्तन हुनुपर्दछ । बलात्कारीको बाँच्न पाउने अधिकारको वकालत गर्दा बलात्कृतको स्वत्व रक्षा, एक मानव हुँ भनेर समाजमा बाँच्न पाउने अधिकारको रक्षा कसरी हुन्छ भन्नेतर्फ पनि सोच्नुपर्दछ । बाँचिरहेकाहरूको बाँच्ने हक खोस्नेलाई बचाउनुपर्दछ भन्ने तर्क कुतर्क मात्र हो । यसले समग्र मानवतामाथि नै पनि उत्तिकै रूपमा प्रश्न उठ्दछ । बलात्कारी पुरुष भौतिक रूपमा बाँचिरहँदा अन्य पुरुषहरू आन्तरिकरूपमा मरिरहेका हुन्छन् । ती बलात्कृत चेलीका अगाडि सभ्य र विवेकी भनिएको व्यक्तिले कसरी आँखा जुधाउन सक्छ ? बलात्कारीलाई त मृत्युदण्ड पनि कम सजायँ हो ।

राज्यले पुरुषका लागि आध्यात्मिक, नैतिक र चारित्रिक शिक्षाका लागि यथेष्ट ध्यान दिनुपर्दछ । मानवसँग भौतिक शरीर मात्र होइन शरीरमा आत्मा पनि हुन्छ, ईश्वर पनि हुन्छ भन्ने शिक्षाको प्रवद्र्धन गर्नु अत्यावश्यक भइसक्यो । सभ्य र सात्विक समाज निर्माणमा पुरुषहरूको पनि विशेष योगदानको आवश्यकता टड्कारो बनेको छ । दुई दशकअघि महिला प्रौढ शिक्षा व्यापक रूपमा अघि बढेको थियो । आमाहरू टुकी र लालटिन बालेर पढ्नुहुन्थ्यो । अहिले त देशैभरी बिजुली पनि छ, झिलीमिली बत्तीको उज्यालोमा राखेरै भएपनि पुरुषहरूलाई अनिवार्यरूपमा नैतिक शिक्षा पढाउनुपर्दछ । शतप्रतिशत साक्षर अभियान जस्तै शून्य बलात्कार अभियान सञ्चालन गर्नुपर्दछ । सामाजिक संघसंस्थाहरू, मानवअधिकारवादीहरू, महिला अधिकारमा काम गर्नेहरू सबैसबै एकजुट भएर यो अभियानमा लाग्नुपर्दछ । एक हिसाबले यो अभियान पुरुषप्रधान समाजका लागि दह्रो झापड पनि हुन्छ, हुनु पनि पर्दछ ।

कानून बनेकै छ …अझै पनि बनाउँला भनिएला … तर कागजका अक्षरले नारीको ईज्जत जोगाएन र जोेगाउँदैन पनि …. जबसम्म पुरुषहरूका लागि कडा अनुशासन सिकाइँदैन अनि विशेष चारित्रिक र नैतिक शिक्षाको व्यवस्था हुँदैन तबसम्म त्यो आशा गर्न सकिँदैन ।
आज हामीलाई विकास र सभ्यता शब्दले पनि गिज्याइरहेको छ । समाजमा नारीको के मान छ र ? बलात्कृत चेलीको इज्जतको मान खोइ ? जबसम्म एउटी मात्र चेली पनि पुरुषहरूबाट बलात्कृत भइरहन्छिन् तबसम्म मानव स्वयम्ले आफूलाई भन्ने गरेको ‘सर्बश्रेष्ठ प्राणी’ शव्दले पनि सम्पूर्ण मानवतामाथि व्यंग कस्दछ ।

डाँडाकाँडा गरेरै जीवन बिताइएको हो … कुला र नालीका हिलोमा खेलेरै हुर्किइयो… पौडेर र काठको डुंगा चढेरै नदी पनि तरियो … आकाशमा उड्दै गरौँला .. चन्द्रमामा पनि पुगौँला … ती ठूलाठूला सपना पूरा गर्दै गरौँला … तर पहिला नारीहरू पनि यही समाजका गहना हुन् भन्ने बनाऔँ । मानव हुनुको गौरव र सम्मान हुने वातावरण बनाऔँ । हामी सबैको कर्तव्य हो यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पौडी खेल्ने क्रममा बबई नदीमा डुबेर दाजुभाइको मृत्यु

तुलसीपुर (दाङ) । पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

काठमाडौँ । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर

पोखराको प्राइम सहकारीका अध्यक्षसहित आठजना पक्राउ, एक अर्ब ५४ करोड अपचलनको आरोप

कास्की । पोखरा महानगरपालिका–४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी